विश्वकप लिग–२ मा नेपालको रोमाञ्चक जित, यूएई ३७ रनले पराजित

आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले यूएईलाई ३७ रनले पराजित गर्दै घरेलु मैदानमा सुखद शुरूआत गरेको छ।

आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)लाई ३७ रनले पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार २०१ रनको लक्ष्य पछ्याएको यूएई ४८.२ ओभरमा १६३ रनमै समेटियो। 

यूएईका लागि हरप्रित सिंहले सर्वाधिक ३९ रन बनाए। यस्तै कप्तान मोहम्मद वासिमले ३४, आकाशदीप नाथले ३०, ओपनर आर्यान्स शर्मा र निलांश केसवानीले समान १८/१८ रन बनाए। 

बलिङतर्फ नेपालका करण केसीले ४ विकेट लिए। सोमपाल कामी र सन्दीप लामिछानेले २–२ तथा दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले १–१ विकेट हात पारे। 

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४८.१ ओभरमा २०० रनमा अलआउट भएको थियो। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ७५ रनको महत्त्वपूर्ण इनिङ्स खेले। अन्य ब्याटरमा कुशल भुर्तेलले २४, करण केसीले २२ र बसिर अहमदले २० रन जोडे। 

यूएईका अजय कुमार र जुनैद सिद्दिकीले ३–३ विकेट लिए।

यो जितसँगै २१ खेलमा १४ अंक जोडेको नेपाल अंक तालिकाको सातौँ स्थानमा छ। एकदिवसीय मान्यता जोगाउन र विश्वकप छनोटको सम्भावना बलियो बनाउन नेपालका लागि आगामी खेल निर्णायक हुनेछन्। नेपालले अब वैशाख महिनाभरि घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। लिग–२ को शीर्ष चार टोली विश्वकपका लागि सोझै छनोट हुनेछन्।