शिक्षा मन्त्रालयले भन्यो– ‘ब्रिज कोर्स’का नाममा हुने कार्यक्रम बन्द गर्नू

विद्यार्थीमा पर्ने मनोवैज्ञानिक र आर्थिक बोझ पर्ने भन्दै शिक्षा मन्त्रालयले आगामी वैशाख १ गतेदेखि ‘ब्रिज कोर्स’ र प्रवेश परीक्षा तयारीका नाममा हुने सबै कार्यक्रम बन्द गर्न निर्देशन दिएको छ।

फाइल तस्वीर

काठमाडौँ— सरकारले ‘ब्रिज कोर्स’का नाममा सञ्चालन हुने विभिन्न कार्यक्रम बन्द गर्न अनुरोध गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहका विभिन्न कक्षा र उच्च शिक्षाका विभिन्न तहमा भर्ना लक्षित प्रवेश परीक्षा तयारी कक्षा एवं ब्रिज कोर्सका नाममा हुने कार्यक्रम बन्द गर्न अनुरोध गरेको हो।

मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी यस्ता कार्यक्रमले विद्यार्थीको मनोविज्ञान तथा शिक्षामा समतामूलक पहुँचमा नकारात्मक प्रभाव पार्ने र अनावश्यक आर्थिक बोझसमेत थपिने जनाउँदै आगामी वैशाख १ गतेदेखि पूर्ण रूपमा कार्यक्रम बन्द गर्न सम्बन्धित संस्थालाई अनुरोध गरेको छ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता शिवकुमार सापकोटाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “मन्त्रालयको मन्त्रीस्तरबाट २०८२ चैत १३ गते निर्णय भएकाले सोहीअनुसार गर्न गराउन सम्बन्धित सबैमा यो निर्देशन गरिएको छ। साथै, यस्ता कार्यक्रम सञ्चालन भए नभएको अनुगमन गरी सञ्चालन गरेको पाइएमा प्रचलित कानूनबमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाउनसमेत सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरिन्छ।”

विद्यालय तहका विभिन्न कक्षा र उच्च शिक्षाका विभिन्न तहमा भर्ना प्रक्रिया प्रारम्भ हुनुभन्दा अगाडि भर्नालाई लक्षित गरी विभिन्न संस्थाले प्रवेश परीक्षा तयारी कक्षा एवं ब्रिज कोर्सका नाममा कार्यक्रम सञ्चालन गर्दै आएका छन्।