संसारकै सुन्दर देश बनोस् नेपाल अनि संसारभरिका नेपालीले गर्व गर्न सकून्। र्यापर बालेनलाई मेरो तर्फबाट त्यही शैलीकै शुभकामना र सन्देश पनि।
मानिसको सामान्य ज्ञान बढाउने एक माध्यम युद्ध पनि हो। मानचित्रमा मात्र देखिएका र कति त यादै नगरिएका देश पनि टेलिभिजनबाट छिरेर घरको बैठकमा पुग्छन्। हिजोसम्म सोच्दा पनि नसोचेको ठाउँ हठात् दैनिक चर्चाको विषय बन्छ। अझ युद्धले आफूलाई पनि प्रभाव पार्यो भने त त्यस्तो देशको विषयमा जानकारी अझ वृहत् हुन्छ।
हिन्दीका प्रसिद्ध व्यङ्ग्यकार हरिशंकर परसाईको एउटा पुरानो लेख पढेको याद आयो जहाँ देशको अनिकालको कुरा गर्दै उनी भन्छन्– “अनिकालका पनि आफ्नै सकारात्मक पक्षहरू छन्। देशमा कहाँ के उम्रिन्छ भन्ने कुरा त्यो चीज त्यहाँ उम्रन छाडेपछि हामी थाहा पाउँछौँ। अझ महामारी भयो भने त हाम्रो साधारण ज्ञान संसारमा सबैको भन्दा राम्रो हुन्छ। आज यो अनिकालको परिवेशले हामीलाई रसियाबाट हवाईजहाज आउँदा त्यहाँ चामल आयो भन्ने थाहा पाउँछौँ। अमेरिकाको हवाईजहाज देख्नसाथ हामी त्यसमा गहुँ आयो भन्ने थाहा पाउँछौँ।”
सन् १९६० को दशकमा परसाईले यो लेख लेखेको ६ दशकपछि पनि परिस्थिति त्यही छ। तर सामग्रीमा केही परिवर्तन आएको छ। आज होर्मुजको बाटो खोलियो भन्ने खबर पाउनसाथ तेलको मूल्य सामान्य बन्छ। कुकिङ ग्यासको कालोबजारीमा केही कमी आउँछ। २८ फेब्रुअरीअघि कसैले नसुनेको त्यो नाम आज अनपढहरूको पनि जिब्रोमा झुन्डिएको छ।
ताञ्जानियामा जन्मेका बाबु अनि केन्यामा जन्मेकी आमाबाट जन्मेका ऋषि सुनक इङ्गल्याण्डका प्रधानमन्त्री भए। १९६६ मा तिनका आमा–बाबु इङ्गल्याण्ड बसाईं सरेका थिए अनि सुनकको जन्म बेलायतको साउथह्याम्पटनमा भएको थियो। सुनक बेलायतको प्रधानमन्त्री हुँदा भारतमा ठूलै उत्सव भयो। तिनका बाजेहरू भारतको पञ्जाब प्रान्तबाट पूर्व अफ्रिका बसाईं सरेदेखिको कथा भारतीय राजनीतिक लेखकहरूले खोतलेर निकाले। एउटा प्रवासी भारतीय कसरी बेलायतको प्रधानमन्त्री भयो भन्ने कुराको चर्चा भारतीय मिडियाले पटक्कै गरेन। किनकि त्यसो गर्दा आफ्नै देशको कमीकमजोरी स्पष्ट हुनेथियो। ऋषि सुनकको गुण गाउने र आरती उतार्नेहरूले बेलायतको सबल पक्षबारे कुरा गरेनन्। त्यहाँको बलियो व्यवस्था, जसले योग्यतालाई प्राथमिकता दिन्छ, अन्धकारमै राखे।
यस्ता थुप्रै प्रतिभा छन् जसले भारतमा साधारण नोकरीसम्म पाएनन्, तर विदेशमा गएर नोबेल पुरष्कार जिते। डा. हरगोबिन्द खोरानाको कथा त प्रायः धेरैलाई थाहा छ। असल कुरा हो देशको व्यवस्था। व्यवस्था भ्रष्ट अनि भाईभतिजावादले ग्रसित भएको कारण भारतमा जो बेकार थिए, तिनीहरू नै विदेशमा बलियो व्यवस्थाको आड पाएर शीर्षस्थ स्थानमा पुगेका हुन्। भारतमा योग्यतालाई सक्दो दबाउने काम हुन्छ। भर्खरै त्यो दृष्टान्त हामीले सांसद राघवचड्डा घटनाबाट थाहा पायौँ।
ममदानीको कथा
एउटा ताजा उदाहरण अमेरिकाका प्रवासी भारतीय जोहराम ममदानी हुन्। तीन पुस्ताअघि तिनका पुर्खा भारतको गुजरात प्रान्तबाट केन्या सरुवा भएर गएका थिए। ममदानीका बाबु–आमा अमेरिका सरुवा भए। अमेरिकामै जोहराम ममदनीको जन्म भयो। राजनीतिमा देखा पर्नुअघि तिनी र्यापर थिए। तिनको र्याप त अझै सुनिएको छैन, तर र्यापरदेखि मेयरसम्मको यात्रा कसैले लेखे रमाईलो पुस्तक बन्ला।
सन् १९७० को दशकमा शुरू भएको र्याप संगीतको उमेर धेरै भएको छैन। युवा पिँढीमा यसको प्रभाव निकै देखिन्छ। आफ्नै देशमा पञ्जाबका वर्तमान मुख्यमन्त्री भगवन्त मान र्यापर हुन्। युक्रेनका राष्ट्रपति जेलेन्स्की र्यापर (कमेडियन) थिए भन्ने सुनिन्छ। अनि नेपालका वर्तमान प्रधानमन्त्री बालेन्द्र शाह पनि र्यापर नै थिए। राजनीतिको यो र्यापर युग भन्न मिल्ला कि...?
