आन्तरिक मूल्याङ्कनको शैक्षिक सान्दर्भिकता: खारेजी कि पुनर्संरचना?

नेपालले पहिले नै सिकाइको गम्भीर सङ्कट झेलिरहेको वर्तमान अवस्थामा यस पद्धतिलाई सुदृढ गर्नुको सट्टा खारेज गर्नु भनेको प्राथमिक शिक्षाको जगलाई नै थप जोखिममा पार्नु हो।

नेपाल आफ्नो शिक्षा सुधारको निरन्तर प्रयासको एउटा महत्त्वपूर्ण मोडमा उभिएको छ। यसै क्रममा नवगठित मन्त्रिपरिषद्ले ‘शासकीय सुधारको एक-सय बुँदे कार्यसूची’ स्वीकृत गरेको छ। सुशासन सुधारको बुँदा ८( मा आगामी शैक्षिक सत्रदेखि कक्षा पाँचसम्मका विद्यार्थीहरूका लागि आन्तरिक मूल्याङ्कन बन्द गर्ने विषयलाई प्रमुख प्रतिबद्धताका रूपमा अघि सारिएको छ। यो प्रस्तावमा आन्तरिक मूल्याङ्कन हटाउँदा साना बालबालिकाहरूमा पर्ने मनोवैज्ञानिक दबाब कम हुने र बालमैत्री वातावरण सिर्जना हुने दाबी गरिएको छ। झट्ट सुन्दा रोमाञ्चकारी मात्रै होइन क्रान्तिकारी पनि लाग्ने यो प्रस्तावमाथि छलफल हुनु आवश्यक लागेकोले अघि सरेको छु।

हो पनि, यस सुधारलाई प्रगतिशील, करुणापूर्ण र प्रारम्भिक कक्षाहरूमा उच्च जोखिम वा दबाबयुक्त (हाइस्टेक्स) परीक्षाहरूलाई निरुत्साहित गर्ने विश्वव्यापी अभ्याससँग मेल खाने कदमका रूपमा हेर्न सकिन्छ। बालबालिकाका हितका निमित्त चालिएका यस्ता कदमहरू प्रशंसायोग्य छन्। विश्वभरि नै शिक्षा प्रणालीहरूले विशेष गरी प्रारम्भिक वर्षहरूमा बालबालिकालाई कसरी मूल्याङ्कन गर्ने भन्नेबारे पुनर्विचार गरिरहेका छन्। औपचारिक प्रकृतिको अत्यधिक परीक्षणले विद्यार्थीको उत्प्रेरणामा हानि पुऱ्याउन सक्छ, चिन्ता बढाउन सक्छ र शिक्षाको उद्देश्यलाई साँघुरो बनाउन सक्छ भन्ने कुरामा विश्वव्यापी सहमति बढ्दो छ। 

अत्यधिक परीक्षाहरूद्वारा ससाना विद्यार्थीमा पर्न सक्ने सम्भाव्य नकारात्मक मनोवैज्ञानिक प्रभावबारे विवाद नहोला, तथापि नेपाल सरकारले प्रस्ताव गरेको ‘आन्तरिक मूल्याङ्कन’को पूर्ण खारेजीको यो नीतिले सिकाइको प्रारम्भिक जगलाई नै कमजोर गर्न सक्ने जोखिमलाई भने नकार्न सकिँदैन। 

यो प्रस्तावले आन्तरिक मूल्याङ्कनलाई उच्च जोखिमयुक्त, औपचारिक, स्तरीकृत, निर्णयात्मक, वार्षिक प्रकृतिका वा तहगत 'परीक्षा'सँग मिसाउने भूल गरेको छ र सबै प्रकारका मूल्याङ्कनले तनाव मात्रै सिर्जना गर्छन् भन्ने एकाङ्की र गलत मान्यता राखेको देखिन्छ। यो आन्तरिक मूल्याङ्कन बारेको आधारभूत मर्म र बुझाइको कमीबाट प्रेरित छ। वास्तवमा आन्तरिक मूल्याङ्कनहरू उच्च-जोखिमयुक्त परीक्षा होइनन्, बरु यी शिक्षण पद्धतिका यस्ता औजार हुन्, जसले सिकाइलाई दृश्यमान बनाउँछन्। नेपालले पहिले नै सिकाइको गम्भीर सङ्कट झेलिरहेको वर्तमान अवस्थामा यस पद्धतिलाई सुदृढ गर्नुको सट्टा खारेज गर्नु भनेको प्राथमिक शिक्षाको जगलाई नै थप जोखिममा पार्नु हो।

यो लेखको आग्रह के छ भने आन्तरिक मूल्याङ्कन आफैमा समस्याको स्रोत होइन, बरु यो शिक्षण र सिकाइ दुवैमा गुणात्मक सुधार ल्याउनका लागि आवश्यक उपकरण हो। यसलाई हटाउनुको सट्टा नेपालले सिकाइका लागि मूल्याङ्कन (एसेसमेन्ट फर लर्निङ) र सिकाइकै रूपमा मूल्याङ्कन (एसेसमेन्ट एज लर्निङ) को आधुनिक दृष्टिकोण अनुरूप यसलाई सुदृढ र पुनर्संरचना गर्नु बुद्धिमानी हुनेछ। एक सन्तुलित, न्यायोचित र प्रमाणमा आधारित दृष्टिकोण अपनाउँदा मात्र शैक्षिक गुणस्तरमा सम्झौता नगरी सरकारले आफ्नो दीर्घकालीन लक्ष्य हासिल गर्न सक्छ।

