प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्यको निर्वाचन गराउने मुख्य कार्यभार पूरा गरेर केही सन्तुष्टि र धेरै आशा बोकेर आफू जिम्मेवारीबाट बिदा हुन लागेको बताएकी छन्।
काठमाडौँ— प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्यको निर्वाचन गराउने कार्यभार पूरा गरेर केही सन्तुष्टि र धेरै आशा बोकेर आफू जिम्मेवारीबाट बिदा हुन लागेको बताएकी छन्।
प्रतिनिधिसभाका नयाँ सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिई नयाँ सरकार गठनको तयारी भइरहेका बेला प्रधानमन्त्री कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गरेकी हुन्। उनले गत भदौ २७ गते प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्दा आफ्नो मनमा रहेको डर र अनिश्चय अहिले सन्तुष्टिमा परिणत भएको उल्लेख गरिन्।
“देश संकटमा रहेका बेला केही आशाको दियो बाल्न सकिन्छ कि भन्ने आत्मविश्वास जुटाएर म यहाँ आएकी थिएँ। परिवर्तनकामी युवा पुस्ताको आग्रहमा ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरी जननिर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने उद्देश्यले मैले यो भूमिका स्वीकार गरेकी थिएँ,” उनले भनिन्, “अहिले म केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा माग्दै छु।”
सम्बोधनको पूर्ण पाठ
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,
आज म तपाईंहरूसामु उपस्थित हुँदा मेरो मन केही भारी पनि भएको छ। म सम्झिरहेकी छु— ती कलिला बालबालिका, जसले भदौ २३ र २४ गतेको घटनामा ज्यान गुमाउनुपर्यो। ती ऊर्जावान् किशोरकिशोरी, जसले आजीवन अपाङ्गता व्यहोर्नुपर्यो र ती परिवार, जसले आफ्नो सपना र सहारा गुमाउनुपर्यो।
सभ्य र न्यायपूर्ण शासनको आह्वान गर्दै ज्यानको आहुति दिने ती सम्पूर्ण सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। घाइते योद्धाहरूको स्वास्थ्य लाभको कामना गर्दछु र सहारा गुमाएका परिवारलाई भन्न चाहन्छु— तपाईंहरू एक्लो हुनुहुन्न।
तोडफोड र आगजनीबाट ऐतिहासिक धरोहर, व्यावसायिक प्रतिष्ठान र निजी सम्पत्तिमा पुगेको क्षतिप्रति पनि गहिरो दुःख व्यक्त गर्दछु। हामी फेरि उठ्नेछौँ भन्ने विश्वासका साथ एकजुट भएर अघि बढ्न म सबैलाई आह्वान गर्दछु।
गत भदौ २७ गते मैले यो जिम्मेवारी सम्हाल्दा मेरो मनमा डर र अनिश्चय थियो। तर देश सङ्कटमा रहेका बेला केही आशाको दियो बाल्न सकिन्छ कि भन्ने आत्मविश्वास जुटाएर म यहाँ आएकी थिएँ। परिवर्तनकामी युवापुस्ताको आग्रहमा, छ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरी जननिर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने उद्देश्यले मैले यो भूमिका स्वीकार गरेकी थिएँ। अहिले म केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा माग्दै छु।
हामी सबैलाई स्मरण होला— २०८२ भदौ २३ र २४ गते युवाहरूको अगुवाइमा भएको जनआन्दोलनपछिको जटिल परिस्थिति। ७६ जनाको निधन, दुई हजार ६०० भन्दा बढी घाइते र ८४ अर्बको क्षति भएको त्यो समय अकल्पनीय थियो। त्यस्तो अवस्थाबाट वातावरण सहज बनाउँदै, सुरक्षा सङ्गठनको मनोबल उकास्दै, प्रशासनलाई चलायमान र राजनीतिक दलहरूलाई निर्वाचनका लागि तयार गराउनुपरेको थियो।
