काठमाडौँका पूर्वसीडीओ छवि रिजाल रिहा

जेनजी आन्दोलनका क्रममा भएको घटनाबारे छानबिन गर्न गठित आयोगको सिफारिसका आधारमा पक्राउ परेका काठमाडौँका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल जिम्मा जमानीमा रिहा भएका छन्।

फाइल तस्वीर

काठमाडौँ— काठमाडौँका पूर्वप्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाल रिहा भएका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई मंगलबार बिहान सुविधानगरस्थित निवासबाटै नियन्त्रणमा लिएको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवनकुमार भट्टराईका अनुसार रिजाललाई सोधपुछपछि जिम्मा जमानीमा छाडिएको हो। गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका समयमा रिजाल काठमाडौँको प्रमुख जिल्ला अधिकारी थिए। उक्त आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगले उनलाई पनि कारबाहीका लागि सिफारिस गरेको थियो।

यसअघि सोही प्रकरणमा संलग्नताको आरोपमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक पक्राउ परिसकेका छन्। उनीहरूलाई अदालतले पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ। उनीहरूले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाऊ आदेश समेत जारी गरिसकेको छ।