न्युयोर्क शहरमा कालो सुट अनि कालै गगल्समा ममदानीको जोशपूर्ण भाषण हामीले पनि हेर्यौँ र सुन्यौँ। संसारको सबैभन्दा धनी शहरमा गरीबहरूको पक्षमा कुरा गर्ने युवा गज्जप लाग्यो। कर्मचारीहरूको निम्ति सस्तो घरभाडा, स्वास्थ्यसेवाको व्यवस्था, निःशुल्क बस सेवाका कुराहरू सुन्दा भारतकै कुनै शहरको कुरा गरे झैँ लाग्यो। हलिउडले बनाएको हाम्रो न्युयोर्क शहरको धारणा नत्र बेग्लै थियो। केपटाउनमा जन्मेका ममदानी ३ वर्षको हुँदा तिनका माता–पिता न्युयोर्क सरुवा भएका रहेछन्। जनवरी २०२६ मा तिनी न्युयोर्कका ११२ औँ मेयर भए।
न्युयोर्क शहरको पहिलो मुस्लिम अनि एसियन–अमेरिकन मेयर। चुनाव प्रचारको समय तिनले स्पष्ट शब्दमा भनेका थिए– ‘म मुस्मिल हुँ अनि मेरा माता–पिता केन्याबाट बसाईं सरेका हुनाले म प्रवासी अमेरिकी हुँ।’
बेलायतमा ऋषि सुनक अनि अमेरिकामा कमला ह्यारिसको चुनाव प्रचारको समय भारतमा उनीहरूको भारतीय मूललाई लिएर जुन उत्साह देखिएको थियो, ममदानीको समयमा त्यो उत्साह पूरापूरी गायब थियो। ममदानीको भारतीय मूलभन्दा धेरै महत्व तिनको मुस्लिम जरा भयो। योग्यता भन्दा धर्म र जाति महत्वको मानिने यो देशको अर्को कमजोरी त्यस समय उजगार भयो।
इरानमाथि अमेरिका र इजरायलको आक्रमण हुनुअघि नै जब प्यालेस्टाइनमा इजरायलले आम प्यालेस्टिनी नागरिक, शिशु तथा महिलाहरूमाथि बमवर्षा गरेर हत्या गरिरहेको थियो, ममदानीले घोषणा गरेका थिए– ‘म न्युयोर्कको मेयर भएको खण्डमा नेतान्याहु (इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु) लाई न्युयोर्क शहर पस्न दिने छैन। कुनै प्रकारले पसिहालेको खण्डमा म तिनलाई गिरफ्तार गर्ने छु।’
यस प्रकारको घोषणा गर्न निकै साहस चाहिन्छ। यो घोषणाले ममदानीलाई चुनावमा प्रतिकूल प्रभाव पर्न सक्थ्यो, तर उनले त्यसको परवाह गरेनन्। हुन पनि इजरजायलको जुन अत्याचार प्यालेस्टाइन र इरानमा देखियो, त्यसकै आधारमा कुरा गर्ने हो भने युरोप र अमेरिकामै पनि धेरै संख्यामा आमनागरिक भन्दैछन्– ‘हिटलरले जे गर्यो, त्यो शतप्रतिशत सही गर्यो...।’
ममदानीको जीतले न्युयोर्कमा अर्बपतिहरूको भन्दा कर्मचारी र श्रमिकहरूको संख्या धेरै भएको प्रमाणित गर्यो। अमेरिका जस्तो नश्लभेदी देशमा एउटा अश्वेत अनि त्यसमाथि पनि मुस्लिम सम्प्रदायबाट न्युयोर्क शहरको चुनाव जित्नु सानो कुरा होइन।
सन् २०२० मा मिनेसोटा पुलिसले जर्ज फ्लायड नामका युवकलाई गोली हानेर मारेका थिए। २०१३ मा जर्ज जिम्मरम्यान नामका एक श्वेत अमेरिकनले ट्रेभन मार्टिन नामका एक अश्वेतलाई मिनेसोटामै गोली हानेर मारेका थिए। उनलाई अमेरिकी अदालतले (जहाँ श्वेत अमेरिकीहरूको वर्चस्व छ) रिहा गरेपछि त्यहाँ ‘ब्ल्याक लाइभ म्याटर्स’ नारामा आन्दोलन चर्किएको थियो। यस्तो अप्ठ्यारो अनि नश्लभेदी राष्ट्रमा ममदानी त अश्वेत साथै मुस्लिम भएर चुनाव जित्नु सानो उपलब्धि होइन। तर ममदानीको पुर्ख्यौली देश भारतले तिनको विजयलाई अनदेखा नै गर्यो।