सरकार गठन भएको पहिलो हप्तादेखि नै हामीले निर्वाचन आयोगसँग समन्वय गर्दै स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन निरन्तर प्रयास गर्यौँ। आयोग पनि सरकारको चाहना र मुलुकको आवश्यकताबमोजिम घोषित मितिमै निर्वाचन सम्पन्न गर्ने कार्ययोजनामा अघि बढ्यो र फागुन २१ गते तोकिएकै दिन ऐतिहासिक रूपमा शान्तिपूर्ण र स्वच्छ निर्वाचन सम्पन्न भयो।
यस कार्यमा कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तहरू र त्यहाँ कार्यरत सम्पूर्ण कर्मचारीले छोटो समयमा गहन परिश्रम गरी महत्त्वपूर्ण भूमिका खेल्नुभयो। म उनीहरूको उच्च प्रशंसा गर्दछु। नेपाली सेनाले अहोरात्र खटेर कहालीलाग्दो परिस्थितिलाई काबुमा लिँदै सुरक्षा व्यवस्था सुदृढ गर्न र निर्वाचन गराउन महत्त्वपूर्ण भूमिका खेलेको छ। यसका निम्ति प्रधानसेनापतिसहित प्रत्येक सिपाहीलाई धन्यवाद दिन्छु।
चौकी जलाइएका, हतियार लुटिएका, लुगा र जुत्तासमेत नभएका अवस्थामा पनि खरानीबाट उठाएर सङ्गठनलाई पुनः सक्षम बनाउँदै निर्वाचन सम्भव तुल्याउने नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुख तथा प्रत्येक सिपाहीलाई धन्यवाद दिन्छु। राष्ट्रिय अनुसन्धान विभागले देखाएको सक्षमता थप प्रशंसनीय छ। यसका लागि प्रमुख र प्रत्येक कर्मचारीलाई धन्यवाद छ। आफ्नो घरबार छोडी छोटो समयका लागि आएर सेवा गर्ने निर्वाचन प्रहरीहरूको योगदान स–सम्मान सम्झिन चाहन्छु।
निर्वाचनमा खटिने अदालतका कर्मचारीसहित प्रत्येक राष्ट्रसेवक पनि धन्यवादका पात्र हुनुहुन्छ। सबै राजनीतिक दल तथा उम्मेदवारहरूले विषम परिस्थितिका बीच निर्वाचनमा भाग लिएर गर्नुभएको सहयोगका लागि आभारी छु। यस निर्वाचनको महान् पर्वमा फागु वा होलीलाई पनि थाती राखी शान्तिपूर्ण तरिकाले सहभागी हुनुहुने सम्पूर्ण मतदाताप्रति कृतज्ञ छु।
यस्तै, सम्पूर्ण सञ्चारकर्मी, नागरिक समाज तथा पर्यवेक्षक पनि धन्यवादका पात्र हुनुहुन्छ। मित्रराष्ट्रहरू, विभिन्न विकास साझेदारसहित अन्तर्राष्ट्रिय समुदायको सहयोगप्रति म कृतज्ञता व्यक्त गर्दछु। मेरो नेतृत्वमा सरकारमा सहभागी मन्त्रीहरू र मेरो सचिवालयको टोलीलाई पनि विशेष धन्यवाद दिन चाहन्छु। सम्माननीय राष्ट्रपतिज्यूको अभिभावकीय भूमिका र मार्गदर्शन स्मरणीय छ।
विशेष परिस्थितिमा सम्पन्न यस निर्वाचनले थुप्रै नवीन र सकारात्मक अभ्यासहरू स्थापित गरेको छ। निर्वाचनको सुरक्षा, स्वच्छता, मितव्ययिता र समयको पालनामा यसपालि हामीले थुप्रै मानक स्थापित गर्न सकेका छौँ। आगामी चुनावमा यही स्तर कायम राख्न सक्यौँ भने हाम्रो लोकतन्त्रलाई थप सुसंस्कृत र समृद्ध चरणमा पुर्याउन सकिनेछ।
यस निर्वाचनले हामीलाई एउटा महत्त्वपूर्ण पाठ सिकाएको छ— निःस्वार्थ भावले देशको हितका लागि काम गर्दा जनताको साथ अवश्य पाइन्छ। सङ्कटका बेला नेपालीहरू एकजुट भएर सामना गर्न सक्छन् भन्ने कुरा हामीले पुनः प्रमाणित गरेका छौँ। हाम्रो राष्ट्रिय क्षमता कमजोर भएको छैन र आफ्ना समस्या आफैँ सुल्झाउन सक्छौँ भन्ने पनि सावित गरेका छौँ।
यो निर्वाचनमा 'जेन–जी' आन्दोलनको मर्म र भावनाबमोजिम परिवर्तनका पक्षमा नागरिकहरूले स्पष्ट जनादेश दिनुभएको छ। यो संविधानमा भएको निर्वाचन प्रणालीले कुनै दलले बहुमत प्राप्त गर्न सक्दैन भन्ने भाष्यलाई गलत सावित गरिदिएको छ। नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।
