आर्थिक अवसरः कम्बोडियाले कोरेको त्यो बाटो, नेपालले नचिनेको यो बाटो

कम्बोडियाको अंकोर वाट घुम्दा देखेँ– सम्पदा भएर मात्र पुग्दैन, त्यसको संरक्षणबाट अर्थतन्त्र उकास्ने बुद्धि र इच्छाशक्ति चाहिनेरैछ। नेपालसँग सम्पदा छ, तर प्रश्न एउटै छ– बुद्धि र इच्छाशक्ति छ कि छैन?

करिब छ महिनाअघि कम्बोडियाको प्रसिद्ध प्राचीन सम्पदा क्षेत्र, अंकोर वाट पुगेको थिएँ। बैंककबाट एक घण्टा जतिको उडानपछि म चढेको विमान कम्बोडियाको भर्खरै निर्माण गरिएको सिएम रिप अंकोर अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो। त्यहाँबाट करिब एक घण्टा लामो स्थल यात्रापछि सिएम रिप सहरमा पुगेँ। भोलिपल्ट, झिसमिसेमै निस्किएर सूर्योदय हुँदा मन्दिर अवलोकन गर्ने ठाउँमा पुगेँ। आकाश बिस्तारै खुल्दै जाँदा, एकएक गरेर विशाल मन्दिरको आकृति देखा पर्न थाल्यो।

अंकोर वाट खमेर शास्त्रीय वास्तुकला र जटिल शिल्पकलाको उत्कृष्ट नमूना हो। मन्दिर परिसर करिब ४०० एकड क्षेत्रफलमा फैलिएको छ, जसमा विशाल पोखरी र बाहिरी पर्खाल छन्। यी पोखरी र पर्खालले तीन क्रमिक ग्यालरीहरूलाई घेरेका छन् जुन केन्द्रीय गर्भगृहतर्फ माथि उठ्दै जान्छ र जमिनबाट २१३ फिट माथि उठेका पाँच वटा कमल-कोपिला आकारका धरहराहरू मुकुट जस्तै सजिएका छन्। करिब १ हजार ८०० वर्गमिटरभन्दा बढी ढुंगाका पर्खालमा रामायण र महाभारतजस्ता हिन्दू पौराणिक काव्यका दृश्य चित्रण गरिएका छन्, जसमा प्रसिद्ध समुद्र मन्थन पनि समावेश छ। साथै लगभग दुई हजार व्यक्तिगत रूपमा खोपिएका अप्सरा छन्। प्रत्येक अप्सराको आफ्नै मौलिक अभिव्यक्ति छ र सबै जना अनौठो केशविन्यास र गरगहनामा सजिएका छन्।

पुरातात्त्विक अर्थमा पोखरीले ब्रह्माण्डीय सागरलाई प्रतिनिधित्व गर्दछन्, पर्खालले पर्वत श्रृंखलालाई र केन्द्रीय धरहराले हिन्दू-बौद्ध ब्रह्माण्ड विज्ञानमा ब्रह्माण्डको केन्द्र मानिने मेरु पर्वतको प्रतीकात्मक प्रतिनिधित्व गर्दछन्। सम्पूर्ण संरचनाले त्रि-आयामिक मण्डलको प्रतिनिधित्व गर्दछ, जसले अंकोर वाटलाई केवल भवन मात्र नभई ढुंगामा निर्मित पूर्ण ब्रह्माण्डको प्रतिबिम्बित रूपमा बुझाउँछ।

युनेस्कोको विश्व सम्पदा सूचीमा राखिएको अंकोर वाट संसारको सबैभन्दा ठूलो धार्मिक स्मारक, खमेर सभ्यता र प्राविधिक उपलब्धिको उच्चतम उदाहरण मात्र नभई अनेकौँ  तत्त्वको प्रतीक पनि हो। अंकोर वाट सक्रिय बौद्ध मन्दिर (शुरूमा भगवान विष्णुलाई समर्पित हिन्दू मन्दिर थियो जुन बिस्तारै बौद्ध मन्दिरमा परिणत भयो) हुनुको साथै यो कम्बोडियाली राष्ट्रियता, मानव महत्त्वाकांक्षा, पौराणिक र स्वर्गीय क्षेत्रको प्रतिबिम्बको प्रतीक पनि हो। थपचाहिँ, यो शाही शक्ति, गौरवशाली क्षणको क्षणिक प्रकृति, सभ्यताको उदय र पतन र समयलाई पार गर्ने हाम्रो प्रयासको बाबजुद समयले हामी सबैलाई पार गर्छ र प्रकृति कुनै पनि साम्राज्यको शक्तिभन्दा धेरै शक्तिशाली छ भन्ने कटु सत्यलाई सम्झाइरहने प्रतीक पनि हो।

