प्रतिनिधिसभाको सभामुखका लागि आज उम्मेदवारी दर्ता हुँदै

संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार उम्मेदवारी दर्ता आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म हुनेछ।

काठमाडौँ- प्रतिनिधिसभाको सभामुख चयनको प्रक्रिया आज (शुक्रबार) शुरू हुँदैछ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार उम्मेदवारी दर्ता आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म हुनेछ।

सचिवालयले उम्मेदवारको नामावली दिउँसो २:३० बजे सार्वजनिक गर्ने जनाएको छ। प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ७ अनुसार सभामुखको निर्वाचन चैत २२ गते आइतबार बिहान ११ बजे बस्ने बैठकमा हुने मिति तय भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभापति डोलप्रसाद अर्याललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ। बिहीबार बसेको संसदीय दलको बैठकले अर्यालको प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो।

हालको प्रतिनिधि सभामा रास्वपाको झन्डै दुई तिहाइ १८२ सांसद रहेकोले अर्याल निर्वाचित हुने निश्चत जस्तै छ। काठमाडौँ क्षेत्र नम्बर ९ बाट निर्वाचित अर्याल यसअघि पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी पनि सम्हालेका थिए।

सचिवालयका अनुसार यदि एकभन्दा बढी उम्मेदवारी दर्ता भएमा निर्वाचन प्रक्रिया चैत २२ गतेको बैठकमा अघि बढ्नेछ।