वर्षाले रोकियो नेपाल–यूएईबीचको खेल

वर्षाका कारण कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल र युएईबीच जारी टी–२० खेल रोकिएको छ।

काठमाडौँ– वर्षाका कारण कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल र युएईबीच जारी टी–२० खेल रोकिएको छ। खेलको १९औँ ओभर चलिरहेका बेला वर्षा सुरु भएपछि खेल स्थगित गर्नुपरेको हो।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १८ ओभर ५ बलको समाप्तिमा ८ विकेट गुमाएर १२२ रन जोडेको थियो। कप्तान दीपेन्द्रसिंह ऐरी नेतृत्वको नेपाली टोलीले मध्यम सुरुवात गरे पनि त्यसलाई निरन्तरता दिन नसक्दा अन्त्यतिर लगातार विकेट गुमाएको थियो।

लामो समयपछि हुन लागेको यो नेपाल र युएईबीचको टी–२० भिडन्त हो। सन् २०२५ अक्टोबरपछिको पहिलो भेट भएकाले यस खेललाई दुवै टोलीका लागि महत्त्वपूर्ण पुनरागमनको रूपमा हेरिएको थियो। यसअघि ओमानमा सम्पन्न टी–२० विश्वकप छनोटमा नेपालले युएईलाई १ रनले पराजित गरेको थियो। सन् २०२३ यता भएका पछिल्ला पाँच भेटमा नेपालले तीन र युएईले दुई खेलमा जित हासिल गरेका छन्।