आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली साथै स्थानीय वायुको प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौँ– हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली साथै स्थानीय वायुको प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले कोशी, मधेश र बागमती प्रदेश लगायत बाँकी पहाडी र हिमाली भूभागमा साधारणतया बादल तथा बाँकी तराई भूभागमा आँशिक बादल लागेको छ। साथै कोशी र मधेश प्रदेशका केही स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मध्यम सम्मको वर्षा र हिमपात भइरहेको छ।

महाशाखाका अनुसार आइतबार दिउँसो देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ र तराई भूभागमा आँशिक बादल लाग्नेछ। पहाडी र हिमाली भूभागका थोरै स्थानहरू तथा कोशी र लुम्बिनी प्रदेशको तराई भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

यस्तै, आज राति हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ र बाँकी पहाडी भूभागमा आँशिक बादल लाग्नेछ तथा बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना समेत रहेको छ।