महान् वास्तुकलामध्ये एक भए पनि यसको निर्माणले जबरजस्ती श्रम, सामाजिक श्रेणीक्रम र ठूलो बलिदानले भरिएको एक गहन मानवीय कथालाई पनि प्रतिबिम्बित गर्दछ। १२औँ शताब्दीमा खमेर राजा सूर्यवर्मन द्वितीयद्वारा निर्मित यो संरचना सम्पन्न गर्न ३० वर्ष लागेको थियो र ऐतिहासिक शिलालेखहरूका अनुसार यसको निर्माणमा लगभग तीन लाख कामदार र ६ हजार हात्ती परिचालन गरिएको थियो। कम्तीमा ५० किलोमिटर टाढा रहेको फ्नोम कुलेन पहाडबाट १.५ टनभन्दा बढी तौल भएका ढुंगाका ब्लक उत्खनन गरेर निकालिएको थियो। जबरजस्ती श्रमको व्यापक प्रयोगबिना यो निर्माण कार्य सम्पन्न हुन असम्भव थियो। यो विशाल श्रम परिचालनले तत्कालीन कृषि क्षेत्रका कामदारलाई खाद्यान्न उत्पादनबाट विमुख बनायो र गाउँका अधिकांश पुरुषलाई लामो समयसम्म टाढा राखेर पारिवारिक र ग्रामीण जनजीवन अस्तव्यस्त बनायो।

यद्यपि चोटपटक, मृत्यु वा विशिष्ट कार्य अवस्थाको दस्ताबेजीकरण गर्ने कुनै विस्तृत विवरण नभए पनि परियोजनाको संरचनात्मक  विशालताबाट कामदारले ठूलो कठिनाइ र सम्भवतः ठूलो संख्यामा ज्यान गुमाएको अनुमान गर्न सकिन्छ। तैपनि यो मन्दिरले यसलाई निर्माण गर्ने लाखौँ कामदारको सट्टा शाही शक्ति र ईश्वरीय राजतन्त्रको जयजयकार गर्छ। केही विद्वानहरूका अनुसार यस्ता विशाल निर्माण परियोजनाहरूले अर्थतन्त्रमा ठूलो दबाब सिर्जना गर्छन् र सम्भवतः साम्राज्यको अन्त्यतिर हुने पतनमा योगदान पुर्‍याउँछन्।

पर्यटनकेन्द्रित आर्थिक रणनीति र पूर्वाधार विकास
विगतमा जे जस्तो मानवीय विनाश गरे पनि अहिले अंकोर वाट कम्बोडियाली अर्थतन्त्रको केन्द्रबिन्दु भएको छ। अंकोर वाटलाई कम्बोडियाली सरकारले राष्ट्रिय पहिचानको प्रतीक मान्नुका साथै पर्यटनकेन्द्रित आर्थिक रणनीतिक आधारशिलाका रूपमा परिचालन गरेको छ। एउटा अभूतपूर्व प्राचीन सम्पदालाई आफ्नो आधुनिक अर्थतन्त्रको इन्जिन बनाउन कम्बोडियालीहरूले बितेका केही वर्षमा निकै विचार-विमर्श, बृहत् नीति निर्माण र सो नीति सफलतापूर्वक कार्यान्वयन पनि गरेका छन्। ध्वनि र जीवाश्म इन्धनको प्रदूषणबाट यो प्राचीन सम्पदालाई जोगाउन नजिकै रहेको पुरानो सिएम रिप अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरेर नयाँ सिएम रिप अंकोर अन्तर्राष्ट्रिय विमानस्थल ५० किलोमिटर पर बनाइएको छ।