आन्तरिक मूल्याङ्कनको शैक्षिक महत्त्व
आन्तरिक मूल्याङ्कनलाई अक्सर गलत रूपमा बुझ्ने गरिएको छ। सार्वजनिक बहसमा यसलाई कहिलेकाहीँ डर, तनाव र अस्वस्थ प्रतिस्पर्धा पैदा गर्ने परम्परागत 'परीक्षा'सँग तुलना गरिन्छ। वास्तवमा, यसको उद्देश्य र अभ्यास मौलिक रूपमै फरक हुन्छ। शुरुमै के कुरा बुझ्नु जरुरी छ भने सबै प्रकारका मूल्याङ्कनले केही न केही मानसिक सक्रियता वा 'तनाव' सिर्जना गर्न सक्छन्, तर सबै तनावले हानी नै पुर्‍याउँछन् भन्ने होइन। उपयुक्त स्तरको चुनौतीले सिकाइप्रति जागरूकता र जिम्मेवारीबोध समेत बढाउँछ। त्यसैले, मूल प्रश्न 'मूल्याङ्कन गर्ने कि नगर्ने' भन्ने होइन, बरु यसलाई 'कसरी गर्ने' भन्ने हो, जसबाट विद्यार्थीलाई न्यूनतम मनोवैज्ञानिक दबाब परोस् र सिकाइको अधिकतम लाभ प्राप्त होस्।

आन्तरिक मूल्याङ्कन कक्षाकोठाको दैनिक जीवन र सिकाइ प्रक्रियासँग गहिरो रूपमा गाँसिएको एक अपरिहार्य शैक्षिक अङ्ग हो। यसमा नियमित अवलोकन, लघु-प्रश्नोत्तर, मौखिक अन्तरक्रिया, आत्म मूल्याङ्कन, सहपाठी मूल्याङ्कन, विद्यार्थीका सिर्जनात्मक कार्यहरूको सङ्ग्रह (पोर्टफोलियो) लगायत शिक्षकको निरन्तर र कम-दबाबयुक्त विधि समावेश हुन्छन्। यी विधिले शिक्षकलाई विद्यार्थीको वर्तमान बुझाइको स्तर र हासिल गर्नुपर्ने अपेक्षित उपलब्धिहरू बीचको दूरी पत्ता लगाउन मद्दत गर्छन्। यसरी प्राप्त हुने जानकारीले शिक्षकलाई आफ्नो शिक्षण पद्धति परिमार्जन गर्न र विद्यार्थीलाई व्यक्तिगत आवश्यकता अनुसारको सहयोग (स्काफोल्डिङ) प्रदान गर्न सक्षम बनाउँछ।

यी मूल्याङ्कनहरू मूलतः निर्माणात्मक (फर्मेटिभ) प्रकृतिका हुन्छन्, जसको प्राथमिक उद्देश्य विद्यार्थीलाई अङ्कका आधारमा वर्गीकरण (श्रेणीकरण) गर्नु वा कुनै अन्तिम निर्णय सुनाउनु (पास वा फेल) नभई शिक्षण सिकाइको यात्रालाई सही दिशा र निरन्तर मार्गदर्शन प्रदान गर्नु हो। यसले शिक्षकहरूलाई सिकाइका क्रममा उत्पन्न हुने अस्पष्टता र भ्रमहरू सुरुवाती चरणमै पहिचान गर्न सक्षम बनाउँछ, जसका आधारमा शिक्षण रणनीतिहरू परिमार्जन गरी प्रत्येक विद्यार्थीको विशिष्ट आवश्यकता अनुसार लक्षित सहयोग प्रदान गर्न सकिन्छ। मूल सार विद्यार्थीलाई तत्काल पृष्ठपोषण दिनु हो, जसले विद्यार्थीको सिकाइ प्रक्रियालाई निरन्तर सुधारतर्फ डोर्‍याउँछ।

यसका साथै, आन्तरिक मूल्याङ्कनले विद्यार्थीहरूलाई केवल निष्क्रिय स्रोता मात्र बनाउँदैन, बरु उनीहरूलाई आफ्नै सिकाइको सक्रिय सहभागी र मालिक (लर्नर एजेन्सी) बनाउँछ। यसले बालबालिकामा आफ्नै प्रगतिको वस्तुनिष्ठ मूल्याङ्कन गर्ने, सुधारका क्षेत्रहरू स्वयं पहिचान गर्ने र निरन्तर आत्मचिन्तन (रिफ्लेक्सन) गर्ने बानी बसाल्छ, जसबाट उनीहरूमा जीवनभरका लागि उपयोगी आत्म नियमनको (सेल्फ-रेगुलेसन) महत्त्वपूर्ण सीप विकास हुन्छ। आन्तरिक मूल्याङ्कन विनाको शिक्षण पद्धति केवल अनुमान र अन्धकारको यात्रामा आधारित हुन पुग्छ। यदि शिक्षकले आफ्ना विद्यार्थीको सिकाइमा रहेको वास्तविक स्तर वा कमजोरी पहिचान गर्न सक्दैन भने उसले त्यसलाई सम्बोधन गर्न वा प्रभावकारी उपचारात्मक शिक्षण प्रदान गर्न असमर्थ हुन्छ। तसर्थ, आन्तरिक मूल्याङ्कन खारेज गर्ने प्रस्तावले सिकाइलाई पृष्ठपोषणयुक्त, अनुकूलन योग्य र अर्थपूर्ण बनाउने मुख्य संयन्त्रलाई नै धराशायी बनाउने जोखिम निम्त्याउँछ।

वास्तवमा, आन्तरिक मूल्याङ्कन, शिक्षण पद्धतिको कुनै बाह्य पक्ष नभएर यसको अन्तर्निहित र अनिवार्य तत्त्व हो। मूल्याङ्कनको अनुपस्थितिमा सिकाइ प्रक्रियाले आफ्नो स्वाभाविक लचिलोपन र अनुकूलन क्षमता गुमाउँछ। तसर्थ, यसलाई खारेज गर्दा शिक्षण कार्य केवल एकतर्फी सूचना प्रवाहमा सीमित हुन पुग्छ, जसले अन्ततः बालबालिकाको सिर्जनात्मक र संज्ञानात्मक विकासको मार्गलाई नै अवरुद्ध पार्न सक्छ।