रसिया र युक्रेनबीच युद्ध नभएको भए हामीमध्ये धेरैले न युक्रेन जान्ने थियौँ, न जेलेन्स्कीलाई चिन्ने थियौँ। कोभिडको प्रकोप भइरहेकै बेला सन् २०१९ मा जेलेन्स्की युक्रेनमा राष्ट्रपतिको चुनाव लडे। ७० प्रतिशत बहुमत ल्याएर चुनाव जिते। तिनको पनि चुनावको मुद्दा नेपालका बालेन्द्र शाह अनि जेन–जी आन्दोलनको झैँ देशमा सुधार अनि भ्रष्टाचार उन्मूलन भन्ने थियो। यसबीच तिनले युरोपेली राष्ट्रहरूसित सम्पर्क राम्रो बनाएर युक्रेनलाई बहुराष्ट्रिय सैन्य संगठन, नेटोको सदस्य बनाउने कोसिस गरे जुन कुरा रसियालाई मन परेको थिएन।
नेटो राष्ट्रहरू पनि युरेसियामा आफ्नो प्रभाव बढाउने ताकमा थिए जुन कुरा रसियाको निम्ति खतराको संकेत थियो। नेटो राष्ट्रहरूले युक्रेनमाथि त्यसै चासो बढाउन चाहेका होइनन्। युरोपको सबैभन्दा बढ्ता युरेनियमको भण्डार पनि युक्रेनमै छ। त्यति मात्र होइन, ‘रेयर मेटल्स’ भनेर चिनिने लिथियम, टाईटेनियम, फलामको खानी, ग्रेफाईट साथै तेल र रसायन ग्यासको पनि युक्रेन ठूलो भण्डार हो जसमाथि युरोप र अमेरिका दुवैको आँखा गाडिएको थियो।
नेटो देशहरूले पनि युक्रेन यस्ता प्राकृतिक संसाधनमा धनी नभएको भए त्यसमाथि चासो देखाउने थिएनन्। अमेरिका त अझ विशुद्ध व्यापारी देश हो। आज इरानमाथि गरिएको आक्रमणमा भएको खर्च त खाडी देशहरूले तिर्नुपर्ने कुरा अमेरिका गरिरहेछ।
बंगाल र हामी भारतीय नेपाली
शेक्सपियरले ‘मर्चेन्ट अफ भेनिस’ लेख्दा साईलकको भूमिकामा नेतान्याहु र डोनाल्ड ट्रम्पको कल्पना ४०० वर्षअघि नै गरेको हुनपर्छ। पपस्टार म्याडोनाको एउटा गीत छ जसले अमेरिकालाई सही प्रकारले परिभाषित गर्छ–
‘दिस इज मटेरियल वल्र्ड
एन्ड आइ एम मटेरियल गर्ल’
ट्रम्पलाई भेट्न गएका जेलेन्स्कीलाई कसरी सार्वजनिक रुपमा अमेरिकी राष्ट्रपतिले अपमान गरे, त्यो सबैले हेरेका छन्। निर्लज्ज तरिकाले ट्र्म्पले त्यस समय भनेका थिए–
‘हाम्रो सहायता नभएको भए युक्रेनले ३ दिन पनि रसियाको सामना गर्नसक्ने थिएन। हाम्रो तीन बिलियन डलर खर्च भएको छ।’
बोल्नै त दिएनन् ट्रम्पले जेलेन्स्कीलाई। अपमानित जेलेन्स्की खानासम्म नखाई युक्रेन फर्केका थिए। आज खाडीमा चलिरहेको युद्धसित धर्म र सिद्धान्तको या मानवअधिकार र प्रजातन्त्रको कुनै सम्बन्ध छैन। यो सोझै इरानको संसाधनमाथि नियन्त्रणको युद्ध हो। आतंकवादको निहुँमा इरानमाथि चढाई गर्ने इजरायल र अमेरिका नै सबैभन्दा ठूला आतंकवाद बोक्ने राष्ट्रहरू हुन्। दार्जिलिङ–कालेबुङमा आज बंगालले जुन राजनीति गरिरहेछ, त्यो पनि संसाधनमाथि नियन्त्रण गर्ने राजनीति नै हो।
