रास्वपाको जिल्ला अधिवेशन वैशाख १५ देखि, प्रवास विभाग प्रमुखमा बोहरा

रास्वपाले आगामी वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन शुरू गर्ने निर्णय गरेको छ। साथै, पार्टीले प्रवास विभाग प्रमुखको जिम्मेवारी सांसद दीपक बोहरालाई दिएको छ।

काठमाडौँ– रास्वपाको केन्द्रीय सचिवालय बैठकले आगामी २०८३ वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन शुरू गर्ने निर्णय गरेको छ। आइतबार बसेको बैठकले उक्त निर्णय गरेको हो।

रास्वपाका प्रवक्ता मनिष झाले प्रत्यक्ष निर्वाचित सांसद नभएका निर्वाचन क्षेत्रमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरूलाई जिम्मेवारी तोक्ने निर्णय पनि भएको जानकारी दिए। जिल्ला र निर्वाचन क्षेत्रसहितको सूची सोमबार बस्ने केन्द्रीय समिति बैठकबाट पारित गरिनेछ।

त्यस्तै, रास्वपाको प्रवास विभाग प्रमुखमा केन्द्रीय सचिवालय सदस्य तथा सांसद दीपक बोहरालाई नियुक्त गरिएको छ। यसअघि सो विभागको जिम्मेवारी उपसभापति डीपी अर्यालसँग थियो। अर्याल सभामुखमा निर्वाचित भएपछि उक्त पद रिक्त रहेको थियो।