मस्तिष्क-विज्ञानका अनुसार, प्रभावकारी सिकाइ केवल सूचनाको सङ्ग्रह मात्र नभई स्नायु प्रणालीमा हुने भौतिक परिवर्तन पनि हो। जब विद्यार्थीले निरन्तर र रचनात्मक पृष्ठपोषण प्राप्त गर्छन्, मस्तिष्कले आफ्ना त्रुटिहरू पहिचान गरी न्युरोनहरूबीचको सञ्जाललाई पुनः सङ्गठित र सुदृढ गर्छ, जसलाई 'न्युरोप्लास्टिसिटी' भनिन्छ। यो प्रक्रियाले मस्तिष्कलाई गल्तीबाट सिक्न र सही मार्ग रोज्न प्रेरित गर्ने मात्र नभई, सिकाइलाई छिटो, गहिरो र दीर्घकालीन बनाउन मद्दत गर्छ। तसर्थ, कक्षाकोठामा गरिने आन्तरिक मूल्याङ्कन मस्तिष्कको यो प्राकृतिक सुधार प्रक्रियालाई सक्रिय बनाउने एक वैज्ञानिक विधि हो।

'सिकाइका लागि' र 'सिकाइकै रूपमा' मूल्याङ्कन 
वर्तमान बहसको एउटा मुख्य समस्या भनेको मूल्याङ्कनको बहुआयामिक भूमिका र यसको सैद्धान्तिक पक्षप्रतिको सीमित बुझाइ हो। आधुनिक शैक्षिक चिन्तनले मूल्याङ्कनका उद्देश्यहरूलाई तीन व्यापक दृष्टिकोणबाट वर्गीकरण गर्दछस्

सिकाइको मूल्याङ्कन (एसेसमेन्ट अफ लर्निङ): यो सामान्यतया परम्परागत परीक्षासँग जोडिएको हुन्छ, जसले निश्चित समयको अन्तरालमा विद्यार्थीले के कति हासिल गरे भन्ने लेखाजोखा (समेटिभ) गर्दछ। यस्तो पद्धतिमा अक्सर उच्च दबाब (हाइस्टेक्स) रहने भएकाले नेपाल सरकारले हालको नीति मार्फत प्राथमिक तहबाट यसलाई विस्थापन गर्न खोजेको देखिन्छ। यद्यपि, शिक्षा प्रणालीको निश्चित चरणमा पुगेपछि उपलब्धि प्रमाणीकरणका लागि यस्तो परीक्षाको आवश्यकतालाई पूर्णतः नकार्न सकिँदैन।

सिकाइका लागि मूल्याङ्कन (एसेसमेन्ट फर लर्निङ): यसको सम्पूर्ण ध्यान सिकाइ सुधारमा केन्द्रित रहन्छ। यसमा निरन्तर पृष्ठपोषण, अवलोकन, प्रश्नोत्तर र कक्षामा आधारित गतिविधिहरू पर्दछन्, जसले शिक्षकलाई आफ्नो शिक्षण पद्धति परिमार्जन गर्न सघाउँछन्। यो निदानात्मक र पृष्ठपोषण उन्मुख हुन्छ, जसले विद्यार्थी सिकाइका कमी कमजोरीहरू समयमै पहिचान गरी सम्बोधन भएको सुनिश्चित गर्छ।

सिकाइकै रूपमा मूल्याङ्कन (एसेसमेन्ट एज लर्निङ): यसले विद्यार्थीलाई मूल्याङ्कन प्रक्रियाको केन्द्रमा राख्छ र उनीहरूलाई आफ्नै प्रगतिमा चिन्तन गर्न, आफ्ना सबल र दुर्बल पक्षहरू पहिचान गर्न र आफ्नै सिकाइको जिम्मेवारी लिन प्रोत्साहित गर्छ। यस दृष्टिकोणले 'मेटाकोग्निटिभ' सीपहरू बढाउँछ, अर्थात् विद्यार्थीलाई कसरी सिक्ने भन्ने कुरा सिक्न मद्दत गर्छ।

आन्तरिक मूल्याङ्कन नै त्यस्तो प्रक्रिया हो, जहाँ यी दुई परिवर्तनकारी दृष्टिकोणहरू– सिकाइका लागि र सिकाइकै रूपमा मूल्याङ्कन–एउटै बिन्दुमा समाहित हुन्छन्। यसले शिक्षकलाई सिकाइलाई मार्ग निर्देश गर्न सक्षम बनाउँछ भने विद्यार्थीलाई आफ्नै विकासमा सक्रिय सहभागी हुन सशक्त बनाउँछ। तसर्थ, आन्तरिक मूल्याङ्कन खारेज गर्नु भनेको विद्यालयको कुनै सामान्य प्रक्रियागत तत्त्व हटाउनु मात्र होइन, बरु यो त शिक्षाको प्राण मानिने पृष्ठपोषण, आत्मचिन्तन र आत्म नियमनजस्ता आधारभूत प्रक्रियाहरूलाई नै समाप्त गरिदिनु हो।

ऐतिहासिक सन्दर्भ: निरन्तर मूल्याङ्कनतर्फ नेपालको यात्रा
नेपालको शिक्षा प्रणालीले करिब पाँच दशक अघिदेखि नै आन्तरिक मूल्याङ्कनको अपरिहार्यतालाई नीतिगत रूपमा आत्मसात् गर्दै आएको छ। विसं. २०२८ (सन् १९७१) को 'राष्ट्रिय शिक्षा पद्धति योजना'मार्फत औपचारिक रूपमा आरम्भ गरिएको आन्तरिक मूल्याङ्कनको अवधारणा सन् २००० पछि लागू गरिएका विद्यालय क्षेत्र विकास वा सुधार योजनाहरू (एसएसआरपीर एसएसडीपी) मार्फत थप संस्थागत र सशक्त बन्यो। यी सुधारहरूले निरन्तर विद्यार्थी मूल्याङ्कन (सीएएस) र उदार कक्षोन्नति (लिबरल प्रमोसन) को नीतिलाई अघि सार्दै विद्यार्थीको सिकाइलाई अन्तिम परीक्षाको साँघुरो घेराबाट मुक्त गर्ने प्रयास गरे।

