‘फेक रेस्क्यु’ प्रकरणमा ३२ जनाविरुद्ध मुद्दा दायर

हिमाली क्षेत्रमा पदयात्रामा जाने पर्यटकको ‘फेक रेस्क्यु’मार्फत बीमा रकम ठगी गरेको अभियोगमा आइतबार ३२ जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ।

माघ ११ गते ‘फेक रेस्क्यु’को आरोपमा पक्राउ परेकाहरूको बारेमा जानकारी दिँदै सीआईबी।

काठमाडौँ— पर्यटकीय क्षेत्रमा नक्कली उद्धार (फेक रेस्क्यु) गरी बीमा रकम ठगी गरेको अभियोगमा ३२ जना प्रतिवादीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँले आइतबार उनीहरूविरुद्ध अभियोगपत्र दर्ता गरेको हो।

हिमाली क्षेत्रमा पदयात्रामा जाने विदेशी पर्यटकलाई बिरामी भएको देखाएर वा सामान्य अवस्थाका पर्यटकलाई हेलिकोप्टरमार्फत उद्धार गरी कृत्रिम बिल बनाएर अन्तर्राष्ट्रिय बीमा कम्पनीबाट रकम दाबी गर्ने गरेको अनुसन्धानबाट खुलेको छ। यस प्रकरणमा संलग्न ३२ प्रतिवादीमध्ये ८ जना पक्राउ परेका छन् भने २४ जना फरार सूचीमा रहेका छन्।

पक्राउ परेका प्रतिवादीहरूमा मुक्ति पाण्डे, सुवास केसी, विवेक पाण्डे, जयराम रिमाल, रवीन्द्र अधिकारी, डा. गिर्वाणराज तिमिल्सिना, सन्दीप तिवारी र पासाङ शेर्पा रहेका छन्। विवेकराज थपलियासहित अन्य २३ जनालाई भने फरार प्रतिवादीका रूपमा मुद्दा चलाइएको छ।

अभियोगपत्रका अनुसार यस कार्यमा पदयात्रा एजेन्सी, हेलिकोप्टर कम्पनी र अस्पतालहरूको संलग्नता देखिएको छ। माउन्टेन रेस्क्यु सर्भिस, एभरेस्ट एक्सपिरियन्स एन्ड असिस्टेन्स र नेपाल चार्टर सर्भिस जस्ता कम्पनीहरूले पदयात्रीलाई गाइडमार्फत अस्वस्थकर खानपान गराई लेक लागेको लक्षण देखाउन लगाउने र हेलिकोप्टरमार्फत काठमाडौँ ल्याएर निश्चित अस्पतालमा भर्ना गर्ने गरेको अनुन्धानका क्रममा खुलेको छ।

अनुसन्धानका क्रममा स्वाकन इन्टरनेशनल, एरा इन्टरनेशनल र श्रीद्धि इन्टरनेशनल अस्पतालले बिरामीको स्वास्थ्य अवस्थाबारे बढाइचढाई गरी नक्कली मेडिकल रिपोर्ट तयार पार्ने गरेको पाइएको छ। बीमा दाबीका लागि अनावश्यक परीक्षण र आईसीयू भर्ना देखाउने तथा एउटै उडानमा धेरै पर्यटक ल्याइए पनि छुट्टाछुट्टै उडान गरेको विवरण (फ्लाइट म्यानिफेस्ट) बनाएर रकम असुल गर्ने गरिएको प्रतिवेदनमा उल्लेख छ।

सरकारी वकिल कार्यालयले प्रतिवादीहरूलाई मुलुकी अपराध संहिता, २०७४ बमोजिम संगठित रूपमा राष्ट्रहित प्रतिकूल काम गरेको कसुरमा कारबाही र बिगो बमोजिमको जरिवाना मागदाबी गरेको छ।