वर्षाका कारण बीपी राजमार्ग अवरुद्ध, सवारीसाधन ‘होल्ड’

शुक्रबार साँझको वर्षा र रोशी खोलामा आएको लेदोसहितको बाढीका कारण बीपी राजमार्गको भकुण्डे–नेपालथोक सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

फाइल तस्वीर

काभ्रेपलान्चोक– शुक्रबार साँझको वर्षाका कारण बीपी राजमार्गमा यातायात अवरुद्ध भएको छ। साँझ ६ बजेदेखि राजमार्गको भकुन्डे–नेपालथोक सडकखण्डअन्तर्गत रोशी गाउँपालिकाका विभिन्न स्थानमा लेदोसहितको बाढी–पहिरोका कारण यातायात ठप्प भएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलान्चोकका अनुसार बिरुवाडाँडा, कालढुंगा, चौकीडाँडा र मंगलटारका विभिन्न स्थानमा लेदोसहितको पहिरो खसेको छ भने खहरे खोलाहरूमा पानीको बहाव उच्च छ।

कार्यालय प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजुले सडक विभाग, नेपाल प्रहरी र स्थानीयको सहयोगमा पहिरो पन्छाउने प्रयास भइरहेको बताए। उनका अनुसार हावाहुरी र निरन्तर वर्षा भइरहेकाले पहिरो पन्छाउन निकै कठिनाइ भइरहेको छ। गत वर्षको बाढीपहिरोले सडक क्षतिग्रस्त बनाएपछि अहिले उक्त क्षेत्रमा खोलाबाटै अस्थायी सडक बनाएर सञ्चालनमा ल्याइएको थियो।

यसैबीच, सडक अवरुद्ध भएपछि ट्राफिक प्रहरीले शुक्रबार साँझदेखि विभिन्न स्थानमा सवारीसाधन ‘होल्ड’ गरेको छ। राजमार्गको प्रवेश विन्दु धुलिखेलको काभ्रेभञ्ज्याङ र भकुन्डे तथा पूर्वतर्फबाट राजधानी प्रवेश गर्ने नेपालथोक र मंगलटारमा सवारीसाधन रोकेर राखिएको धाँजुले बताए।

यसअघि चैत ७ गते बिहान पनि सोही गाउँपालिकाको चारसयबेंसी, गिम्दी, दाउन्ने र कालढुंगामा पानीको बहाव बढ्दा सडकखण्ड ६ घण्टा अवरुद्ध भएको थियो। पानीको बहाव घटेपछि सडक मर्मत गरी पुनः सञ्चालनमा ल्याइएको थियो।