यी सुधारहरू एउटा ठोस शैक्षिक बुझाइमा आधारित छन्। बालबालिकाहरू फरक फरक गतिमा सिक्छन् र मूल्याङ्कन प्रणालीले यो विविधतालाई समेट्नुपर्छ। निरन्तर मूल्याङ्कनको उद्देश्य एक पटकको उच्चदाउ वा जोखिमयुक्त परीक्षा माथिको निर्भरता कम गर्नु र थप सहयोगी एवं बालमैत्री सिकाइ वातावरण सिर्जना गर्नु हो। प्रभावकारी रूपमा लागू भएमा निरन्तर मूल्याङ्कनले पहिले नै सिकाइका लागि र सिकाइकै रूपमा मूल्याङ्कनका सिद्धान्तहरूलाई आत्मसात् गरेको हुन्छ। 

वर्तमान प्रस्तावले आन्तरिक मूल्याङ्कनलाई स्वाभाविक रूपमै तनावपूर्ण देखाएर दशकौँको नीतिगत विकास र इतिहासलाई बेवास्ता गरेको छ। राम्रोसँग लागू गर्दा निर्माणात्मक मूल्याङ्कनले विद्यार्थीको आन्तरिक उत्प्रेरणा र गहिरो सिकाइ (डीप लर्निङ) लाई सहयोग पुर्‍याउँछ भन्ने प्रमाणलाई पनि यसले नजरअन्दाज गरेको छ। आन्तरिक मूल्याङ्कन स्वयंमा तनावको स्रोत होइन। वास्तविक मानसिक दबाब त मूल्याङ्कनसँग जोडिएको जोखिम (जस्तै: उत्तीर्ण वा अनुत्तीर्णको निर्णय, भविष्यका अवसरहरूको अनिश्चितता, वा सामाजिक प्रतिष्ठाको दबाब) बाट उत्पन्न हुन्छ। यदि मूल्याङ्कनलाई अङ्क र श्रेणीको पासोबाट मुक्त गरी केवल सिकाइको सुधार र रचनात्मक पृष्ठपोषणमा केन्द्रित गर्ने हो भने यसले तनाव होइन, बरु विद्यार्थीमा सिक्ने उत्साह र आत्मविश्वास जागृत गराउँछ।

नेपालको प्राथमिक तहमा आन्तरिक मूल्याङ्कन कार्यान्वयनका प्रमुख चुनौतीहरू नेपालको प्राथमिक तहमा आन्तरिक मूल्याङ्कनलाई विद्यार्थीको सिकाइ सुधार गर्ने निर्माणात्मक साधनका रूपमा लागु गर्न खोजिए पनि व्यावहारिक कार्यान्वयनमा भने गम्भीर समस्याहरू देखिएका छन्। शिक्षकहरूमा आन्तरिक मूल्याङ्कनका लागि चाहिने विशिष्ट सिपहरू; जस्तै–विभिन्न प्रकारका साधन र मापदण्ड (रुब्रिक्स) निर्माण र प्रयोग गर्ने, हरेक विद्यार्थीको कार्यको अभिलेखीकरण गर्ने र प्राप्त प्रमाणलाई शिक्षण विधिमा सुधार ल्याउन प्रयोग गर्ने प्राविधिक क्षमता अझै सीमित छ भने विशेष गरी धेरै विद्यार्थी संख्या भएका कक्षाकोठामा व्यक्तिगत पृष्ठपोषण दिन असम्भवजस्तै हुन्छ। 

कतिपय शिक्षकहरू आन्तरिक मूल्याङ्कनलाई अतिरिक्त बोझका रूपमा हेर्ने गर्छन् भने कतिपयले यसलाई फाराम भर्ने अर्थहीन कामका रूपमा पनि हेर्छन्। शिक्षक पर्याप्त नभएको अवस्थामा त यसको कार्यान्वयन झनै कठिन बन्न पुग्दछ।

विडम्बना त के छ भने राज्यको निःशुल्क शिक्षाको नीति विपरीत धेरै विद्यालयहरूले परीक्षाका नाममा अभिभावकमाथि आर्थिक भार पर्ने गरी शुल्क लिने प्रचलन कायम राखेका छन्। यसले अभिभावकहरू स्वाभाविक रूपमा आफ्नो लगानीको प्रत्यक्ष प्रमाणका रूपमा केवल अङ्क र श्रेणी (रेंक) लाई मात्र प्राथमिकता दिन्छन्। विद्यालयहरू पनि आफ्नो शुल्कको औचित्य पुष्टि गर्न र समुदायको अपेक्षा पूरा गर्नका लागि वास्तविक सिकाइ सुधारभन्दा अङ्क प्रदर्शनलाई नै बढी महत्त्व दिने गर्छन्। परिणामस्वरूप, आन्तरिक मुल्यांकन सिकाइलाई प्रवर्द्धन गर्ने माध्यम बन्नुको सट्टा नि:शुल्क शिक्षाको मर्म र निर्माणात्मक पद्धतिको मूल उद्देश्यबाट विचलित भई केवल एक औपचारिक कर्मकाण्डमा सीमित हुन पुगेको छ।

नेपालको प्राथमिक तहमा आन्तरिक मूल्याङ्कन कुन हदसम्म उच्च-जोखिमयुक्त परीक्षाका रूपमा रहेको छ भन्ने बारेमा अध्ययन हुनु जरुरी छ। आन्तरिक मूल्याङ्कनबाट साँच्चि नै मनोवैज्ञानिक तनाव उत्पन्न भए या नभएको नहेरी यसलाई बाह्य वा औपचारिक परीक्षाको रूपमा हेर्दै स्थगन गर्न खोज्नुको औचित्य पुष्टि भएको छैन।

शिक्षक जबाफदेहिता र सिकाइ प्रक्रिया
आन्तरिक मूल्याङ्कनले शिक्षा प्रणालीभित्र जबाफदेहिता सुनिश्चित गर्नसमेत महत्त्वपूर्ण भूमिका खेल्छ। यसले विद्यार्थीको सिकाइको निरन्तर प्रमाण प्रदान गर्छ, जसका आधारमा शिक्षक, विद्यालय नेतृत्व र अभिभावकहरूलाई शिक्षण उद्देश्यहरू प्रभावकारी रूपमा पूरा भइरहेका छन् वा छैनन् भनेर वस्तुनिष्ठ लेखाजोखा गर्न सक्छन्। 

