नेता उत्पादन कारखाना बनाएर हामीले उठाइरहेको जोखिम

शिक्षाको राजनीतिकरणलाई शैक्षिक समस्या मात्र ठान्नु गम्भीर भूल हुनेछ। सहिष्णुता सिकाउनुपर्ने शिक्षाले कट्टरता जन्माउँदा त्यो सोचमा हुर्किएका युवा भोलि सामाजिक द्वन्द्वका इन्धन बन्छन्।

यतिबेला विश्वविद्यालयहरूमा विद्यार्थी संगठनहरूलाई निषेध गर्ने भन्ने विषय चर्चामा छ। विद्यार्थी संगठनहरूलाई राजनीतिक दलका भातृ संगठनका रूपमा अर्थ्याउँदै सरकार विश्वविद्यालयहरूलाई विद्यार्थी संगठनमुक्त बनाउन कसम खाएर लागे झैँ प्रतीत हुन्छ। यसै साता विभिन्न विश्वविद्यालयका उपकुलपतिहरूसँग गरेको छलफलमा प्रधानमन्त्रीले यही कुरा उठाएको चर्चा प्रधानमन्त्रीको सचिवालयबाट बाहिर आएको छ।

यहाँ विश्वविद्यालयको कुरा अगाडि सारेर सरकारले विद्यार्थी संगठनमाथि बन्देज लगाउन गरिरहेको प्रयत्न ठिक या बेठिक के हो भन्ने चर्चा गर्न खोजिएको होइन। अनि विश्वविद्यालयको बर्बादीका कारण विद्यार्थी संगठन नै हुन् र उनीहरूलाई बन्देज लगाउनसाथ विश्वविद्यालय शिक्षा सुधार भइहाल्छ भन्ने निष्कर्ष पनि निकाल्न खोजिएको होइन। बरु विश्वविद्यालयको अवस्थालाई मिहिनसँग केलाउने प्रयास हो।

राजनीतिकरणको कुरूप चित्र

नेपालका राजनीतिक दलहरूले विश्वविद्यालय र शिक्षण संस्थाहरूलाई शिक्षा अर्थात् ज्ञान उत्पादन गर्ने थलो होइन, बरु सत्ताकेन्द्रित फोहोरी राजनीतिको भर्‍याङ बनाएको देखिन्छ। विद्यालय, क्याम्पस र विश्वविद्यालयहरू ज्ञान उत्पादन र बौद्धिक विमर्शका केन्द्र हुनुपर्ने हो। बिडम्बना चाहिँ ती सबै दलगत झन्डा गाड्ने मैदान, क्याडर (कार्यकर्ता) उत्पादन गर्ने कारखाना र भावी सत्ताधारीको तालिम केन्द्रमा रूपान्तरण भइरहेका छन्। 

शिक्षा क्षेत्रलाई जानेर हो या नजानेर, व्यवस्थित रूपमा राजनीतिक नेता उत्पादन गर्ने भूमि बनाइएको छ। यसको असर केवल कक्षा कोठासम्म सीमित छैन, बरु यसले समाजको नैतिक आधार, राज्यको संस्थागत शक्ति र राष्ट्रिय सुरक्षामाथि नै गहिरो संकट निम्त्याइरहेको छ। यो संकट आकस्मिक होइन। यो त राजनीतिक स्वार्थले शिक्षालाई बन्धक बनाएको दीर्घकालीन परिणाम हो।

यसो भनिरहँदा हेक्का राख्नुपर्ने के हो भने नेपालमा शिक्षा क्षेत्र बिग्रिएको होइन, बिगारिएको हो। विद्यार्थी संगठनहरू राजनीतिक दलका संरक्षित र नियन्त्रित अंग हुन्। शिक्षक संगठनहरू बौद्धिक स्वतन्त्रताका पक्षधर होइनन्, बरु ती राजनीतिक स्वार्थमा खडा गरिएका दबाब समूह हुन्। यसरी शिक्षा क्षेत्रमा गराइएको राजनीतिको प्रवेश वैचारिक योगदानका लागि होइन, नियन्त्रण र उपयोगका लागि हो। 

दलहरूले राम्रोसँग बुझेका छन्, जसले शिक्षालाई नियन्त्रण गर्छ उसले भविष्यको सत्ता नियन्त्रण गर्छ। यहीकारण क्याम्पस कब्जा, तालाबन्दी, नियुक्तिमा भागबन्डा र हिंसात्मक गतिविधि जस्ता कुरा विद्यार्थी राजनीति वा विद्यार्थी संगठनमा सामान्य जस्तै बनाइएका छन्। 

आज अगुवा शिक्षक र प्रशासक बन्ने मापदण्ड विद्वत्ता होइन, कुन दलमा आबद्धता छ भन्ने हो। योग्य, परिश्रमी र स्वतन्त्र चिन्तकहरू पाखा लागेका छन्। चाकडी, गुट र राजनीतिक पहुँच भएकाहरू अगाडि छन्। यसले शिक्षा प्रणालीलाई बौद्धिक रूपमा दरिद्र बनाएको छ। क्याम्पसहरू यतिबेला पढाईभन्दा ज्यादा सत्ता र शक्तिको अभ्यास गर्ने प्रयोगशाला बनेका छन्। तालाबन्दी, कुटपिट, धम्की र जबर्जस्तीलाई राजनीतिक अधिकारका रूपमा प्रस्तुत गरिएको छ। यसबाट हाम्रा विद्यार्थीले के सिक्छन् भनिराख्नु नपर्ला, यस्तो अवस्थाबाट विद्यार्थीले बहस नभएर भिडन्त सिक्छन्। 

