मोरङका ५ पोल्ट्री फार्ममा बर्डफ्लु पुष्टि

मोरङका पाँच वटा पोल्ट्री फार्ममा बर्डफ्लु संक्रमण पुष्टि भएपछि प्रशासनले पक्षी र पक्षीजन्य सामग्री नष्ट गर्ने प्रक्रिया शुरू गरेको छ।

फाइल तस्वीर

मोरङ– जिल्लाका पाँच स्थानमा बर्डफ्लु संक्रमण फैलिएको छ।

विराटनगरको दाहाल कृषि फार्म, सुन्दरहरैँचा नगरपालिकाको हलेसी महादेव फार्म, उर्लाबारी नगरपालिकाको अठियाबारी फार्म र कटहरीको ए टु जेड तथा कामाख्या पोल्ट्री फार्मका कुखुरामा बर्डफ्लु देखिएको पशुपक्षी रोग अन्वेषण प्रयोगशाला विराटनगरले पुष्टि गरेको छ।

संक्रमण पुष्टि भएका क्षेत्रमा पक्षी, अण्डा, दाना र अन्य सामग्री नष्ट गर्ने प्रक्रिया अघि बढाइएको छ। पछिल्ला केही दिनयता ब्रोइलर र लेयर्स कुखुरा फार्ममा कुखुरा मर्ने क्रम वृद्धि भएसँगै दैनिक आठदेखि नौ जना किसान परीक्षणका लागि मरेका कुखुरा लिएर आउने गरेको प्रयोगशालाका प्रमुख डा. कमल गिरीले बताए।

उनका अनुसार गत साउनयता परीक्षण गरिएका १९८ नमूनामध्ये ४५ वटामा बर्डफ्लु पुष्टि भइसकेको छ। शंकास्पद नमूना थप परीक्षणका लागि काठमाडौँ पठाइएको डा. गिरीले जानकारी दिए।