बागमतीको पुँजीगत खर्च नौ महिनामा २३ प्रतिशत मात्र

बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको नौ महिना बितिसक्दा कुल बजेटको २८.७९ प्रतिशत मात्र खर्च गरेको छ, जसमा पुँजीगततर्फको हिस्सा झनै न्यून देखिएको छ ।

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिनामा २३.०९ प्रतिशत मात्र पुँजीगत खर्च गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार सरकारले साउनदेखि चैतसम्ममा कुल बजेटको २८.७९ प्रतिशत खर्च गरेको हो।

मन्त्रालयका अधिकृत इन्द्रराज सञ्ज्यालका अनुसार यस अवधिमा प्रदेश सरकारले चालुतर्फ ३७.८६ प्रतिशत र पुँजीगततर्फ २३.०९ प्रतिशत बजेट खर्च गरेको छ।

चालु आर्थिक वर्ष २०८२/८३ का लागि प्रदेश सरकारले ६७ अर्ब ४७ करोड ७३ लाख २७ रुपैयाँ हजारको बजेट विनियोजन गरेको थियो। जसमध्ये नौ महिनाको अवधिमा १९ अर्ब ४२ करोड ५७ लाख ८६ हजार रुपैयाँ खर्च भएको उनले जानकारी दिए।

मन्त्रालयका अनुसार विनियोजित बजेटमध्ये प्रदेश लोकसेवा आयोगले ४७.६९ प्रतिशत, स्वास्थ्य मन्त्रालयले ४५.१८ प्रतिशत, श्रम रोजगार तथा यातायात मन्त्रालयले ४४.७९ प्रतिशत, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ४३.१२ प्रतिशत, प्रदेशसभा सचिवालयले ४२.७१ प्रतिशत र मुख्य न्यायाधिवक्ताको कार्यालयले ३८.१५ प्रतिशत बजेट खर्च गरेका छन्। सबैभन्दा कम संस्कृति तथा पर्यटन मन्त्रालयले १४.०१ प्रतिशत मात्र बजेट खर्च गरेको छ।

गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका कारण प्रदेश सरकारका संरचनाहरू क्षतिग्रस्त भएको, निकायहरूले प्रभावकारी रूपमा काम गर्न नसकेको र बजेट कार्यान्वयनमा बाधा पुगेकाले खर्च कम देखिएको अधिकृत सञ्ज्यालले बताए।