null

चीन सरकारको ऋण सहयोगमा वार्षिक सात करोड यात्रुहरू सम्हाल्न सक्ने अत्याधुनिक अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिएको छ। यस विमानस्थलदेखि सिएम रिपसम्म पुग्ने र अंकोर वाट वरपरका सडकहरू चिल्ला र फराकिला बनाइएका छन्। निजी पुँजीमा सयौँ स्तरीय होटलहरू निर्माण गरिएको छ। आधार शहर सिएम रिप स्मार्ट बनाइएको छ। शहर अपांगतामैत्री छ। अमेरिकी ब्रान्डको सुविधाजनक पसल सेभेन-इलेभेन जहाँतहाँ छन्। प्रत्येक पसल र रेस्टुरेन्टले क्रेडिट कार्डमा कारोबार गर्न सक्छन् र अमेरिकी डलरमै लेनदेन पनि हुन्छ। खाना र पेय पदार्थहरू स्तरीय छन्, स्थानीय चेन-स्टोर कफी शपहरू अमेरिकी ब्रान्ड स्टारबक्स भन्दा कम छैनन्।

ट्याक्सी र टुक-टुक जहाँतहीँ बग्रेल्ती पाइन्छन्। अझ व्यवसायीहरूले अन्तर्राष्ट्रियस्तरको अंकोर वाट मार्काको बियर र ह्विस्की पनि बनाएका छन्। त्यसमाथि कम्बोडियाली भिसा र अंकोर पुरातात्त्विक पार्कको टिकट अनलाइन सजिलै र तुरुन्तै उपलब्ध हुन्छ। टिकट जाँच गर्ने ठाउँमा हातेस्क्यानबाट जाँचिन्छ र कुनै भीडभाड र दलाल खेप्नु पर्दैन।

कम्बोडियाको पर्यटन मन्त्रालयले अन्तर्राष्ट्रिय क्षेत्रमा महत्त्वाकांक्षी विज्ञापन अभियान कार्यान्वयन गर्दै अंकोर वाटलाई प्रमुखताका साथ प्रस्तुत गरेको छ। अंकोर वाटलाई दक्षिणपूर्वी एशियामा भ्रमण गर्नैपर्ने गन्तव्यको रूपमा प्रस्तुत गर्नुको साथै कम्बोडियाको प्राचीन भव्यता र आधुनिक सम्भावनाको प्रतीकको रूपमा पनि स्थापित गर्ने प्रयत्न गरेको छ। यसले गर्दा अंकोर वाटले सांस्कृतिक पर्यटक मात्र नभई इतिहासकारहरू र आध्यात्मिक खोजीकर्ताहरूलाई पनि समान रूपमा आकर्षित गरेको छ।

सरकारले अंकोर पुरातात्विक पार्कमा महत्त्वाकांक्षी टिकट प्रणाली र आगन्तुक व्यवस्थापन शिष्टाचार प्रणाली पनि स्थापना गरेको छ। प्रवेश शुल्कबाट प्राप्त राजस्वले सार्वजनिक-निजी साझेदारीमार्फत व्यवस्थित स्थल संरक्षण र राष्ट्रिय विकास कोष दुवैमा महत्त्वपूर्ण योगदान पुगेको छ। त्यसमाथि कम्बोडियाली अधिकारीहरूले युनेस्कोको विश्व सम्पदास्थलको मान्यता र अन्तर्राष्ट्रिय संरक्षण साझेदारहरू पनि खोजेका छन्, जसले अंकोर वाटको विश्वव्यापी प्रतिष्ठा बढाउनुको साथै विदेशी लगानी र प्राविधिक विशेषज्ञता पनि आकर्षित गरेको छ ।

चीन र भारतसँगको सहकार्यमा विभिन्न मन्दिरहरू जिर्णोद्वार गर्ने योजनाका साइनबोर्ड ठाउँ-ठाँउमा देखिन्छन् । कम्बोडियाली सरकारले अंकोर वाटलाई अन्तर्राष्ट्रिय चलचित्र निर्माणको लागि छायाङ्कन स्थानको रूपमा प्रस्तुत गर्दै आएको छ। त्यसमाथि यो स्मारकको छवि राष्ट्रिय झन्डा, मुद्रा, र आधिकारिक कागजातहरूमा प्रमुख रूपमा देखिन्छ। खमेर रुज अवधिसहितको हालको उथलपुथल इतिहासको बाबजुद आर्थिक विकासका लागि अंकोर वाटको उपयोग गर्ने कम्बोडियाली सरकारको दूरदर्शी रणनीतिले सांस्कृतिक संरक्षण, राष्ट्रिय ब्रान्डिङ र राजस्व सिर्जनामा ठूलो योगदान पुर्‍याएको छ।