१९८६ मा सुवास घिसिङले शुरू गरेको आन्दोलनमा एउटा कार्यक्रम संसाधनमाथिको नियन्त्रण थियो। दुधेको ढुङ्गा र पहाडको काठपात मधेश जान दिन्नँ भनेका थिए घिसिङले। एक दिन दुधेको बाटो भएर सिलीगुडी जाँदा मैले पानीघट्टामा ठुल्ठूला ट्रकहरूमा ढुङ्गा लादिएको देखेर छक्क परेँ। एक गाडी ढुङ्गा बंगलादेशमा ३५ हजार रुपैयाँको हुन्छ भनेको सुन्दा त अझ आश्चर्य लाग्यो। ढुङ्गा नभएको ठाउँमा हाम्रो ढुङ्गा त सुन हुँदो रहेछ। पहाडमा चिया, सिन्कोना, बनजङ्गल अनि कञ्चनजंघा नभएको भए बंगालले दार्जिलिङलाई लिने त होइन, तर दिँदा पनि आफूसित राख्न चाहने थिएन। हामीले समय समयमा वनभोज खान अनि माछा मार्न जाने टिष्टा नदीमा पानी होइन तर दिनहुँ अरबौँ डलर बगेर जाँदो रहेछ भन्ने कुरा त्यहाँ एनएचपीसीले बाँध बाँधेर बिजुली उत्पादन गर्न थालेपछि मात्र थाहा लाग्यो।
हामी टिष्टाको किनारमा बस्नेहरूले त समय–समयमा बाढी अनि ज्यान–मालको खति मात्र पायौँ। टिष्टामा बगाइएको घर तत्कालै बनाउने र मृतकहरूको परिवारलाई पनि उपयुक्त भरपाई दिने बाचा नेताहरूले गरे, तर बाचा गरेको केही दिनपछि हराएका नेताहरूको अझै टुङ्गो लागेको छैन। यसरी बंगाल हाम्रो इजरायल र अमेरिका भयो भने हामी पीडित प्यालेस्टिनी र इरानी जस्ता भयौँ।
भारतीय मिडियाहरूको प्रमुख काम यतिबेला देशको खबर होइन, खाडी युद्धको चर्चा भएको छ। नेतान्याहु र ट्रम्पको भाषा बोल्छन् भारतीय पत्रकारहरू। इरानमाथि गरिएको आक्रमणमा छात्रहरू मारिन्छन्त, तर यहाँको मिडियाले ‘आतङ्की ठिकाना’ भन्न छाड्दैनन्। अझ पाकिस्तानलाई मध्यस्थताकर्ता नियुक्त गर्दा त भारतलाई उखरमाउलो भएको छ किनकि पाकिस्तानको खोइरो नखनी भारतको न्युज च्यानल चल्दैन। भारतीय जनता पार्टीका वरिष्ठ सांसद डा. सुब्रमण्यम स्वामी सामाजिक सञ्जालमा भन्दैथिए– ‘यो निकम्मा मोदी सरकारको विदेशनीतिको कारण अन्तर्राष्ट्रिय स्तरमा देशको बेइज्जती भएको छ। आज पाकिस्तानको स्थान अन्तर्राष्ट्रिय स्तरमा भारतभन्दा धेरै माथि छ। आफ्नो बुतामा त मोदी चुनावको नामाङ्कनपत्र समेत भर्न सक्दैनन्।’
तर मिडियाले भने तिनको प्रत्येक मूर्खतापूर्ण कदमलाई मास्टरस्ट्रोक नै बताइरहेको छ।
र नेपालमा बालेन
नेपालमा सत्ता परिवर्तन भएर बालेन्द्र शाह प्रधानमन्त्री भएपछि भारतीय नेपालीहरूमा पनि एक प्रकारको उत्साह देखिन्छ। तिनी काठमाडौँको मेयर छँदा राजधानीको कायापलट गरेको चर्चा हुँदा यता भारतमा पनि गोर्खाहरूमाझ कुरा चल्थ्यो– ‘यस्तो मानिसको हातमा सत्ता आएदेखि त नेपालमा पनि राम्रो दिन फर्किने थियो कि...?’