युवाको नेतृत्वमा बन्न लागेको नयाँ सरकारले 'जेन–जी' आन्दोलनको माग र आकाङ्क्षाबमोजिम मुलुकमा भ्रष्टाचारको अन्त्य, सुशासन स्थापना, देशभित्रै रोजगारी सिर्जना, आर्थिक विकास र सामाजिक न्यायको क्षेत्रमा नतिजामुखी कार्य गर्नेछ भन्ने विश्वास लिएकी छु। यसका लागि सरकारको पूर्ण सफलताको कामना गर्दछु।
छ महिने अवधि रहेको चुनावी सरकारले 'जेन–जी' आन्दोलनमा अभिव्यक्त सबै काम गर्न सक्ने अवस्था थिएन। तर हामीले केही आधारशिला अवश्य तयार गरेका छौँ। जटिल अपराध र भ्रष्टाचारको छानबिन गर्ने निकायलाई पूर्ण व्यावसायिक स्वतन्त्रताका साथ काम गर्न हामीले प्रेरित गर्यौँ। फलस्वरूप अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले लामो समयदेखि दबाइएका प्रकरणहरूमा मुद्दा अघि बढाएका छन्। ठेक्का लिएर काम नगर्ने र बिजुली बालेर बिल नतिर्ने जस्ता बेथितिविरुद्ध पनि सरकारले कठोर कदम चालेको छ।
जेन–जी आन्दोलनको जगमा बनेको यस सरकारले आन्दोलनकारीहरूसँग २०८२ मङ्सिर २४ गते ऐतिहासिक सम्झौता गरेको छ। उक्त सम्झौताबमोजिमका केही काम अधुरा रहेकाले आगामी सरकारले प्राथमिकताका साथ अघि बढाउने विश्वास लिएकी छु। आन्दोलनका क्रममा भएको बल प्रयोग, तोडफोड, आगजनी र लुटपाटलगायत घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय भइसकेको छ। आगामी सरकारले प्रतिवेदनको पूर्ण अध्ययन गरी सिफारिस र सुझावका सन्दर्भमा आवश्यक कदम चाल्ने नै छ।
आन्दोलनबाट प्रभावित उद्योग, व्यापार र प्रतिष्ठानलाई राहत, कर छुट तथा सहुलियत प्रदान गरी आर्थिक गतिविधि सहज बनाउन 'एकीकृत व्यावसायिक पुनरुत्थान योजना' कार्यान्वयनमा ल्याइएको छ। आन्दोलनका क्रममा क्षति भएका सार्वजनिक संरचना तथा भौतिक पूर्वाधारको पुनर्निर्माण कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइएको छ।
म आज यहाँ सरकारका कामको फेहरिस्त वा उपलब्धि सुनाउन उपस्थित भएकी होइन। हामीले के गर्न सक्यौँ र के सकेनौँ भन्ने मूल्याङ्कन गर्ने जिम्मा यहाँहरूलाई नै छाड्न चाहन्छु। यो कठिन घडीमा हामीले निकै सानो र छरितो टिम बनाएर रातदिन खटेर, आलोचना र प्रहार सहेर, पीडा खपेर, देशकै निम्ति काम गरेका छौँ। कुनै सुविधाको लोभ नगरी मितव्ययी ढङ्गले हामी चलेका छौँ। यस क्रममा सबै काम राम्रो र त्रुटिरहित ढङ्गले गर्यौँ भन्ने दाबी छैन। तर, हामीले गलत नियत राखेर कुनै काम गरेका छैनौँ। पारदर्शिता, निष्ठा र जनभावनालाई केन्द्रमा राखेर काम गर्ने जमर्को गरेका छौँ।
यस अवधिमा केही राम्रो गर्न सकिएको रहेछ भने त्यो तपाईंहरूकै कारण सम्भव भएको हो। यस निम्ति तपाईंहरू सबैप्रति नतमस्तक छु। यदि कमजोरी रह्यो भने त्यो मेरै भागमा पारिदिनुहोला। अन्त्यमा, मुलुकका सबै संस्था र पक्षले आ–आफ्नो संवैधानिक मर्यादाको परिपालना गर्दै अगाडि बढ्नुको विकल्प छैन। यसबाट मात्र सुशासनको जग मजबुत हुन्छ भन्ने हेक्का राख्न विनम्र अनुरोध गर्दछु।
अन्तरिम सरकारको कार्यभार पूरा भएको र निर्वाचनमार्फत नयाँ जनादेश प्राप्त भइसकेको हुँदा नयाँ सरकारलाई स्वागत गर्न म आतुर छु। आज पूर्ण आत्मविश्वासका साथ यो देशको उज्यालो भविष्य देखिरहेकी छु, जहाँ हाम्रो एकता, इमानदारी र प्रत्येक नागरिकको परिश्रमले नयाँ इतिहास लेख्नेछ। धन्यवाद।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
