प्रतिनिधिसभा निर्वाचन: प्रतिमतदाता २८४ रुपैयाँ खर्च

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा प्रतिमतदाता औसत २८४ रुपैयाँ खर्च भएको निर्वाचन आयोगले जनाएको छ।

तस्वीर : नेपाल फोटो लाइब्रेरी

काठमाडौँ— गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिमतदाता औसत २८४ रुपैयाँ खर्च भएको निर्वाचन आयोगले जनाएको छ।

प्रतिनिधिसभा निर्वाचनको समग्र प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाइसकेपछि आयोगले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता नारायणप्रसाद भट्टराईले यस्तो जानकारी दिएका हुन्। निर्वाचन खर्चलाई मितव्ययी बनाउन आयोगले यसअघि खरिद भएका सामग्री पुनः प्रयोग गर्ने नीति लिएको उनले बताए।

निर्वाचन सामग्री खरिद गर्दा सरकारको स्वामित्वमा रहेका संगठित संस्थाहरूसँग सम्झौता गरिएको उनले सुनाए। कुल ५० प्रकारका निर्वाचन सामग्रीमध्ये ३७ प्रकारका सामग्री प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाटै खरिद गरिएको थियो भने १३ प्रकारका सामग्री आयोगले खरिद गरी जिल्लागत रूपमा ढुवानी गरेको थियो।

निर्वाचन प्रयोजनका लागि आयोगले सात अर्ब ८१ करोड ५ लाख ७६ हजार रुपैयाँ माग गरेकोमा अर्थ मन्त्रालयबाट ६ अर्ब ७६ करोड ६६ लाख ९० हजार रुपैयाँको स्रोत सहमति प्राप्त भएको थियो। प्राप्त रकममध्ये हालसम्म ३ अर्ब ५४ करोड २८ लाख ७९६ रुपैयाँ खर्च भएको र केही रकम भुक्तानीको प्रक्रियामा रहेको आयोगले जनाएको छ।

निर्वाचनमा स्वदेशी र विदेशी पर्यवेक्षकले अनुगमन गर्ने व्यवस्था मिलाइएको थियो। जसमा अन्तर्राष्ट्रियतर्फ २२ वटा कूटनीतिक निकायका १६४ जना प्रतिनिधि र ३ वटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधिहरूले पर्यवेक्षण गरेका थिए। राष्ट्रियतर्फ भने ३५ वटा गैरसरकारी संस्थाले पर्यवेक्षण गरेका थिए।