सर्लाहीमा जंगली बँदेलको आक्रमणबाट एक जनाको मृत्यु

सर्लाहीको लालबन्दी नगरपालिका–१५ पिडखोल्सीमा जंगली बँदेलको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।

काठमाडौँ- सर्लाहीको लालबन्दी नगरपालिका–१५ पिडखोल्सीमा जंगली बँदेलको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।

आइतबार साँझ करिब ५ बजे स्थानीय ३२ वर्षीय प्रेमबहादुर थिङ (दावा) आफ्नै मकैबारीमा पुगेका बेला बँदेलले बाली नष्ट गरेको देखेपछि त्यसलाई पछ्याएका थिए। सोही क्रममा बँदेलले एक्कासी आक्रमण गर्दा उनी गम्भीर घाइते भएका थिए।

घाइते थिङलाई तत्काल उपचारका लागि लालबन्दीतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे साँझ ७:३० बजे सूचना प्राप्त भएपछि इलाका प्रहरी चौकी परवानीपुरबाट प्रहरी टोली खटिएको थियो।

मृतकको शव पोस्टमार्टमका लागि मलंगवास्थित प्रादेशिक अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।