ओली र लेखकको पक्राउ ‘अपरिपक्व निर्णय’: पूर्वराष्ट्रपति भण्डारी

जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा विधिसम्मत प्रक्रिया र संस्थागत परामर्श अनिवार्य हुने तर्क गर्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको हतारको निर्णयले मुलुकमा पुनः द्वन्द्व तथा अस्थिरताको जोखिम बढाउन सक्नेतर्फ सचेत गराएकी छन्।

फाइल तस्वीर

काठमाडौँ— पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालीन प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने निर्णयलाई ‘अपरिपक्व’ भन्दै ध्यानाकर्षण भएको जनाएकी छन्।

शनिबार प्रेस विज्ञप्ति जारी गर्दै उनले बालेन्द्र शाह नेतृत्वको सरकारले कार्यभार सम्हालेकै दिन गरेको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेकी हुन्। उनले ‘भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोग २०८२’ को प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको कदमलाई ‘अपरिपक्व निर्णय’को संज्ञा दिएकी हुन्।

भण्डारीले गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन आफैँमा पूर्ण नभएको उल्लेख गर्दै भनेकी छन्, “सरकार गठन भएको पहिलो दिनमै उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गर्दै तत्कालीन प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष श्री केपी शर्मा ओली तथा पूर्वगृहमन्त्री श्री रमेश लेखकलाई पक्राउ गरिनु अत्यन्तै संवेदनशील र दूरगामी प्रभाव पार्ने विषय हो।”

विज्ञप्तिमा पूर्वराष्ट्रपति भण्डारीले यस प्रकारका कदमहरू वर्तमान संविधान, प्रचलित कानून र स्थापित लोकतान्त्रिक अभ्यासहरूसँग मेल नखाने स्पष्ट पारेकी छन्। कुनै पनि जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा विधिसम्मत प्रक्रिया र संस्थागत परामर्श आवश्यक हुने तर्क गर्दै उनले भनेकी छन्, “हतारमा गरिएको निर्णयले विधिको शासनप्रति जनविश्वास कमजोर बनाउन सक्छ र मुलुकमा पुनः द्वन्द्व तथा अस्थिरताको जोखिम बढाउन सक्छ।”

सुशासनलाई मुख्य अजेन्डा बनाएर गठन भएको वर्तमान सरकारबाट यस्तो कदम चालिनु दुःखद् भएको बताउँदै उनले लोकतान्त्रिक मूल्य, मान्यता र संवैधानिक मर्यादाको सम्मान गर्दै उक्त निर्णयलाई पुनर्विचार गरी फिर्ता लिन उपयुक्त हुने सुझाव दिएकी छन्।

मुलुकको राजनीतिक स्थायित्व र विधिको शासनमा आँच पुग्न सक्ने तर्फ सचेत गराउँदै भण्डारीले सरकारलाई संयमता अपनाउन र विधि तथा प्रक्रियाअनुसार अघि बढ्न आग्रह गरेकी छन्। “मुलुकको स्थायित्व र लोकतान्त्रिक प्रणालीको संरक्षणतर्फ गम्भीर हुन आग्रह गर्दछु,” उनले भनेकी छन्।