२ अर्ब ४४ करोड अपचलन प्रकरण: सहकारी अध्यक्ष पाठक पक्राउ

ललितपुरको लगनखेलस्थित गतिशील बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा राष्ट्रिय वाणिज्य बैङ्कका पूर्वअध्यक्ष डा. बलराम पाठक पक्राउ परेका छन्।

काठमाडौँ– ललितपुरको लगनखेलस्थित गतिशील बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा राष्ट्रिय वाणिज्य बैंकका पूर्वअध्यक्ष डा. बलराम पाठक पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर ललितपुरले उनलाई आइतबार पक्राउ गरेको हो। 

परिसर प्रमुख एसएसपी होविन्द्र बोगटीका अनुसार गतिशील सहकारीबाट पीडितको संख्या ठूलो छ। पीडितकै जाहेरीका आधारमा पक्राउ परेका पाठक र उनी जोडिएको सहकारी ठगीबारे अनुसन्धान जारी छ। “पीडितको संख्या ठूलो छ। म्याद थप गरेर अनुसन्धान भइरहेको छ,” उनले भने।

पहुँचका भरमा सर्वसाधारणको २ अर्ब ४४ करोड रुपैयाँभन्दा बढी रकम पाठक समूहले सहकारीबाट अपचलन गरेको विषयमा २०८२ चैत १२ गते खोज पत्रकारिता केन्द्रका लागि तयार पारिएको रिपोर्ट उकालोमा प्रकाशित भएको थियो।

सर्वसाधारणको बचत होटल, जग्गालगायत व्यवसाय र कारोबारमा लगानी गर्न आफन्त र व्यापारिक साझेदारलाई दिएर अपचलन गरेको फेहरिस्त रिपोर्टमा उल्लेख थियो। प्रहरीका अनुसार सहकारीको बचत अपचलनमा जोडिएका अरू सञ्चालकहरूमाथि पनि अनुसन्धान भइरहेको छ।