हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध

हिमपात र वर्षाले वारागुङ मुक्तिक्षेत्र–३ स्याङ्बोचेदेखि माथिल्लो क्षेत्रका दुई गाउँपालिकामा विद्युत् सेवा अवरुद्ध भएको छ।

मुस्ताङ– माथिल्लो मुस्ताङमा आज दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको छ। दिउँसो ४:०० बजेदेखि परेको निरन्तरको हिमपात र वर्षाका कारण लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिका क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको हो।

यहाँस्थित विद्युत् वितरण संस्था निलगिरि उपभोक्ता सहकारी संस्थाले हिमपात र वर्षाले वारागुङ मुक्तिक्षेत्र–३ स्याङ्बोचेदेखि माथिल्लो क्षेत्रका दुई गाउँपालिकामा विद्युत् सेवा अवरुद्ध भएको जनाएको छ। संस्थाका कार्यालय प्रमुख सनप्रसाद थकालीले थासाङ गाउँपालिकादेखि नेपाल–चीन कोरलानाकासम्मको ११ केभी विद्युत् प्रसारण लाइनमा हिमपात र वर्षाले प्राविधिक समस्या उत्पन्न भएको जानकारी दिए।

थकालीले मौसममा सुधार हुनेबित्तिकै विद्युत् प्रसारण लाइनमा देखिएको समस्या मर्मत गरी पुनः सञ्चालन गरिने बताए। यसका लागि मौसम खुल्नेबित्तिकै प्राविधिक टोली त्यसतर्फ पठाइने उनले जानकारी दिए। हिमपात र वर्षाले विद्युत् प्रसारण लाइनमा के–कति क्षति भएको छ भन्नेबारे यकिन जानकारी प्राप्त भइनसकेको थकालीको भनाइ छ।