भूमिगत राजनीति र संविधानसभा सदस्यको कार्यकाल पूरा गरी जन्मथलो फर्किएका गमबहादुर श्रीसले म्याग्दीको बरम्जामा व्यावसायिक कृषि र पशुपालन गरिरहेका छन्।
म्याग्दी– म्याग्दीको मंगला गाउँपालिका–३ बरम्जामा संविधानसभा सदस्य गमबहादुर श्रीसले कृषि उद्यम सञ्चालन गरेका छन्।
तत्कालीन नेकपा (माओवादी)ले सञ्चालन गरेको ‘जनयुद्ध’मा भूमिगत भएका श्रीस विसं २०६३ को अन्तरिम संसद् र २०६४ देखि २०७० सम्म संविधानसभा सदस्य रहेका थिए। उनले राजनीतिसँगै कृषि र उद्यमलाई निरन्तरता दिएका हुन्।
संविधानसभा सदस्यको कार्यकाल पूरा गरेपछि जन्मथलो फर्किएका उनले ‘श्रीस कृषि तथा पशुपक्षी फार्म’ स्थापना गरेर बाख्रापालन र सुन्तला खेती शुरू गरेका छन्। मध्यमवर्गीय पृष्ठभूमिका श्रीसले आत्मनिर्भरता र जीविकोपार्जनका लागि यो व्यवसाय रोजेको बताए।
दुईवटा बाख्रा र एक लाख रुपैयाँ लगानीबाट शुरू भएको उनको फार्ममा हाल ३० वटा बाख्रा छन्। उनले वार्षिक १५ देखि २० वटा खसीबोका बिक्री गर्छन्। परम्परागत खाद्यान्न खेतीको विकल्पमा उनले बारीमा लगाएका ३५० बोट सुन्तलाले अहिले उत्पादन दिन थालेका छन्।
“नागरिकको अवस्था सुधार, आर्थिक–सामाजिक रूपान्तरण र रोजगारी सिर्जनाका लागि कृषिमा आधारित उद्यमशीलता नै प्रमुख आधार हो,” उनले भने, “पहाडी क्षेत्रमा आत्मनिर्भर र स्वरोजगारका लागि बाख्रापालन र सुन्तला खेतीको सम्भावना देखाउन म आफैँ अग्रसर भएको हुँ।”
उनले खरी र जमुनापारि जातका बाख्रा पालेका छन्। केही समय खाद्यान्न पसलको डिलर सञ्चालन गरेका श्रीसले शुरूमा ताराखोलाबाट ल्याएका बाख्रा हावापानी नमिलेर मर्दा क्षति बेहोर्नु परे पनि निराश नभई व्यवसायलाई निरन्तरता दिएको सुनाए।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सहयोगमा उनले आधुनिक र व्यवस्थित खोर निर्माण गरेका छन्। श्रीसकै अगुवाइमा ‘नमुना कृषक समूह’ मार्फत बरम्जाका १५ घरपरिवार किसानले व्यावसायिक बाख्रापालन शुरू गरेका छन्। यहाँका किसानले बाख्रा र सुन्तलाका अतिरिक्त गाईभैँसी पालेर दूध उत्पादन गरी तातोपानी र बेनी बजारमा बिक्री गर्दै आएका छन्।
श्रीसले खाली जमिनमा बाख्राका लागि आवश्यक घाँस खेतीसमेत गरेका छन्। उनलाई सुन्तला खेती विस्तार, बगैँचा सुदृढीकरण र सिँचाइका लागि राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना र कृषि विकास कार्यालयले सहयोग गरेका छन्।
बिहान–बेलुकी र फुर्सदको समयमा कृषि कर्ममा व्यस्त हुने श्रीस स्थानीय सामाजिक गतिविधिमा पनि संलग्न छन्। हाल नेकपाका केन्द्रीय सदस्य रहेका उनले राजनीतिसँगै कृषि उद्यमलाई अझ विस्तार गर्ने योजना बनाएका छन्।
माहुरीपालनको समेत तयारीमा रहेका श्रीसलाई श्रीमती विष्णुमती, छोरा र परिवारका सदस्यहरूले साथ दिएका छन्। विद्यार्थी कालदेखि नै माओवादीमा आबद्ध श्रीस २०५८ सालदेखि भूमिगत भएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