कम्बोडियाली सरकारले अवलम्बन गरेको पर्यटनकेन्द्रित आर्थिक रणनीति र पूर्वाधार विकासमा गरेको लगानीको प्रतिफल तथ्यांकमा प्रष्ट देखिन्छ। अंकोर वाट भ्रमण गर्नेहरूले नै यसको मोटामोटी आकलन गर्न सक्छन्। राष्ट्रिय मुखपत्र अंकोर इन्टरप्राइजको वक्तव्य उद्धृत गर्दै, फ्नोम पेन्ह पोस्टले २०१८ मा अंकोर पुरातात्त्विक पार्कमा २६ लाख अन्तर्राष्ट्रिय पर्यटकले भ्रमण गरेको जानकारी दिएको थियो। कम्बोडियाली सरकारको तथ्यांकले फ्नोम पेन्हबाहेक सिएम रिप अंकोर अन्तर्राष्ट्रिय विमानस्थलमा सन् २०१९ मा झन्डै १३ लाख अन्तर्राष्ट्रिय यात्रु ओर्लिएको देखाउँछ।

null

थाइल्यान्ड, भियतनाम र लाओसका पर्यटक स्थलमार्गबाट पनि सहजै पुग्न सक्छन्। म सिएम रिप जान चढेको जहाज पुरै भरिएको थियो र पुगेको दिन अंकोर वाट पर्यटकले खचाखच भरिएको थियो । केन्द्रीय गर्भगृहमा पुर्‍याउने भर्‍याङ लाइन लागेर चढ्नुपर्थ्यो। अंकोर पुरातात्त्विक पार्कको प्रवेश शुल्क एक दिनको ३७, दुई दिनको ६२ र सात दिनको ७२ अमेरिकी डलर छ। औसत ५० डलर मात्रै माने पनि सन् २०१८ मा कम्बोडियाली सरकारले हवाई मार्गबाट आएका पर्यटकबाट मात्रै तेह्र करोड अमेरिकी डलर प्रवेश शुल्क संकलन गरेको देखिन्छ।

कोभिड-१९ महामारीपछि पर्यटक आगमनमा केही ह्रास आए पनि अंकोर पुरातात्त्विक पार्कको प्रवेश शुल्कबाट हुने वार्षिक आम्दानी सानोतिनो होइन। यदि सन् २०१८ मा हरेक हवाई मार्गबाट आएका अंकोर वाट पर्यटकले खाना, होटल र यातायातमा दैनिक क्रमशः २५, ४०, र २५ अमेरिकी डलरको दरले खर्च गरेको र ३ दिन मात्रै बसेको हिसाब गर्ने हो भने पनि थप ७० करोड २० लाख अमेरिकी डलर कम्बोडियाली अर्थतन्त्रमा भित्रिएको देखिन्छ। यसबाट कम्बोडियालीले पाएको आर्थिक लाभ र यी विविध आर्थिक क्रियाकलापहरूबाट कम्बोडियाली सरकारले आर्जन गरेको करको सहजै अनुमान गर्न सकिन्छ। स्थलमार्गबाट आउने क्षेत्रीय पर्यटकहरूबाट हुने आम्दानी त छुट्टै छ।

कम्बोडिया र अरू देश: नेपालले सिक्नुपर्ने पाठ
एकातिर सन् सत्तरीको दशकको खमेर रुज नरसंहारको तीतो इतिहास बोकेको (जतिबेला करिब २० लाख कम्बोडियालीले अनाहकमा आफ्नो ज्यान गुमाए), त्यसपछिको राजनीतिक अस्थिरता र छिमेकी देशहरूसँग लगातार भइरहने तनाव–झडप खेपेको र सीमित पर्यटकीय सम्पदाहरू भएको कम्बोडियाले आफ्नो पर्यटन क्षेत्रमा निक्कै ठूलो फड्को मारेको छ।