यस्तो विश्वसनीय प्रमाणको अभावमा सिकाइका कमीकमजोरीहरू पहिचान गर्न वा शिक्षण अभ्यासको प्रभावकारिता मूल्याङ्कन गर्न गाह्रो हुन्छ। यहाँ जबाफदेहिताको अर्थ निगरानी वा नियन्त्रण मात्र होइन, बरु यो त प्रत्येक बच्चाले सिक्नका लागि आवश्यक सहयोग पाइरहेको छ छैन भन्ने सुनिश्चित गर्नु हो।

दबाबबारे पुनरावलोकन: वास्तविक स्रोत कहाँ छ?
सरकारले गरेको प्रस्ताव एउटा जायज चासोबाट निर्देशित छ: परीक्षाबाट साना विद्यार्थीमा हुने मनोवैज्ञानिक दबाब कम गर्ने। यद्यपि, यो दबाबका स्रोतहरू बीचको भिन्नता बुझ्न आवश्यक छ। दबाब मूल्याङ्कन आफैँबाट आउँदैन, बरु यो मूल्याङ्कन कसरी डिजाइन र प्रयोग गरिन्छ भन्ने कुराबाट आउँछ। वर्ष वा तहको अन्त्यमा हुने उच्च-जोखिमका परीक्षाहरू, जसले विद्यार्थीको कक्षोन्नती वा श्रेणी निर्धारण गर्छन्, तिनीहरूले चिन्ता पैदा गर्ने सम्भावना बढी हुन्छ  र तिनीहरूको जोखिम उच्च रहन्छ। यसको विपरीत, निरन्तर, कम-जोखिमयुक्त र पृष्ठपोषणमुखी मूल्याङ्कनहरूले प्रायः तनाव कम गर्छन्।

जब विद्यार्थीले नियमित र रचनात्मक पृष्ठपोषण (फिडब्याक) प्राप्त गर्छन्, उनीहरूको सम्पूर्ण क्षमता र शैक्षिक भविष्यलाई कुनै एउटै मात्र कार्य वा परीक्षाको साँघुरो घेरामा खुम्च्याएर न्याय गरिँदैन, बरु यसले उनीहरूको क्रमिक र बहुआयामिक विकासको एउटा विस्तृत चित्र प्रस्तुत गर्दछ। यस्तो पद्धतिका कारण कक्षाकोठामा गल्तीहरू, डर, अपमान वा दण्डको स्रोत नभई सिकाइ प्रक्रियाका अनिवार्य र स्वागतयोग्य हिस्साका रूपमा स्थापित हुन पुग्छन्। यसले बालबालिकामा 'गल्ती गर्न डराउने' मानसिकताको अन्त्य गरी नयाँ कुराको खोजी गर्ने र चुनौतीहरू स्विकार्ने सिकाइको संस्कृति  निर्माण गर्न मद्दत गर्दछ।

यसरी आन्तरिक मूल्याङ्कनले सिकाइलाई केवल 'पास' वा 'फेल'को एउटा तनावपूर्ण र अन्तिम क्षणमा सीमित नगरी यसलाई निरन्तर परिमार्जन, सुधार र आत्मबोधको एक जीवन्त यात्रामा रूपान्तरण गरिदिन्छ। जहाँ नतिजाभन्दा सिक्ने प्रक्रिया  महत्त्वपूर्ण हुन्छ, त्यहाँ विद्यार्थीको आत्मविश्वास सुदृढ हुनुका साथै उनीहरूमा आजीवन सिकाइप्रतिको जिज्ञासा र सक्रियता कायमै रहन्छ।

विरोधाभासपूर्ण रूपमा, आन्तरिक मूल्याङ्कन हटाउँदा परीक्षाबाट उत्पन्न हुने दबाब घट्नुको सट्टा झन् बढ्न सक्छ। यदि हामीले कहिलेकाहीँ मात्र हुने उच्च जोखिमका मूल्याङ्कनहरूमा निर्भरता बढायौँ र प्राथमिक तहको अन्त्यमा एकै चोटि 'तहगत अन्तिम परीक्षा'को भार थप्यौँ भने, यसले मानसिक तनावलाई कम होइन, बरु एकै ठाउँमा विस्फोटक रूपमा केन्द्रित गरिदिनेछ। त्यसैले, शिक्षा सुधारको सबैभन्दा प्रभावकारी मार्ग खारेजी होइन, बरु यसको व्यापक पुनर्संरचना हो। यसबाट मूल्याङ्कन प्रणालीलाई निरन्तर, सहयोगी, समावेशी र बाल विकास अनुकूल बनाउँदै सिकाइको वास्तविक गुणस्तर सुनिश्चित गर्ने प्रक्रियाका रूपमा विकास गर्न सकिन्छ।

अभिभावकीय अपेक्षा र परीक्षा संस्कृति
नेपालको शिक्षा प्रणाली यस्तो व्यापक सांस्कृतिक सन्दर्भमा सञ्चालित छ, जहाँ परीक्षाहरूलाई लामो समयदेखि सिकाइको प्राथमिक सूचकका रूपमा हेरिँदै आएको छ। धेरै अभिभावकले मूल्याङ्कनलाई जबाफदेहितासँग जोडेर हेर्छन् र मूल्याङ्कन नहुनुलाई चिन्ताको विषय मान्छन्। यस्तो अवस्थामा, स्पष्ट र विश्वसनीय विकल्पविना आन्तरिक मूल्याङ्कन हटाउँदा अन्योल सिर्जना हुन सक्छ। अभिभावकले सिकाइको अनुगमन भइरहेको छैन वा गुणस्तर खस्कँदैछ भनेर डर मान्न सक्छन्।

