सेतो मच्छिन्द्रनाथ जात्रा आजदेखि शुरू

रथमा चैते दशैँका दिन सेतो मच्छिन्द्रनाथको मूलदेवता विराजमान गराएपछि जात्रा शुरू हुने परम्परा छ।

काठमाडौँ- ऐतिहासिक सेतो मच्छिन्द्रनाथको जात्रा आजदेखि शुरू हुँदैछ। हरेक वर्ष चैत शुक्ल अष्टमीको दिनदेखि यो रथयात्रा शुरू हुन्छ। तीनधारा पाठशालाबाट शुरू हुने रथजात्रा तीन दिनपछि लगनटोल पुगेर सम्पन्न हुन्छ।

चैत्र शुक्ल प्रतिपदाका दिनदेखि दरबारमार्गस्थित तीनधारा पाठशालामा ३२ हात अग्लो नौ तले रथ बनाउन शुरू गरिन्छ। काठ, बेत र डोरीका सहायताले रथ बनाइन्छ।

यो रथमा चैते दशैँका दिन सेतो मच्छिन्द्रनाथको मूलदेवता विराजमान गराएपछि जात्रा शुरू हुने परम्परा छ। केल टोलको मच्छिन्द्र बहालको मन्दिरमा रहेको लोकेश्वरको मूर्तिलाई केल टोल, इन्द्रचोक, बाङ्गेमुढा, असन कमलाक्षी हुँदै जमलको तीनधारा पाठशालामा ल्याइ रथमा विराजमान गराइन्छ । त्यसपछि रथ तान्न शुरू हुन्छ।

शताब्दीयौँ पुरानो यो जात्रा धार्मिक आस्थासँगै मौलिक सीप, परम्परागत प्रविधि र सामुदायिक सहकार्यको उत्कृष्ट उदाहरणका रूपमा परिचित रहेको छ।