एम्बुलेन्समा चिनियाँ चुरोट तस्करी, चालकसहित चार जना पक्राउ

रसुवाको आमाछोदिङ्मो गाउँपालिकास्थित स्वास्थ्य चौकीको एम्बुलेन्स दुरुपयोग गरी चिनियाँ चुरोट र लागुपदार्थ तस्करी गर्ने चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

रसुवा– एम्बुलेन्समा चुरोट र लागुपदार्थ तस्करी गर्ने चार जना पक्राउ परेका छन्। आमाछोदिङ्मो गाउँपालिका–३, गतलाङ स्वास्थ्य चौकीको स्वामित्वमा रहेको एम्बुलेन्स दुरुपयोग गरी चिनियाँ चुरोट काठमाडौँतर्फ लैजान लागेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो।

बिरामी बोकेको बहाना बनाई काठमाडौँतर्फ लैजाँदै गरेको अवस्थामा नेपाल प्रहरीको बेत्रावती सुरक्षा चौकीले जाँच गर्दा एम्बुलेन्सबाट तीन हजार ९४० बट्टा चिनियाँ चुरोट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।

प्रहरी निरीक्षक एवं सूचना अधिकारी रमेश रायका अनुसार पक्राउ पर्नेमा एम्बुलेन्स चालक गतलाङका ४३ वर्षीय दावानुर्पु तामाङ, सोही गाउँपालिका–५ चिलिमेका २७ वर्षीय मार्कुस तामाङ, ३२ वर्षीय सुशील तामाङ र ३६ वर्षीया सुनिता तामाङ छन्।

यसैगरी, रसुवागढी नाकाबाट लागुपदार्थसहित अर्का एक जना पक्राउ परेका छन्। गोसाइँकुण्ड गाउँपालिका–५ का २४ वर्षीय विकास तामाङलाई केरुङबाट नेपालतर्फ आउँदै गर्दा सीमा क्षेत्रमा तैनाथ नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले पक्राउ गरेको हो।

उनको साथबाट २ ग्राम कालो चरेस तथा पहेँलो र सुन्तला रङका १२ थान क्याप्सुल लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीले दुवै घटनामा संलग्न व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान अगाडि बढाएको छ।