प्रवक्ताको जिम्मेवारी शिक्षामन्त्री पोखरेललाई, जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय

सरकारले शिक्षामन्त्री सस्मित पोखरेललाई प्रवक्ताको जिम्मेवारी तोक्दै जेन–जी आन्दोलनको जाँचबुझ प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ।

काठमाडौँ– सरकारले नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेललाई सरकारको प्रवक्ताको जिम्मेवारी तोक्ने निर्णय गरेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार बसेको बैठकले पोखरेललाई प्रवक्ता तोकेको हो।  

बैठकका निर्णयहरूबारे जानकारी दिँदै प्रवक्ता पोखरेलले सरकारले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन तथा त्यसअघिका विभिन्न आन्दोलनमा वीरगति प्राप्त गर्ने सम्पूर्ण ज्ञात–अज्ञात शहीदप्रति भावपूर्ण सम्मान एवं हार्दिक श्रद्धाञ्जली अर्पण गर्ने निर्णय गरेको बताए।

बैठकले शासकीय सुधारका लागि तयार पारिएको ‘१०० बुँदे कार्यसूची’लाई समेत स्वीकृत गरेको छ। यो कार्यसूची शनिबारसम्ममा सार्वजनिक गरिने उनको भनाइ छ। 

यसैगरी, भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएका घटनाको सत्यतथ्य पत्ता लगाउन गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले बुझाएको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णयसमेत भएको छ।

प्रतिवेदनको सिफारिसअनुसार सुरक्षा संयन्त्रको हकमा दोषी औँल्याइएका व्यक्ति र निकायबारे अध्ययन गर्न समिति गठन गरिने र सोही समितिको सुझावका आधारमा कारबाही प्रक्रिया अघि बढाइने प्रवक्ता पोखरेलले जानकारी दिए। अन्य सिफारिसहरू तत्काल कार्यान्वयन गर्न गृह मन्त्रालयलगायतका सम्बन्धित निकायलाई निर्देशन दिइएको छ‍।