लेबनान युद्धविरामको ‘अविभाज्य भाग’ : इरानी सभामुख

इरान र अमेरिकाबीच भएको दुईहप्ते युद्धविराममा लेबनान पनि समावेश रहेको इरानी पक्षले दाबी गरे पनि अमेरिकाले भने त्यसलाई अस्वीकार गरेको छ।

फाइल तस्वीर

लेबनान अमेरिकासँग लागू गरिएको दुई हप्ताको युद्धविरामको एक महत्त्वपूर्ण हिस्सा भएको इरानको संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफले बिहीबार बताएका छन्।

उनले सहमतिको उल्लंघनले गम्भीर परिणाम निम्त्याउने चेतावनीसमेत दिएका छन्। “इरानको सहयोगीका रूपमा रहेका लेबनान र सम्पूर्ण प्रतिरोधी गठबन्धन युद्धविरामको एक अविभाज्य हिस्सा हो,” सभामुख गालिबाफले एक्समा लेखेका छन्।

लेबनानमा इजरायलले गरेको आक्रमणमा २०० भन्दा बढी व्यक्तिको मृत्यु भएको भोलिपल्ट गालिबाफले यस्तो चेतावनी दिएका हुन्। उनले अगाडि भनेका छन्, “युद्धविरामको उल्लंघन महँगो साबित हुनेछ र यसले कडा प्रतिक्रिया निम्त्याउने छ।”

युद्धविराममा सहमति भएदेखि तेहरान र वासिङ्टनले लेबनान यसमा समावेश छ कि छैन भन्नेबारे फरक-फरक दाबी गर्दै आएका छन्। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायली सेनाले लेबनानी सशस्त्र समूह हेजबुल्लाहलाई ‘जहाँ आवश्यक छ’ त्यहाँ आक्रमण गर्ने बताएका छन्।

बुधबार साँझ अमेरिकी उपराष्ट्रपति जेडी भान्सले यसलाई ‘वैध गलत बुझाइ’को संज्ञा दिएका थिए। “मलाई लाग्छ, इरानीहरूले युद्धविराममा लेबनान पनि समावेश छ भन्ने सोचेका थिए, तर त्यसो भएन। हामीले त्यो वाचा कहिल्यै गरेका छैनौँ,” हंगेरीको भ्रमणपछि उनले भने, “लेबनानमा इरानको कुनै सम्बन्ध छैन। यदि इरान यो वार्ता भङ्ग गर्न चाहन्छ भने, त्यो उनीहरूको छनोट हो।”

यद्यपि, इरानी अधिकारीहरूले युद्धविराममा लेबनानलाई पनि समावेश गर्न जोड दिँदै आएका छन्। उनीहरूले मध्यस्थकर्ता पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफको बयानलाई आधार मानेका छन्। सरिफले सामाजिक सञ्जालमा लेखेका थिए, “इरान र अमेरिका तथा उनीहरूका सहयोगी राष्ट्रहरूले लेबनान र अन्य सबै स्थानमा तत्काल युद्धविरामका लागि सहमति जनाएका छन्। मलाई यो जानकारी गराउँदा खुशी लागेको छ।”

बिहीबार सभामुख गालिबाफले पाकिस्तानी नेता सरिफले लेबनानको मुद्दालाई सार्वजनिक र स्पष्ट रूपमा राखेको उल्लेख गर्दै भने, “अब त्यहाँ अस्वीकार गर्ने वा पछाडि हट्ने कुनै ठाउँ छैन।”