सिकाइका लागि र सिकाइकै रूपमा गरिने मूल्याङ्कनले परम्परागत परीक्षाको तनाव हटाउँदै विद्यार्थीको वास्तविक क्षमता प्रस्फुटन गराउने निकास दिन्छन्। यसका लागि पोर्टफोलियो, कक्षा कार्य र विद्यार्थीका चिन्तनहरू जस्ता साधनहरू प्रयोग गरी सिकाइलाई अझ समृद्ध र अर्थपूर्ण तरिकाले दृश्यमान बनाउन सकिन्छ। उदाहरणका लागि, पोर्टफोलियो अन्तर्गत विद्यार्थीले वर्षभरि गरेका उत्कृष्ट चित्रहरू, आफैँले लेखेका कथाहरू, वा कुनै विज्ञान परियोजनाको तस्बिरहरू सङ्कलन गर्न सकिन्छ, जसले एउटा अङ्कभन्दा बढी उसको क्रमिक सुधारको कथा बोल्छ। त्यस्तै, कक्षा कार्यमा विद्यार्थीलाई एउटा समस्या समाधान गर्न समूहमा छलफल गराउने वा अभिनयमार्फत कुनै घटना प्रस्तुत गर्न लगाउने अभ्यासले उनीहरूको सामाजिक र तार्किक सीप झल्काउँछ।

सबैभन्दा महत्त्वपूर्ण कुरा, विद्यार्थीका चिन्तनहरू (रिफ्लेक्सन्स) मार्फत उनीहरूलाई 'मैले आज के नयाँ कुरा सिकेँ?', 'मलाई कुन कुरा बुझ्न गाह्रो भयो?' वा 'मैले यो काम अझ राम्ररी कसरी गर्न सक्थेँ?'जस्ता प्रश्नहरू सोधेर आत्ममूल्याङ्कन गर्न प्रोत्साहित गर्न सकिन्छ। यसले गर्दा अभिभावकले पनि केवल एउटा रिपोर्ट कार्डको नतिजा मात्र नभई, आफ्ना छोराछोरीले कसरी सोच्छन्, कसरी चुनौतीहरूको सामना गर्छन् र उनीहरूको रुचि कुन दिशामा मोडिएको छ भन्ने कुराको गहिरो र सूक्ष्म जानकारी प्राप्त गर्छन्। यसरी मूल्याङ्कन केवल जाँच्ने माध्यम नभई सिकाइलाई नै परिष्कृत गर्ने एक शक्तिशाली प्रक्रिया बन्न पुग्छ। यसका लागि प्रभावकारी सञ्चार आवश्यक हुनेछ। अभिभावकहरूलाई निर्माणात्मक मूल्याङ्कनको उद्देश्य र महत्त्व बुझ्न मद्दत गर्दा परीक्षामुखी सोचबाट टाढा जान सहयोग पुग्नेछ र परीक्षा प्रति विश्वास पनि बढ्नेछ।

विश्वव्यापी प्रमाण
आन्तरिक (निर्माणात्मक) मूल्याङ्कनले विद्यार्थीको सिकाइ उपलब्धिमा गुणात्मक सुधार ल्याउँछ भन्ने तथ्यलाई विभिन्न अध्ययनहरूले बलियो र भरपर्दो प्रमाणका साथ पुष्टि गरेका छन्। विशेष गरी जब यसलाई निर्णय सुनाउने माध्यमभन्दा पनि पृष्ठपोषणको औजारका रूपमा प्रयोग गरिन्छ यसको प्रभावकारिता बढ्छ। पल ब्ल्याक र डिलन विलियमका (१९९८) आधारभूत अनुसन्धानहरूले देखाएका के देखाएका छन् भने समयमै दिइने र विशिष्ट विषयमा केन्द्रित निर्माणात्मक मूल्याङ्कनले सिकाइको स्तरलाई उल्लेख्य रूपमा वृद्धि गर्छ। 

त्यसै गरी, जोन ह्याटीले (२००९) आफ्नो विश्लेषणमा 'पृष्ठपोषण'लाई विद्यार्थीको सफलतामा सबैभन्दा शक्तिशाली प्रभाव पार्ने तत्त्वका रूपमा पहिचान गरेका छन्। यस्ता निष्कर्षहरूलाई ओईसीडी (ओइसीडी ) र युनेस्को (युनेस्को) जस्ता अन्तर्राष्ट्रिय संस्थाहरूले पनि निरन्तर समर्थन गर्दै आएका छन्, जसले कक्षाकोठामा आधारित र कम दबाबपूर्ण (लो-स्टेक्स) मूल्याङ्कनले सिकाइको नतिजा सुधार्न महत्त्वपूर्ण भूमिका खेल्ने कुरामा जोड दिन्छन्। विश्व बैंकले बारम्बार, निरन्तर, र व्यवस्थित मूल्याङ्कनलाई शिक्षा सुधारको आधार मान्छ।

यद्यपि, आन्तरिक मूल्याङ्कनको प्रभाव यसको उपस्थितिले मात्र होइन, बरु यसको उद्देश्य, ढाँचा, र कार्यान्वयनले निर्धारण गर्छ। यसलाई केवल बारम्बार लिइने परीक्षा, श्रेणी विभाजन, वा प्रशासनिक कागजी प्रक्रियामा मात्र सीमित गरिएमा सिकाइमा यसको प्रभाव न्यून हुन्छ। यसको विपरीत, यसलाई अवलोकन, संवाद र निरन्तर पृष्ठपोषणका माध्यमबाट दैनिक शिक्षण प्रक्रियामा समाहित गरिएमा यो सिकाइका रिक्तताहरू पहिचान गर्ने र सुधारका लागि मार्ग प्रशस्त गर्ने एक शक्तिशाली संयन्त्र बन्छ। तसर्थ, उपलब्ध प्रमाणहरूले आन्तरिक मूल्याङ्कनलाई त्याग्नुपर्ने कुराको वकालत गर्दैनन्, बरु यसलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्ने सङ्केत गर्छन्। अर्थात्, यसलाई मापनको प्रणालीबाट सिकाइको अभिन्न प्रक्रियाका रूपमा रूपान्तरण गर्नु आवश्यक छ।

