अम्पायरलक्षित टिप्पणी गरेपछि क्रिकेटर करण केसीलाई क्यानको कारबाही

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताका क्रममा अम्पायरप्रति टिप्पणी गरेको भन्दै क्यानले राष्ट्रिय टोलीका खेलाडी करण केसीलाई एक खेलको प्रतिबन्ध र म्याच शुल्कमा शतप्रतिशत जरिबाना गरेको छ।

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टोलीका खेलाडी करण केसीलाई खेल भावना विपरीत व्यवहार गरेको भन्दै कारबाही गरेको छ। 

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०८२ अन्तर्गतका खेलहरूका क्रममा नेपाल पुलिस क्लबका खेलाडी केसीले सामाजिक सञ्जालमार्फत अम्पायरहरूप्रति आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै संघले उक्त निर्णय लिएको हो।

सामाजिक सञ्जालमा अम्पायरप्रति टिप्पणी गरेकाले कारबाही स्वरूप उनलाई प्रधानमन्त्री कपको एक खेलमा प्रतिबन्ध लगाइएको छ भने म्याच शुल्कको १०० प्रतिशत जरिबाना गरिएको क्यानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

केसीको अभिव्यक्ति खेल भावना अनुकूल नभएको र यसले क्रिकेटको गरिमामा आँच पुर्‍याएको संघको ठहर छ। क्यानका प्रवक्ता छुम्बी लामाद्वारा जारी प्रेस विज्ञप्तिमा सम्बन्धित सरोकारवालाहरूसँगको समन्वयपछि यो निर्णय गरिएको उल्लेख छ। खेलका क्रममा अनुशासन पालना गराउन र खेल भावना कायम राख्न यस्तो कदम चालिएको विज्ञप्तिमा जनाइएको छ।