राजनीतिकरणले विश्वविद्यालयलाई अनुसन्धान केन्द्र होइन कि राजनीतिक अखडा बनाएको छ। यहीकारण विश्वविद्यालयको अनुसन्धान बजेटभन्दा विद्यार्थी संगठन वा आन्दोलनको खर्च ठूलो छ। परिणामस्वरुप विश्व प्रतिस्पर्धामा नेपाली विश्वविद्यालयहरू कहीँ कतै देखिँदैनन्।

विकृत नेतृत्व उत्पादन

शिक्षाले विवेकशील नेतृत्व उत्पादन गर्न योगदान गर्नुपर्ने हो। तर आजको प्रणालीले विवेकशील नेतृत्व त उत्पादन गरिरहेको छैन। बरु राजनीतिक नेतृत्वलाई प्रश्न नगर्ने, उनीहरूको आदेश मात्र पालना गर्ने, अवसर देखे जतिबेला जस्तो पनि रङ बदल्ने, सत्ताबाहेक अरू मूल्य नै नमान्ने अनुयायी र अवसरवादी कार्यकर्ता पंक्ति उत्पादन गरिरहेको छ। विद्यार्थी जीवनमै हिंसा, धम्की र भीड परिचालन गर्न सिकेका युवाले लोकतान्त्रिक मानसिकता बोक्दैनन् र उनीहरू नेतृत्वमा पुगे भने भविष्यका सत्तालोलुप शासक हुन्छ्न्। 

राष्ट्रिय सुरक्षामा चुनौती 

शिक्षामा भइरहेको राजनीतिकरणलाई केवल शैक्षिक समस्या ठान्नु गम्भीर भूल हुनेछ। किनभने यो राष्ट्रिय सुरक्षाको प्रश्न हो। सहिष्णुता सिकाउनुपर्ने शिक्षाले गलत राजनीतिक कट्टरता जन्माइरहेको छ। कट्टर दलगत सोचमा हुर्किएका युवा भोलि सामाजिक द्वन्द्वका इन्धन बन्छन्। कमजोर शिक्षा प्रणालीले कमजोर प्रशासन, कमजोर नीति निर्माता र कमजोर सुरक्षा संयन्त्र जन्माउँछ। परिणाम सीमामा सेना भए पनि राज्य भित्रैबाट कमजोर हुन्छ। यसो भनिरहँदा हिजोका दलहरूले गरेको राजनीतिकरण मात्र होइन, अहिले आएका दलहरूले कुनै न कुनै रूपमा गर्ने राजनीतिकरणले पुर्‍याउने पनि त्यही ठाउँमै हो।

अहिले अवसरको खोजीमा युवाको ठूलो संख्या विदेश गइरहेको छ। यो पंक्तिमा गुणस्तरीय र सुरक्षित शैक्षिक वातावरण नपाएर विदेश पलायन भइरहेका युवा पनि छन्। देशभित्र बस्नेहरू राजनीति र बेरोजगारीमा अल्झिएका छन्। यो दीर्घकालीन सुरक्षा संकट हो। 

आजको समस्या दलगत स्वार्थले शिक्षालाई बन्धक बनाउनु हो। शिक्षा क्षेत्रलाई नेता उत्पादन गर्ने अखडा मात्र बनाउने प्रवृत्ति (पुरानादेखि नयाँसम्मको) तुरुन्त रोकिएन भने नेपालले केवल कमजोर शिक्षा प्रणाली होइन, त्यसबाट उत्पादित विद्यार्थीले पनि असुरक्षित भविष्य पाउने छन्। हाम्रा क्याम्पस र विश्वविद्यालयबाट शुरू भएको बेथिति अन्ततः संसद्, सरकार र सुरक्षा निकायसम्म पुग्छ। यदि हाम्रो शिक्षा क्षेत्र राजनीतिबाट मुक्त भएन भने न नेतृत्व सुध्रन्छ, न लोकतन्त्र बलियो हुन्छ न त राष्ट्र नै।

(उकालोको विचार खण्डमा छापिने सामग्री लेखकका निजी हुन्।)

सुधारका लागि आलोचनात्मक दिग्दर्शन रहेछ । लेख उपयोगी छ । वस्तुगत र ठोस कुरालाई मसिनु गरी सरल भाषामा व्यक्त गर्ने क्षमताको सम्मान छ ! सामान्य जेहेनले नगुनेका कुरा औंल्याएर सा”बले हामीलाई गुन लगाउनुभएको छ ! साधुवाद छ ! यस्ता लेख पढ्न पाउॅदैरहौं । सहस्र धन्यवाद !

हरिराज भट्टराई

2 months, 3 weeks ago