उच्च कार्यसम्पादन भएका शिक्षा प्रणालीहरूको अभ्यासले स्पष्ट रूपमा के देखाउँछ भने शैक्षिक सुधारको सही मार्ग मूल्याङ्कनको खारेजी होइन, बरु यसको वैज्ञानिक परिष्करण र विद्यार्थीमैत्री रूपान्तरण हो। फिनल्यान्ड, सिङ्गापुर र दक्षिण कोरियाजस्ता अग्रणी मुलुकले प्रारम्भिक कक्षाहरूमा उच्च-दबाबयुक्त र प्रतिस्पर्धात्मक परीक्षाहरूलाई न्यून वा अन्त्य गरेका छन्, तर उनीहरूले आन्तरिक मूल्याङ्कनलाई भने शिक्षण-सिकाइ प्रक्रियाको एक अविभाज्य र सक्रिय मेरुदण्डका रूपमा अझ सुदृढ बनाएका छन्।

ती प्रणालीहरूमा शिक्षकहरूले केवल अङ्क प्रदान गर्नका लागि होइन, बरु विद्यार्थीको सिकाइको गहिराइ बुझ्नका लागि नियमित अवलोकन, पोर्टफोलियो, परियोजना कार्य र विस्तृत वर्णनात्मक प्रतिक्रिया जस्ता विविध साधनहरूको प्रयोग गर्छन्, जसले बालबालिकामा असफलताको डर पैदा गर्नुको सट्टा उनीहरूको आत्मविश्वास र सिकाइप्रतिको सक्रिय संलग्नतालाई थप ऊर्जा प्रदान गर्छ।

त्यसैले, अन्तर्राष्ट्रिय अभ्यासबाट प्राप्त पाठले के भन्छ भने प्रारम्भिक तहमा औपचारिक, त्रासदीपूर्ण परीक्षाको भार घटाउनु निश्चय नै एउटा सकारात्मक कदम हुन सक्छ, तर आन्तरिक मूल्याङ्कनजस्तो महत्त्वपूर्ण निदानात्मक संयन्त्र नै हटाउनु शिक्षण सुधारको मूल मर्म विपरीत जानु हो। साँचो शैक्षिक रूपान्तरण त मूल्याङ्कनलाई बोझिलो परीक्षाका रूपमा होइन, बरु प्रत्येक विद्यार्थीको अद्वितीय क्षमता पहिचान गर्ने र उनीहरूको व्यक्तिगत सिकाइ आवश्यकता अनुसार शिक्षण विधिलाई अनुकूल बनाउने एक गतिशील उपकरणका रूपमा विकास गर्दा मात्र सम्भव हुन्छ। धेरै देशहरूमा मूल्याङ्कन शिक्षकको पेसागत स्वायत्तता र मूल दायित्वको हिस्सा मानिन्छ, र त्यसैले यसमा प्रमाण बिनाका राजनीतिक वा प्रशासनिक हस्तक्षेप उपयुक्त ठानिँदैन।

यसले शिक्षकहरूलाई व्यक्तिगत शिक्षण प्रदान गर्न, सिकाइ कठिनाइ भएका सिकारुहरूलाई सहयोग गर्न र आत्मनियमनको बानी विकास गर्न मद्दत गर्दछ। औपचारिक परीक्षाको अभाव हुनुको अर्थ मूल्याङ्कनको अभाव हुनु होइन। यसको विपरीत, आन्तरिक मूल्याङ्कन नै प्रारम्भिक तहको शिक्षण पद्धतिको मेरुदण्ड हो। यसलाई हटाउनाले नेपाल विश्वव्यापी उत्कृष्ट अभ्यासहरूबाट पछि पर्नेछ र आधारभूत सिकाइलाई सुदृढ गर्ने प्रयासहरू कमजोर हुनेछन्।

भारतको 'नो-डिटेन्सन नीति'बाट पाठ
छिमेकी मुलुक भारतले सन् २००९ मा 'शिक्षाको अधिकार ऐन' (आरटीइ) अन्तर्गत कक्षा ८ सम्म लागू गरेको नो-डिटेन्सन (अनुत्तीर्ण नगर्ने) नीति नेपालका लागि एउटा जीवन्त र चुनौतीपूर्ण पाठ हुन सक्छ। भारतमा डर कम गर्ने र समावेशीकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यले ल्याइएको यो नीतिलाई व्यापक रूपमा मूल्याङ्कन अभ्यासको खुकुलोपनका रूपमा व्याख्या गरियो। बालबालिकालाई परीक्षाको तनावबाट मुक्त गराउने र विद्यालयमा टिकाउने अत्यन्तै सकारात्मक उद्देश्यका साथ ल्याइएको उक्त नीतिले अन्ततः सोचेभन्दा उल्टो र भयावह नतिजा निम्त्यायो। 

विभिन्न राष्ट्रिय सर्वेक्षणहरू (जस्तै: एएसइआर रिपोर्ट, २०२४) ले वर्षौँपछि के उजागर गरे भने कक्षा ८ मा पुगेका ठुलो संख्याका विद्यार्थीले कक्षा २ को सामान्य पाठसमेत पढ्न सकिरहेका थिएनन्। यसको मुख्य कारण मूल्याङ्कनको प्रभावकारी र सुदृढ संयन्त्रको अभावमा शिक्षकको जबाफदेहिता कमजोर हुनु र विद्यार्थीको सिकाइको वास्तविक स्तर मुल्यांकन गर्ने प्रणाली नै हराउनु थियो, जसका कारण सन् २०१९ मा भारत आफ्नो नीति संशोधन गर्दै पुनः कक्षोन्नतीसँग जोडिएको मूल्याङ्कन प्रक्रियामा फर्कन बाध्य भयो। भारतको राष्ट्रिय शिक्षा नीति (एनइपी, २०२० को पूर्ण कार्यान्वयनका क्रममा धेरै राज्यहरूले कक्षा ५ र ८ का लागि औपचारिक वार्षिक परीक्षा र अनुत्तीर्ण गर्ने व्यवस्थालाई पूर्ण रूपमा अनिवार्य बनाएका छन्। 

