संसदीय समितिका नवनिर्वाचित सभापति लिए शपथ

प्रतिनिधिसभाका १० र दुई संयुक्त समितिका नवनिर्वाचित सभापतिहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।

काठमाडौँ– प्रतिनिधिसभाका १० र दुई संयुक्त समितिका नवनिर्वाचित सभापतिहरूले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन्। सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा आयोजित कार्यक्रममा प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालसमक्ष उनीहरूले शपथ लिएका हुन्।

शपथ समारोहमा उपसभामुख रुवीकुमारी ठाकुर, कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम, राष्ट्रियसभाका उपाध्यक्ष लीलाकुमारी भण्डारी र विभिन्न राजनीतिक दलका पदाधिकारीहरूको उपस्थिति थियो।

नवनिर्वाचित सभापतिहरूमा अर्थ समितिमा डा. कृष्णहरि बुढाथोकी, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सुम्निमा उदास, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रहवर अन्सारी, र कानून, न्याय तथा मानवअधिकार समितिमा समीक्षा बास्कोटा रहेका छन्। यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकाल र सार्वजनिक लेखा समितिमा भरतबहादुर खड्का निर्वाचित भएका छन्।

यसैगरी, महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थी, पूर्वाधार विकास समितिमा आशिष गजुरेल र कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा अशोक चौधरी निर्वाचित भएका छन्। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा डा. ओजस्वी शेरचन, संसदीय सुनुवाइ समितिमा बोधनारायण श्रेष्ठ र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा गणेश कार्की चयन भएका छन्।

शिक्षा समिति र राज्यका निर्देशक समितिमा दुई–दुई जनाको उम्मेदवारी परेपछि ध्वनि मतका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार निर्वाचित भएका हुन्। निर्वाचित १२ सभापतिमध्ये ११ जना रास्वपाका सांसद हुन् भने लेखा समितिको सभापतिमा प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट खड्का चयन भएका छन्। नवनिर्वाचित सभापतिहरूले शुक्रबार नै आफ्नो समितिको कार्यालयमा पदबहालीसमेत गरेका छन्।