खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले सम्झौता अवधि सकिँदा पनि १५ शय्याको आधारभूत अस्पताल भवन सम्पन्न नगरेको भन्दै निर्माण कम्पनीको गाडी नियन्त्रणमा लिएको छ।
खोटाङ– हलेसी तुवाचुङ नगरपालिकाले आधारभूत अस्पतालको भवन अलपत्र पारेको भन्दै ठेकेदारको गाडी नियन्त्रणमा लिएको छ। हलेसी तुवाचुङ नगरपालिका–७, महादेवस्थान (हलेसी) मा निर्माणाधीन आधारभूत अस्पतालको भवन अलपत्र पार्ने निर्माण कम्पनी ‘नमूना/हिमालयन जेभी विराटनगर’का ठेकेदार रमेश बस्नेतको बागमती प्रदेश १६ च ६८०२ नम्बरको गाडी नगरपालिकाले नियन्त्रणमा लिएको हो।
आवश्यक निर्माण सामग्री तथा जनशक्तिको व्यवस्थापन गरेर ठेक्का बमोजिमको काम सुरु नभएसम्म गाडी, चाबी र सवारीसाधन दर्ता प्रमाणपत्र (ब्लुबुक) नियन्त्रणमा लिएको नगरप्रमुख विमला राईले जानकारी दिइन्। “२०८० सालमै बनिसक्नुपर्ने १५ शय्याको आधारभूत अस्पताल भवनको काम हालसम्म अलपत्र छ। भवनको पहिलो चरणको कामसमेत पूरा भएको छैन,” उनले भनिन्, “काममा निरन्तरता नदेखिएको तथा पटक–पटक लिखित एवम् मौखिक जानकारी गराउँदा पनि प्रगति नभएपछि नगरपालिकाले गाडी कब्जामा लिएको हो। गाडी नियन्त्रणमा लिएको विषयमा जिल्ला प्रशासन कार्यालयलाई पनि लिखित जानकारी पठाइसकिएको छ।”
नगरप्रमुख राईले चैत ८ गते चालकलाई आफ्नो कार्यकक्षमा बोलाएर गाडीको चाबी नियन्त्रणमा लिई प्रहरीलाई खबर गरेकी थिइन्। अस्पताल भवन निर्माणमा सुरुदेखि नै ढिलासुस्ती गर्ने ठेकेदारलाई नगरपालिकाले यही चैत १२ गतेदेखि काम पुनः सुरु गराउने लिखित प्रतिबद्धतापत्रमा हस्ताक्षर गराएको छ।
यही चैत १२ गतेदेखि काम सुरु गरेर ४५ दिनभित्र कम्तीमा 'बेसमेन्ट कभर स्ल्याब' ढलान सक्ने, ६० दिनभित्र पहिलो तला (फर्स्ट फ्लोर) र अर्को ६० दिनभित्र दोस्रो तला (सेकेन्ड फ्लोर) को स्ल्याब ढलान सम्पन्न गर्ने प्रतिबद्धता गराइएको नगर प्रवक्ता कमल गिरीले जानकारी दिए। प्रतिबद्धताअनुसार काम नगरे नियमानुसार कारबाही भोग्ने तथा कतै उजुरबाजुर नगर्ने सर्तमा हस्ताक्षर गराइएको उनको भनाइ छ।
ठेकेदारले पटक–पटक फोन नउठाएपछि नगरप्रमुख राईले हिउँदे नगरसभामार्फत ‘कालोसूची’ (ब्ल्याकलिस्ट) मा राख्ने सन्देश पठाएकी थिइन्। त्यसपछि मात्र निर्माण कम्पनीका ठेकेदार बस्नेत नगरपालिकाको सम्पर्कमा आएका हुन्। उक्त कम्पनीले २०८० साउन ८ गतेसम्म काम सम्पन्न गर्ने गरी २०७८ साउन ८ गते सम्झौता गरेको थियो। तर, म्याद नाघेको दुई वर्ष बितिसक्दा पनि भवनको जगभन्दा माथिको काम हुन सकेको छैन।
भवन निर्माण योजना सुरु गरेपछि ठेकेदार कम्पनीले सम्बन्धित निकायबाट रु. ४ करोड ११ लाख २८ हजार ५८ भुक्तानी लिएको थियो। भुक्तानी लिएपछि काम अलपत्र पारेर ठेकेदार सम्पर्कविहीन भएका थिए। भूगोलका कारण डिजाइन परिवर्तन गर्नुपर्ने अवस्था आएको तर मन्त्रालयले उक्त डिजाइन स्वीकृतिमा ढिलाइ गरेकाले काम रोकिएको दाबी ठेकेदार कम्पनीले गर्दै आएको छ।
नेपाल सरकारको नीतिअनुसार चार वर्षअघि खोटाङका १० मध्ये ६ स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि शिलान्यास गरिएको थियो। हलेसी तुवाचुङ नगरपालिका सहित जन्तेढुङ्गा, केपिलासगढी, ऐँसेलुखर्क, रावाबेँसी र साकेला गाउँपालिकामा एकैसाथ काम थालिएको हो। हलेसी तुवाचुङ, जन्तेढुङ्गा, केपिलासगढी र ऐँसेलुखर्कमा १५/१५ शय्या तथा रावाबेँसीमा १० र साकेलामा ५ शय्याको अस्पताल शिलान्यास गरिएको थियो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ मङ्सिर १५ गते जिल्लाका विभिन्न स्थानीय तहमा एकै दिन अस्पताल शिलान्यास गराएको थियो।
साकेला गाउँपालिकामा भने कुनै पनि योजना औपचारिक रूपमा शिलान्यास वा उद्घाटन नगर्ने तत्कालीन अध्यक्ष अर्जुनकुमार खड्का ‘झङ्कार’को नीतिअनुसार बिना शिलान्यास काम सुरु गरिएको थियो। सरकारको नीतिअनुसार पछि बराहपोखरी, दिप्रुङ चुइचुम्मा र खोटेहाङ गाउँपालिकामा पनि २०७८ सालमा अस्पताल निर्माणको योजना स्वीकृत भएको थियो।
हाल जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा १५ शय्याको सरकारी जिल्ला अस्पताल सञ्चालनमा छ, जसलाई अहिले ५० शय्यामा स्तरोन्नति गर्ने काम तीव्र गतिमा भइरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