यसका अतिरिक्त प्राथमिक तहमा परम्परागत अङ्ककेन्द्रित प्रणालीलाई विस्थापित गर्दै 'सिकाइका लागि मूल्याङ्कन'को अवधारणालाई विशेष जोड दिइएको  छ। यस नीतिले विद्यार्थीको संज्ञानात्मक, भावनात्मक र मनोक्रियात्मक विकासलाई मापन गर्न 'होलिस्टिक प्रोग्रेस कार्ड' (३६ डिग्री रिपोर्टिङ) को प्रस्ताव गरेको छ, जसमा शिक्षकको अवलोकनका साथै विद्यार्थीको स्वमूल्याङ्कन र साथीहरूद्वारा गरिने मूल्याङ्कनलाई समेत समावेश गरिएको छ। विशेष गरी प्रारम्भिक कक्षाहरूमा परीक्षाको डर हटाउन खेल र गतिविधिमा आधारित निरन्तर मूल्याङ्कनलाई प्राथमिकता दिइएको छ, जसको मुख्य उद्देश्य विद्यार्थीलाई श्रेणीबद्ध गर्नु नभई उनीहरूको सिकाइमा रहेका रिक्तताहरू पहिचान गरी तत्काल सुधारात्मक सहयोग (पृष्ठपोषण) प्रदान गर्नु हो। 

यसरी भारतले आफ्नो नयाँ शैक्षिक ढाँचामार्फत आन्तरिक मूल्याङ्कनलाई एउटा छुट्टै घटनाका रूपमा नभई दैनिक शिक्षण सिकाइ प्रक्रियाकै एक अभिन्न र गतिशील हिस्साका रूपमा स्थापित गर्न खोजेको देखिन्छ। भारतको अनुभवले के सिकाउँछ भने निरन्तर र जबाफदेही आन्तरिक मूल्याङ्कन विना सिकाइ दिगो हुन सक्दैन। र आन्तरिक  साथसाथै बाह्य मुल्यांकन पनि सिकाइ तथा प्रणाली सुधारका लागि आवश्यक हुन्छ। नेपालले हाल अघि सारेको आन्तरिक मूल्याङ्कन खारेजीको प्रस्ताव सँगसँगै वैकल्पिक व्यवस्था गर्ने भनिएको छ। आन्तरिक मूल्याङ्कनको वैकल्पिक व्यवस्था नै आन्तरिक मुल्यांकन हो। 

तर प्राथमिक तहमा विद्यार्थीको सिकाइलाई मापन गर्ने र सुधार गर्ने कुनै पनि वैज्ञानिक संयन्त्र बाँकी रहेन भने कक्षा ६ मा पुग्दा हाम्रा बालबालिकाहरूको सिकाइको अवस्था कति दयनीय होला? यो केवल एउटा शैक्षिक प्रश्न मात्र होइन, बरु नेपालको भविष्यको जनशक्तिमाथि नै उठ्ने गम्भीर प्रश्न हो। कुनै पनि वैकल्पिक र सुदृढ अनुगमन संयन्त्र विना मूल्याङ्कनलाई पूर्ण रूपमा हटाउनु भनेको बालबालिकालाई 'तनावमुक्त' बनाउने नाममा उनीहरूलाई 'सिकाइमुक्त' बनाउने जोखिम मोल्नु हो।

निष्कर्ष
प्राथमिक तहका विद्यार्थीका लागि आन्तरिक मूल्याङ्कन खारेज गर्ने प्रस्तावले बालबालिकाको हितप्रति प्रशंसनीय चासो देखाएको छ। यो एक क्रान्तिकारी कदम पनि हुन सक्छ,तर नेपालको वर्तमान शैक्षिक अवस्था, संस्कृति, शिक्षकको व्यावसायिक क्षमता, शैक्षिक स्रोतहरूको उपलब्धता आदिलाई हेर्दा यो जोखिमपूर्ण हुन सक्छ। 

आन्तरिक मूल्याङ्कन बन्द गर्ने प्रस्तावले यसको वास्तविक उद्देश्यलाई गलत रूपमा बुझेको भान हुन्छ र यसले नेपालको शिक्षा प्रणालीको जगलाई नै कमजोर बनाउने जोखिम निम्त्याएको छ। आन्तरिक मूल्याङ्कन शिक्षणको अभिन्न अङ्ग, जबाफदेहिताका लागि आवश्यक र विद्यार्थीको विकासका लागि केन्द्रीय तत्त्व हो। अन्तर्राष्ट्रिय प्रमाण र क्षेत्रीय अनुभवले यही देखाउँछ कि बलियो विकल्प विना यसलाई हटाउँदा सिकाइ उपलब्धिमा गिरावट आउँछ र शिक्षणको गुणस्तर कमजोर हुन्छ।

नेपालले आन्तरिक मूल्याङ्कनलाई पूर्ण रूपमा हटाउनुको सट्टा यसलाई थप सहयोगी, समावेशी र बाल विकास अनुकूल बनाउन सुधारमा ध्यान केन्द्रित गर्नुपर्छ। तनावमुक्त सिकाइ र सुदृढ शैक्षिक नतिजा दुवै प्राप्त गर्ने बाटो भनेको आन्तरिक मूल्याङ्कनको खारेजी होइन, बरु यसको सुदृढीकरण हो। शैक्षिक सुधार भनेको 'आयो गयो' गर्ने कुनै चक्रीय खेल हुनुहुँदैन। प्रमाणमा आधारित, शिक्षण पद्धतिद्वारा निर्देशित र नेपालका बालबालिकाको दीर्घकालीन हितका लागि प्रतिबद्ध हुनुपर्छ यो।

(विस्ट त्रिभुवन विश्वविद्यालयका पूर्व प्राध्यापक तथा युनेस्कोका शिक्षाविद् हुन्। उकालोको विचार खण्डमा छापिने सामग्री लेखकका निजी हुन्।)