कांग्रेसको १५औँ महाधिवेशन भदौमा गर्ने प्रस्ताव

कांग्रेसका सभापति गगन थापाले आगामी भदौ मसान्तभित्र १५औँ केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका प्रस्ताव गर्दै पार्टीले पाँच वर्षसम्म जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने स्पष्ट पारेका छन्।

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ केन्द्रीय महाधिवेशनको कार्यतालिका प्रस्ताव गरेका छन्। मंगलबार सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा उनले यस्तो प्रस्ताव अघि सारेका हुन्।

प्रस्तावअनुसार चैतबाट महाधिवेशनको प्रक्रिया सुरु गरी भदौ मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। कांग्रेसको विधानमा विशेष महाधिवेशन भएको एक वर्षभित्र नियमित महाधिवेशन गर्नुपर्ने व्यवस्था छ। गत पुसमा कांग्रेसको विशेष महाधिवेशन भएको थियो भने २०७८ मंसिरमा सम्पन्न १४औँ महाधिवेशनबाट शेरबहादुर देउवा सभापति निर्वाचित भएका थिए।

बैठकमा बोल्दै सभापति थापाले निर्वाचनमा जनताले दिएको मत अनुसार कांग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए। "हामी नागरिकबीच पाँच वर्ष मतको सम्मान गर्ने प्रतिबद्धता लिएर गएका थियौँ। त्यो मतले सरकार सञ्चालन गर्न नदिए पनि प्रतिपक्षको जिम्मेवारी दिएको छ, र हामी त्यस प्रतिज्ञामा बाँधिएका छौँ," उनले भने। उनले सरकारमा रहँदा मात्र नभई प्रतिपक्षमा हुँदा पनि आफ्नो प्रतिबद्धताबाट पछि हट्न नहुने स्पष्ट पारे।

थापाले सन् २०२५ देखि २०३० (वि.सं. २०८२ देखि २०८७) सम्मको अवधिमा सुशासन, विकास र सेवा प्रवाहको गति विगतको तुलनामा चार गुणा बढाउनुपर्ने आवश्यकता औँल्याए। उनले देशमा कुनै पनि प्रकारको अस्थिरता वा ‘दुर्घटना’ हुन नदिन सबै राजनीतिक शक्तिहरू जिम्मेवार हुनुपर्नेमा जोड दिए। "अबको पाँच वर्ष देश कुनै पनि दुर्घटना, द्वन्द्व वा अतिवादमा पर्नु हुँदैन, नेपाली कांग्रेसको मुख्य भूमिका यही हो," उनले उल्लेख गरे।

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार सञ्चालनको जिम्मेवारी पाएको सन्दर्भ जोड्दै उनले सरकारलाई कांग्रेसको पूर्ण साथ रहने तर आवश्यक ठाउँमा दबाब, प्रोत्साहन र प्रश्नसमेत गर्ने धारणा राखे। उनले भने, "राष्ट्रिय स्वतन्त्र पार्टीले पाँच वर्षका लागि 'ड्राइभिङ सिट'मा बस्ने जिम्मेवारी पाएको छ। देशलाई सुशासन र सेवा प्रवाहको गतिमा लैजाने मुख्य जिम्मेवारी उनीहरूले पाएका छन्, जसमा कांग्रेसको पूर्ण साथ रहनेछ।"