२० हजार घुससहित प्रहरी वृत्त मालीगाउँका सई पक्राउ

प्रहरी वृत्त मालीगाउँमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) दिनेश राउतलाई २० हजार रुपैयाँ घुस रकमसहित अख्तियारको टोलीले पक्राउ गरेको छ।

काठमाडौँ— प्रहरी वृत्त मालीगाउँमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) दिनेश राउत २० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिएको टोलीले उनलाई मंगलबार काठमाडौँ महानगरपालिका–५ स्थित गहनापोखरीबाट नियन्त्रणमा लिएको हो।

अख्तियारका अनुसार सई राउतले बैंकिङ कसुरसम्बन्धी मुद्दामा जाहेरवालाको रकम फिर्ता दिलाउन सहजीकरण गरिदिएको र उक्त मुद्दा मिलापत्र गराउने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरेका थिए। सेवाग्राहीलाई दुःख हैरानी दिएको सूचना र उजुरीका आधारमा आयोगको टोलीले उनलाई निगरानीमा राखेको थियो।

टोलीले राउतलाई सेवाग्राहीबाट २० हजार रुपैयाँ लिइसकेको अवस्थामा रङ्गेहात फेला पारेको हो। पक्राउ परेका राउतको साथबाट घुसबापतको रकम र एक थान मोबाइल समेत बरामद गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए। नियन्त्रणमा लिइएका राउतमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

अदालतका डिठ्ठा ५० हजार घुससहित पक्राउ
त्यस्तै, रौतहट जिल्ला अदालत, गौरमा कार्यरत डिठ्ठा लवकुमार सिंह ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्। अख्तियारको कार्यालय, हेटौँडाबाट खटिएको टोलीले उनलाई मंगलबार अदालत परिसरबाटै नियन्त्रणमा लिएको हो।

डिठ्ठा सिंहले अदालतको फैसलाबमोजिम जग्गाको दाखिल खारेज पुर्जी तयार गरी जग्गा फुकुवा गरिदिएबापत सेवाग्राहीसँग घुस माग गरिरहेको उजुरी अख्तियारमा परेको थियो। सोही सूचनाका आधारमा खटिएको टोलीले उनलाई सेवाग्राहीबाट ५० हजार रुपैयाँ लिइसकेको अवस्थामा रङ्गेहात फेला पारेको हो।

प्रवक्ता न्यौपानेका अनुसार सिंहको साथबाट घुसबापतको नगद र एक थान मोबाइलसमेत बरामद गरिएको छ। नियन्त्रणमा लिइएका सिंहलाई हिरासतमा राखी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको आयोगले जनाएको छ।