अर्कोतर्फ विश्वकै कैयौँ असाधारण प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरू हुने नेपालले न पर्यटकीय सम्पदाहरूलाई आफ्नो अर्थतन्त्र सुधार्ने माध्यम बनाउन सकेको छ, न आफैले तिनको उचित संरक्षण र संवर्द्धन गर्न सकेको छ। सन् २०१८ कै तथ्यांक हेर्ने हो भने त्यस वर्ष नेपालमा लगभग बाह्र लाख अन्तर्राष्ट्रिय पर्यटकले भ्रमण गरेका थिए। जबकि त्यस वर्ष २६ लाख अन्तर्राष्ट्रिय पर्यटकले कम्बोडिया भ्रमण गरेका थिए। सन् २०१९ को आँकडा अनुसार त सिएम रिप अंकोर अन्तर्राष्ट्रिय विमानस्थलमा मात्रै झन्डै तेह्र लाख यात्रु ओर्लिएका थिए जसमध्ये झन्डै–झन्डै शतप्रतिशत विदेशी हुने गर्छन्।

नेपालसँग अतुलनीय पर्यटकीय आकर्षण हुनुको साथै सांस्कृतिक पर्यटन, वन्यजन्तु पर्यटन, साहसिक खेलकुद र धार्मिक तीर्थयात्राको लागि महत्त्वपूर्ण सम्भावना भए पनि नेपालको पर्यटन क्षेत्र आफ्नो क्षमताभन्दा धेरै तल सञ्चालन भइरहेको छ। यस्तो अवस्था हुनुमा धेरै कारकहरूले योगदान गरे पनि रणनीतिक योजना नहुनु, नीति कार्यान्वयन र पूर्वाधार विकास गर्न नसक्नु, लगानी जुटाउन र लक्षित विज्ञापन गर्न नसक्नुले यस क्षेत्रको वृद्धि र दिगोपनामा बाधा पुर्‍याएको छ। यी सम्भावनाहरूलाई अविकसित नै छाडेको छ।

निरन्तर राजनीतिक अस्थिरता, काठमाडौँ बाहिरका अन्य प्रमुख आकर्षणहरूमा जाने राजमार्गहरूको दुर्दशा, पटक-पटक भइरहने हवाई दुर्घटना र नागरिक उड्डयन क्षेत्रमा सरकारको अपर्याप्त निगरानी, ट्रेकिङ मार्ग र क्षेत्रहरूमा गम्भीर फोहोरका समस्या र यसले निम्त्याएको वातावरणीय ह्रास, सेवा गुणस्तर मापदण्ड स्थापना र कार्यान्वयन गर्न नसक्नु, ‘फेक रेस्क्यु’देखाएर करोडौँ अमेरिकी डलर बराबर बीमा ठगी गर्ने गिरोह इत्यादि कुराहरू सर्वविदितै छन्। यी विषयहरूमा यहाँ छलफल गरिरहनु पनि पर्दैन।

बाल्यकालमा एउटा निजी सवारी साधनमा काठमाडौँबाट पोखरा जाँदा दिनभरि नै लागेको मलाई अझै सम्झना छ। फर्कँदा पनि दिनभर नै लागेको थियो। त्यही यात्रा मैले ५० वर्षपछि (सन् २०२३ मा) निजी सवारी साधनमै गर्दा पनि झन्डै–झन्डै दिनभरि नै लागेको थियो। जबकि अरू कुनै पनि विकसित देशमा २०० किलोमिटर पार गर्न निजी सवारीमा लगभग दुई घण्टा मात्र लाग्छ। त्यही दुरी पार गर्न पटक–पटक गरेर, सम्भवतः  करोडौँ डलर विदेशी ऋण लिएर बनाइएको पृथ्वी राजमार्गमा, अझै पनि दिनभरि नै लाग्छ।

null

यो हाम्रो राष्ट्रिय विडम्बना हो। हामीले बुझ्नुपर्ने कुरा के भने जबसम्म देश यस्तो अवस्थामा रहिरहन्छ, तबसम्म पर्यटन क्षेत्र मात्र नभई कुनै पनि क्षेत्र फस्टाउन सक्दैन। राष्ट्रिय स्थिरता हासिल गर्नु र न्यूनतम आधारभूत पूर्वाधार खडा गर्नु जतिसुकै टाढाको कुरा भए पनि तत्काललाई केही नीति निर्माण र तिनको इमानदारीपूर्वक कार्यान्वयन गर्न सके मात्र पनि देशले ठूलो आर्थिक उपलब्धि गर्न सम्भव छ।

