प्रधानमन्त्री कप क्रिकेटको उपाधि आर्मीलाई

वीरगन्जको नारायणी रंगशालामा भएको फाइनलमा सुदूरपश्चिमलाई ५ विकेटले हराउँदै त्रिभुवन आर्मीले प्रधानमन्त्री कप पुरुष क्रिकेटको उपाधि जितेको छ।

वीरगन्ज– प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ। शुक्रबार वीरगन्जको नारायणी रंगशालामा भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई पाँच विकेटले पराजित गर्दै उपाधि रक्षा गरेको हो।

फाइनलमा पहिले ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेश ३९.४ ओभरमा सबै विकेट गुमाउँदै १६१ रनमा सीमित भयो। सुदूरपश्चिमका लागि अशोक धामीले ४६ बलमा ४३ रन र किरण ठगुन्नाले ४२ बलमा ३५ रन जोडे। यस्तै, नारायण जोशीले २९ रनको योगदान दिए। बलिङतर्फ त्रिभुवन आर्मी क्लबका आकाश चन्द र शाहब आलमले समान तीन–तीन विकेट लिए।

१६२ रनको लक्ष्य पछ्याएको त्रिभुवन आर्मी क्लबले ३४.३ ओभरमा ५ विकेट गुमाउँदै १६४ रन जोडेर जित सुनिश्चित गर्‍यो। आर्मीका लागि इमरान शेखले ४६ रन र बसिर अहमदले ४५ रन बनाए। सुदूरपश्चिमका हेमन्त धामीले दुई र अशोक धामीले एक विकेट लिए।

आजको खेलमा आर्मीका बसिर अहमद 'प्लेयर अफ दी म्याच' घोषित हुँदै नगद पाँच हजार रुपैयाँ पुरस्कार पाए। प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका लुम्बिनी प्रदेशका सन्तोष यादव 'प्लेयर अफ दी टुर्नामेन्ट' बने। उनले प्रतियोगिताभर २६५ रन बनाउनुका साथै २१ विकेट लिएका थिए।

यस्तै, सुदूरपश्चिमका हेमन्त धामी 'बेस्ट बलर' र गण्डकी प्रदेशका अर्जुन कुमाल 'बेस्ट ब्याटर' चुनिए। धामीले २५ विकेट लिएका थिए भने कुमालले ५०४ रन जोडेका थिए। मधेश प्रदेशका आशिक बैठा 'इमर्जिङ प्लेयर' घोषित भए।

विजेता टोली आर्मीले १० लाख रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्‍यो भने उपविजेता सुदूरपश्चिमले ५ लाख रुपैयाँमा चित्त बुझायो। प्रतियोगितामा तीन विभागीय र सात प्रदेशका गरी कुल १० टोलीको सहभागिता थियो।