भारतीय नेपालीहरू मात्र होइन, भारतीय युवाहरू पनि नेपालप्रति उत्साहित रहेको भिडियो दिनहुँ फेसबुकमा अपलोड हुँदैछन्। कतिले नेपाली क्याबिनेटमा सबै शिक्षित मन्त्रीहरू समावेश गरिएको कुराको सराहना गर्दैछन् त कतिले बालेनका शुरूआती कदमहरूको प्रशंसा। कतिले तिनलाई नायक फिल्ममा देखाइएको एक दिनको प्रधानमन्त्री अनिल कपुरसित तुलना गर्दैछन्। भारतीय राजदूतसित सिंहदरबारमा खिचेको फोटो देखेपछि नेपालको लिपुलेक र कालापानीसहितको मानचित्र पनि चर्चाको विषय भएको देखिँदैछ।
संसारलाई बालेनले चकित पारेका रिलहरू पनि बनिरहेका छन्। एक समय डल्लै नेपाललाई भारतले सिपाही र दरबानको दृष्टिले हेर्थ्यो। ‘लफर च्यालेन्ज शो’हरूमा व्यङ्ग्यबाण हामीले पनि सहनु पर्थ्यो। त्यस्तै एउटा ठट्टा मलाई याद आयो जो यस प्रकार थियो–
‘नेपाल एक मात्र ऐसा देश है जहाँ लोग घर मे ताला नहीँ लगाते...पुछो क्योँ?’
श्रोताहरू उक्त प्रश्नको उत्तर दिन असफल भएपछि व्यङ्ग्यकार स्वयं उत्तर दिन्थ्यो–
‘क्योँ कि वहाँ सबलोग बहादुर है...।’
अनि सम्पूर्ण जनता पेट मिचीमिची हाँस्थे।
हाँसोका पात्र थियौँ हामी, अनि बहादुर शब्दको अर्थ बहादुरी बताउनको निम्ति होइन तर चौकीदारीको पर्याय भएको थियो। तर अहिले संसारका धेरै राष्ट्रहरू नै बालेनको अर्को कदम के हुने हो भनेर चासो राखेर नेपाललाई हेरिरहेका छन्।
विगतका सरकारहरूसित स्वयं नेपाली नागरिक पनि त हैरान नै थिए। मलाई मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यको त्यो आरती याद आउँछ–
‘ईश्वर तिमीले पृथ्वी बनायौ
सूर्य बनायौ, चन्द्र बनायौ
लाखौँ सुन्दर तारा बनायौ
संसारमै सुन्दर नेपाल बनायौ
नेपालमै सुन्दर हिमाल बनायौ
तर एउटा राम्रो नेता दिन
किन तिमीले टाउको कनायौ?’
यी दुई भाईलाई मेरो भन्नु के छ भने तपाईंहरूको आरती सायद इश्वरले सुने त्यसैकारण बालेन, साम्पाङ, पुनहरू एकैचोटी पठाईदिए। अब नेपाल दरबान निर्यात गर्ने देश मात्र रहेन। वैज्ञानिक, इन्जिनियर, अर्थशास्त्री र राजनेताहरू पनि यहाँ छन्। हामीले हाम्रो हिस्साको ममदानी र मान पाएका छौँ। एउटा राम्रो टाउको टुप्पोमा बसे अरु राम्रा टाउकोहरू उसैको पछि लाम लाग्छन्। एउटा हर्क साम्पाङले कसरी धरानबासीहरूलाई परिश्रमी बनाएर देखाईदिए भन्ने दृष्टान्त त आँखा अघि छँदैछ। संसारकै सुन्दर देश बनोस् नेपाल अनि संसारभरिका नेपालीले गर्व गर्न सकून्।
बालेन र्यापर हुन् त्यसैले शुभकामनासहित म तिनलाई यही सन्देश दिन चाहन्छु– ‘कम अन बालेन, र्याप इट अप !’
(उकालोको विचार खण्डमा छापिने सामग्री लेखकका निजी हुन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
