संसद्मा ‘सिट प्लान’: एउटै बेन्चमा कांग्रेस, एमाले र नेकपा

संसदीय राजनीतिमा कहिले सत्तापक्ष त कहिले प्रतिपक्षमा रहने गरेका प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा अब एउटै (प्रतिपक्षी) बेन्चमा बस्ने भएका छन्।

तस्वीर : रासस

काठमाडौँ— संसदीय यात्रामा कहिले सत्तापक्ष त कहिले प्रमुख प्रतिपक्ष भएर सदनमा बस्दै आएका तीन राजनीतिक दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा अब एउटै बेन्चमा बस्ने भएका हुन्। गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामले यी तीनै दलको संसदीय स्थान प्रतिपक्षको बेन्चमा तय गरिदिएको छ।

संसदीय यात्रामा सत्तापक्ष त कहिले प्रमुख या प्रतिपक्ष भएर सदनका बैठकमा बस्दै आएका तीन राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी अब भने एउटै बेन्चमा बस्ने भएका छन्। गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामले यी तीन पार्टीको तत्कालको संसदीय स्थान प्रतिपक्ष बेन्च तय गरिदिएको हो। यसअघि मुलुकका प्रमुख तीन दलको पहिचानमा रहँदै आएको थियो ।

विसं. २०६३ मा लोकतन्त्रको स्थापना र तत्कालीन नेकपा (माओवादी) शान्ति प्रक्रियामा आएपछि गठन भएको अन्तरिम संसद्मा यी तीनवटै दल एउटै बेन्चमा थिए। तर, २०६४ सालको संविधानसभा निर्वाचन र त्यसपछिका संसद्हरूमा भने कांग्रेस, एमाले र माओवादीमध्ये कुनै दुई दल सत्तामा हुँदा प्रायः एक दल प्रतिपक्षमा बस्ने अवस्था थियो।

तीनवटै दल एउटै (प्रतिपक्षी) बेन्चमा बस्न लागेको यो पहिलोपटक हो। यसपटक तीन दलमध्ये कांग्रेस प्रमुख प्रतिपक्ष र अन्य दुई दल प्रतिपक्षको भूमिकामा रहनेछन्। फागुन २१ को निर्वाचनपछि बिहीबार मात्र प्रतिनिधिसभा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।

समारोहमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नवनिर्वाचित सांसदहरूलाई शपथ गराएका हुन्। शपथका क्रममा तीन दलका सांसदहरू प्रतिपक्षी बेन्चमा उभिएर शपथ लिएका थिए। राजनीतिक दलहरूको सिट संख्याका आधारमा संघीय संसद् सचिवालयले उनीहरूको बस्ने बेन्चको व्यवस्था गरेको छ।

६३ भन्दा बढी सांसदद्वारा मातृभाषामा शपथ
त्यस्तै, बिहीबार ६३ भन्दा बढी सांसदले मातृभाषामा पद तथा गोपनीयताको शपथ लिएका छन्। मातृभाषामा शपथ लिने सांसदहरूमध्ये यज्ञबहादुर बोगटीले अछामी, मोहम्मद इस्तियाक राईले अवधि, आकृति अवस्थीले डोटेली, गंगा छन्त्यालले छन्त्याल र करिस्मा कठरियाले ‘कठरिया थारू’ भाषामा शपथ लिएका छन्।

त्यसैगरी निष्कल राईले चाम्लिङ र दीपकराज बोहराले डोटेली भाषामा शपथ लिए। सुजाता तामाङ र परशुराम तामाङले तामाङ भाषामा शपथ लिए भने कान्त चौधरी, अशोककुमार चौधरी, गीता चौधरी, पुष्पाकुमारी चौधरी, प्रमिलाकुमारी गच्छदार र सुरेन्द्र चौधरीले थारू भाषामा शपथ लिएका छन्।

अनुष्का श्रेष्ठ, कुलभक्त शाक्य, कुशुम महर्जन, कपा महर्जन, विराजभक्त श्रेष्ठ, गङ्गालक्ष्मी अवाल, बुद्धरत्न महर्जन, मदनकृष्ण श्रेष्ठ र रुकेश रन्जितले नेपाल भाषामा शपथ लिएका छन्। नितिमा भण्डारी (कार्की), रबिन महतो, रवीन्द्र पटेल र राजेशकुमार चौधरीले बज्जिका भाषामा शपथ लिए। त्यसैगरी ऐनबहादुर महरले बझाङ्गी र माधवराज राईले बान्तावा भाषामा शपथ लिएका छन्।

कन्हैया बनिया, अरविन्द साह, बुद्धिप्रसाद पन्त र सुशीलकुमार कानुले भोजपुरी भाषामा शपथ लिए। रेनुका काउचाले मगर खाम तथा प्रमोदकुमार महतो र राजकिशोर महतोले मगही भाषामा शपथ लिएका छन्।

अङ्किता ठाकुर, आशा झा, उज्ज्वलकुमार झा, दीपककुमार साह, कामिनी कुमारी, जोगकुमार बरबरिया यादव, तपेश्वर यादव, नरेन्द्रसाह कलवार, निशा मेहता, पुरुषोत्तम शुप्रभात यादव, मनिष झा, मातृकाप्रसाद यादव, रामजी यादव, रुवी कुमारी, शम्भुकुमार यादव, शिव शंकर यादव र सीताराम साहले मैथिली भाषामा शपथ लिए। कृपाराम रानाले राना थारू, पूर्णप्रसाद लिम्बू, सन्तोष सुब्बा र सुहाङ नेम्बाङले लिम्बू भाषामा शपथ लिए भने खुश्बु ओलीले संस्कृत भाषामा शपथ लिएकी छन्।

प्रतिनिधिसभाका सहायक प्रवक्ता (उपसचिव) अनन्तप्रसाद कोइरालाले मातृभाषामा शपथ लिने भनेर शुरूमा ६२ जनाले नाम टिपाएकामा पछि संख्या थपिँदै गएको र यकिन विवरण संकलन भइरहेको बताए।