यहाँ त्यस्तै केही सम्भावनाहरूको छोटकरीमा चर्चा गरिएको छ:

पहिलो, सबैभन्दा टड्कारो रूपमा सरकारी कमजोरी देखिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हो। अन्तर्राष्ट्रिय आगन्तुकहरूको मुख्य प्रवेशद्वार भए पनि यो विमानस्थल लामो समयदेखि सीमित भौतिक क्षमता, पुराना अथवा काम नगर्ने उपकरणहरू र परिचालन अक्षमताबाट ग्रस्त छ। जसले गर्दा नेपाल आउने पर्यटकमा पहिलो प्रभाव नै नकारात्मक पर्न जान्छ। आधारभूत सुविधा पनि नभएका शौचालय, ढिलो चेक-इन प्रक्रिया, सुरक्षाजाँचमा हुने ढिलासुस्ती, भएको एउटै क्याफ्टेरियामा हुने लामो लाइन, उदासीन मनोवृत्ति र सहयोग गरौँ भन्ने भावना नभएका कर्मचारी, हवाईजहाज उड्ने बेलासम्म सही समय र द्वारको सूचना दिन नसक्ने सूचना प्रदर्शन प्रणालीहरूले यात्रुका लागि निराशाजनक अनुभव सिर्जना गर्ने मात्र होइन, सिङ्गो देशको अन्तर्राष्ट्रिय प्रतिष्ठालाईसमेत क्षति पुर्‍याउँछ।

लगभग संसारभरि अनलाइन चेक–इन गर्ने व्यवस्था भइसक्दा पनि यहाँ कम्तीमा दुई घण्टा लाइन लागेर चेक–इन गर्नुपर्ने र लाजै लाग्ने व्यवस्था अझै कायम छ। कम्बोडिया जस्तो सानो मुलुकले अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाएर उत्कृष्टताका साथ सञ्चालन गर्न सक्छ भने हामीले किन नसक्ने?

दोस्रो, नेपालले आफ्नो प्रमुख पर्यटकीयस्थलहरू हेर्न आउने पर्यटकसँग उचित शुल्क लिनुपर्छ। काठमाडौँ उपत्यकाका तीन प्रमुख नगरपालिकाले पर्यटकसँग केही हदसम्म मुनासिब शुल्क लिए पनि अन्य स्थानमा उचित शुल्क लिइएको छैन। राष्ट्रिय निकुञ्जहरूको प्रवेश शुल्क जम्मा अमेरिकी डलर २० छ। अर्थात् जोकोही पर्यटकले सगरमाथा राष्ट्रिय निकुञ्जमा पैदल यात्रामा १५ दिन बिताए पनि जम्मा २० अमेरिकी डलर तिरे पुग्छ।

यो शुल्क कुनै पनि हिसाबले उचित र वैज्ञानिक होइन। तुलनात्मक रूपमा हेर्ने हो भने कम्बोडियाको अंकोर वाटको एक दिनको प्रवेश शुल्क ३७ अमेरिकी डलर छ। इटलीको भेनिस शहरको सेन्ट मार्क्स बेल टावर (जुन १५ मिनेटमा अवलोकन गर्न सकिन्छ) को प्रवेश शुल्क १० युरो छ। अमेरिकाको कुनै पनि राज्यको प्राकृतिक पार्कको प्रतिव्यक्ति प्रवेश शुल्क दिनको लगभग १० डलर हुन्छ। त्यस्तै, अमेरिकाको अरिजोना राज्यमा रहेको प्रसिद्ध आन्टेलोप क्यान्योन् (जुन एक घण्टाको निर्देशित पर्यटन मार्फत सम्पन्न गर्न सकिन्छ) को प्रवेश शुल्क घटीमा ९५ अमेरिकी डलर छ।

