जाजरकोटमा ग्यास लिक भई आगलागी, ३ घाइतेलाई हेलिकोप्टरमार्फत नेपालगन्ज पठाइयो

जाजरकोटको नलगाडमा खाना पकाउने ग्यास लिक भएर भएको आगलागीमा परी घाइते भएका एकै परिवारका तीन जनालाई थप उपचारका लागि सेनाको हेलिकोप्टरमार्फत नेपालगन्ज लगिएको छ।

सुर्खेत- जाजरकोटमा खाना पकाउने ग्यास सिलिन्डर लिक हुँदा घाइते भएका तीन जनालाई उपचारका लागि नेपालगन्ज पठाइएको छ।

आइतबार बिहान खाना पकाउने ग्यास लिक हुँदा नलगाड नगरपालिका–२ का थालुप्रसाद जैसीकी श्रीमती, छोरा र साली घाइते भएका हुन्। भान्सामा ग्यास बाल्न खोज्दा भएको आगजनीमा उनीहरू घाइते भएका हुन्।

भान्सा कोठामा लाइटरले आगो बाल्ने क्रममा अचानक आगलागी भएको र आगलागीमा परी थालुप्रसाद जैसीकी श्रीमती माया, उनका २२ वर्षीय छोरा गणेश र मायाकी ३७ वर्षीया बहिनी रुपा जैसी घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक एकबहादुर नेपालीले जानकारी दिए।

घाइतेहरूलाई नलगाड नगर अस्पतालमा प्राथमिक उपचार गरिएपछि नेपाली सेनाको हेलिकोप्टरबाट थप उपचारका लागि नेपालगन्ज पठाइएको हो। घाइतेमध्ये दुई जना महिलाको अवस्था गम्भीर रहेको नगर अस्पतालका प्रमुख डा. विशाल उप्रेतीले जानकारी दिए। प्राथमिक उपचारपछि थप उपचारका लागि उनीहरूलाई रेफर गरिएको उनले बताए।