इँटाभट्टामा पर्खाल भत्किँदा एक जनाको मृत्यु, चार घाइते

ललितपुरको हरिसिद्धीस्थित इँटाभट्टामा आइतबार पर्खाल भत्किएर किचिँदा रुकुमकी ५५ वर्षीया तिल्सरी खड्काको मृत्यु भएको छ भने अन्य चार जना महिला मजदुर घाइते भएका छन्।

प्रतीकात्मक तस्वीर

ललितपुर— ललितपुरको हरिसिद्धीमा इँटाभट्टाको पर्खाल भत्किएर एक महिलाको मृत्यु भएको छ। ललितपुर महानगरपालिका–२८, हरिसिद्धीस्थित होसना इँटाभट्टामा आइतबार पर्खाल भत्किँदा किचिएर रुकुम घर भएकी ५५ वर्षीया तिल्सरी खड्काको मृत्यु भएको हो।

पर्खाल भत्किएर गम्भीर घाइते भएकी खड्काको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक (डीएसपी) पूर्णिमाकुमारी चन्दले जानकारी दिइन्।

उक्त घटनामा अन्य चार जना घाइते भएका छन्। घाइते हुनेहरूमा रुकुमकी २७ वर्षीया जानकी चन्द, सल्यानकी २७ वर्षीया शान्ति कुँवर, रोल्पाकी ४६ वर्षीया नन्दकुमारी मगर र दाङकी १९ वर्षीया सुमा कुमाल छन्। उनीहरू सोही इँटाभट्टामा कार्यरत मजदुर हुन्। गम्भीर घाइते चन्दलाई थप उपचारका लागि मोडल अस्पताल लगिएको डीएसपी चन्दले बताइन्।