पेरुको माछुपिछु (जुन ३–४ घण्टामा निर्देशित पर्यटनमार्फत अवलोकन गर्न सकिन्छ) को प्रवेश शुल्क वयस्कलाई २०० अमेरिकी डलर छ। भुटानमा पारो विमानस्थलबाट जम्मा दुई घण्टा पर रहेको हा उपत्यका जाने पर्यटकसँग दिगो विकास शुल्क भनेर प्रतिव्यक्ति थप १०० अमेरिकी डलर लिइन्छ। अर्थात् जो कोही पर्यटक सगरमाथा अथवा अन्नपूर्ण क्षेत्रमा सालाखाला १० दिनको पैदल यात्रामा जाँदा हामीले त दैनिक जम्मा २ अमेरिकी डलर मात्रै लिएका छौँ। जबकि, इटलीको कुनै शहर अथवा ट्रेन स्टेसनमा एकपटक शौच गरेको १ युरो लिइन्छ। अर्थात् हामीले यो सबै लगभग सित्तैमा दिइराखेका छौँ।

युरोप र अमेरिकाका जुनसुकै संग्रहालयमा गए पनि (निःशुल्कबाहेक) प्रवेश शुल्क १५–३० युरो अथवा अमेरिकी डलर हुन्छ। हाम्रो राष्ट्रिय संग्रहालयमा विदेशीसँग मात्र १५० रुपैयाँ अथवा लगभग १ अमेरिकी डलर मात्रै लिइन्छ। हामीले आफ्ना राष्ट्रिय सम्पदाहरूको उचित संरक्षण र संवर्द्धन गर्ने हो भने प्रवेश शुल्क उचित र वैज्ञानिक बनाउनुपर्छ। हजारौँ माइल पार गरेर नेपाल घुम्न आएका कुनै पर्यटकले मुनासिब प्रवेश शुल्क लिँदा कुनै आपत्ति जनाउँदैनन्। यसो गर्दा मात्र पनि हाम्रो राजस्व सङ्कलनमा निकै ठूलो योगदान पुग्छ। हाम्रो प्रवेश शुल्क अन्तर्राष्ट्रिय सापेक्ष, उचित र वैज्ञानिक बनाउन नसक्नु हाम्रो आफ्नै कमजोरी हो।

तेस्रो, हामीसँग यथेष्ट सम्पदा छन्, यी सम्पदालाई आर्थिक विकासको महत्त्वपूर्ण चालकको रूपमा प्रयोग गर्ने विभिन्न रणनीति र योजना लागू गर्नुपर्छ। विशेष गरी दिगो आर्थिक चक्र सिर्जना र त्यसलाई चलायमान बनाउन ध्यान दिनुपर्छ। नेपाल सरकारले राष्ट्रिय ब्रान्डिङदेखि शहर र गाउँस्तरीय व्यवस्थापन रणनीतिसम्म, सांस्कृतिक र प्राकृतिक सम्पत्तिहरूलाई आर्थिक विकासमा रूपान्तरण गर्ने बहुआयामिक पर्यटन नीति अवलम्बन गर्नुपर्छ। राष्ट्रिय, क्षेत्रीय, नगर र पर्यटकहरूको लोकप्रिय गाउँपालिकाका अधिकारीहरूसँग समन्वय गरेर पर्यटन क्षेत्रलाई राष्ट्रिय र स्थानीय सरकारहरूले सम्पदा स्थलहरूमा पर्यटक पूर्वाधार सुधार गर्न, व्याख्यात्मक सामग्रीहरू वृद्धि गर्न र पहुँच पुर्‍याउन आफ्नो ध्यान पुर्‍याउनुपर्छ। साथै, गन्तव्य मार्केटिङको लागि डिजिटल प्लेटफर्म, मोबाइल एप्लिकेसनहरू, भर्चुअल रियालिटी अनुभवहरू र सामाजिक सञ्जाल अभियानहरूमा लगानी गरी सम्भावित अन्तर्राष्ट्रिय पर्यटकहरूलाई आकर्षण गर्ने प्रभावशाली योजना कार्यान्वयन गर्नुपर्छ।

null

नेपाल सरकारले बुकिङ प्रणालीहरू, संग्रहालय टिकेटिङ र पर्यटक सूचना सेवाहरूको डिजिटलाइजेसनमा लगानी गरेमा पर्यटन व्यवस्थापनमा मात्रै नभई तथ्यांक सङ्कलन र भविष्यमा पर्यटकका अनुभवहरू सुधार गर्दै जाने योजना बनाउनसमेत ठुलो योगदान पुग्नेछ।

