डेढ वर्षपछि काभ्रेका बाढीपहिरो पीडितको घर पुनर्निर्माण गर्न अनुदान सिफारिस

काभ्रे जिल्ला विपद् व्यवस्थापन समितिले बाढीपहिरोले क्षति पुर्‍याएको डेढ वर्षपछि स्थायी आवास निर्माणका लागि पीडितको नामावली सिफारिस गर्ने निर्णय गरेको हो।

फाइल तस्वीर

काठमाडौँ- काभ्रे जिल्ला विपद् व्यवस्थापन समितिले बाढीपहिरोले क्षति पुर्‍याएको डेढ वर्षपछि स्थायी आवास निर्माणका लागि पीडितको नामावली सिफारिस शुरूआत गरेको छ। समितिको सोमबार सम्पन्न बैठकले २०८१ असोजको बाढीपहिरोले पूर्ण तथा आंशिक क्षति पुगेका रोशी गाउँपालिकाका पीडितको सूची सिफारिस गर्ने निर्णय गरेको हो।

समितिद्वारा पहिलो चरणमा उक्त गाउँपालिकाका १९९ घर स्थायी निर्माण गर्न तथा ४० घर रेट्रोफिटिङ (प्रवलीकरण) गर्न सिफारिस गरिएको छ। समितिका संयोजक प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले काभ्रेमा गत सालको विपत्तिमा आवासमा पुर्‍याएको क्षति छानबिन गरी स्थायी आवास निर्माणका लागि सिफारिस गर्न शुरू गरिएको बताए। उनका अनुसार रोशी गाउँपालिकाबाट राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा स्थायी आवासका लागि सिफरिस शुरू गरिएकाले क्रमशः जिल्लाका अन्य स्थानीय तहका पनि सिफारिस गरिनेछ।

सरकारले २०८१ असोजको बाढीपहिरोले क्षति पुर्‍याएको आवासको स्थायी पुनर्निर्माणका लागि चार लाख अनुदान दिने निर्णय गरेको थियो। साथै सोही निर्णयअनुसार चार लाखमध्ये संघीय सरकारले ५० प्रतिशत, प्रदेश सरकारले ३० प्रतिशत तथा स्थानीय तहले २० प्रतिशत बेहोर्ने नीति बनाइएको थियो। यसअघि जिल्लाको १० स्थानीय तहका दुई हजार ८९५ घरपरिवारलाई सरकारबाट प्राप्त अस्थायी आवास अनुदान वितरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

बाढीपहिरोले रोशी गाउँपालिकामा १२ जनाको मृत्यु भएको थियो। यस्तै बाढीपहिरोबाट ४८२ पूर्ण रूपमा तथा ८८३ घर आंशिक रूपमा क्षति पुगेको थियो। यस्तै, दुई हजार ५४४ परिवारको खेतबारीमा क्षति पुगेको जनाइएको छ। त्यसैगरी, ६० खानेपानी आयोजना, एक पक्की पुल, विद्यालय तथा चार स्वास्थ्य केन्द्रमा क्षति पुगेको थियो। बाढीपहिरो निर्माण सम्पन्न भएको डम्फू पार्क, १० शय्याको एक अस्पताल, चिस्यान केन्द्रसहितको औद्योगिक ग्राम बगाएको थियो।

गत साल असोजको बाढीपहिरोबाट जिल्लामा ८१ जनाले ज्यान गुमाएका थिए । छ जना अझै बेपत्तामा सूचीकृत छन् भने एक सयको हाराहारीमा घाइते भएका थिए । गत चैत अन्तिम साताबाट जिल्लामा सबैभन्दा बढी जनधनको क्षति बेहोरेको रोशी गाउँपालिकाबाटै निजी आवासको विस्तृत क्षति आकलन शुरू गरिएको थियो।-रासस