रोम, फ्लोरेन्स र भेनिस जस्ता शहरले समयबद्ध प्रवेश प्रणाली र शिखर अवधिमा गतिशील मूल्य निर्धारणसहित परिष्कृत मूल्य निर्धारण रणनीतिहरू लागू गरेका छन्, जसले राजस्व अनुकूलन गर्दै पर्यटक प्रवाह व्यवस्थापन गर्न मद्दत गर्छ। यसरी यसरी संकलन गरिएका कोषहरूले राष्ट्रिय सम्पदाहरूको निरन्तर पुनर्स्थापना र तिनहरूलाई चुस्त राखिरहने कार्यलाई योगदान पुर्‍याउनुका साथै संरक्षण विशेषज्ञहरूलाई पनि रोजगारी दिन्छन्। नेपालले चाहेमा आफ्नै पर्यटनकेन्द्रित आर्थिक  चक्र सिर्जना गर्न नसक्ने भन्ने कुरा छैन।

चौथो, इटालियन शहरहरूको अनुभवबाट सिक्दै नेपालका नगरपालिका र गाउँपालिकाहरूले पनि आफ्नो क्षेत्रमा रात बिताउने पर्यटकमाथि स्थानीय पर्यटन कर लगाउन पाउने कानूनी व्यवस्था हुनु आवश्यक छ। यो कर कुनै होटल, होमस्टे वा अन्य आवास सुविधामा बस्ने हरेक पाहुनाले स्थानीय निकायलाई तिर्ने एक छुट्टै शुल्क हो जसको उद्देश्य शहर र गाउँलाई सफा, व्यवस्थित र पर्यटकमैत्री राख्न गरिने खर्चमा पाहुनाको प्रत्यक्ष योगदान सुनिश्चित गर्नु हो।

यस करको मूल उद्देश्य पर्यटन पूर्वाधारको विकास, सांस्कृतिक सम्पदा संरक्षण र वातावरणीय दिगोपना परियोजनाहरूको लागि स्थानीयस्तरमा कोष जुटाउनु हुनुपर्दछ। यो कर राज्यस्तरबाट एकीकृत रूपमा तय नगरी प्रत्येक स्थानीय तहले आफ्नै आवश्यकता र परिस्थितिअनुसार दर निर्धारण गर्न पाउने गरी लागू गर्नु उपयुक्त हुन्छ। कर प्रतिव्यक्ति, प्रतिरात गणना गरिनुपर्छ र यसको दर शहर वा गाउँ, आवासको प्रकार र सेवाको स्तरका आधारमा फरक हुन सक्छ। काठमाडौँमा एक दर, पोखरा र जोमसोममा अर्कै दर लगाउन सकिने व्यवस्था हुनुपर्दछ। व्यवहारमा, यो कर बुकिङको मूल मूल्यमा समावेश नगरी छुट्टै शीर्षकमा चेक-इनको बेला वा अन्तिम बिल तिर्दा आवास प्रदायकले सिधै पाहुनासँग सङ्कलन गर्नुपर्छ।

होटल र डिजिटल प्लेटफर्म (जस्तै Airbnb) मार्फत बुकिङ भएका अल्पकालीन भाडामा पनि यो कर समान रूपले लागू हुनुपर्छ ताकि कुनै पनि आवास प्रदायकले छुट नपाओस्। संकलित रकम सिधै सम्बन्धित स्थानीय तहमा जम्मा भई सांस्कृतिक सम्पदा संरक्षण, पूर्वाधार सुधार, सरसफाइ, भीडभाड व्यवस्थापन र आवश्यक सामुदायिक सेवाहरूमा खर्च हुनुपर्छ। एकैचोटि गर्न नसके पनि यसको दायरा प्रमुख पर्यटकीय केन्द्रहरूमा शुरू गरेर साना शहर र ग्रामीण गन्तव्यहरूमा समेत विस्तार गर्नुपर्दछ। यसो गर्दा मात्रै पनि बर्सेनि लाखौँ डलर बराबरको रकम नगरपालिका र गाउँपालिकाहरूको कोषमा जम्मा हुन्छ।

पाँचौँ, विशेष गरेर पहाडी र हिमाली क्षेत्रका होटल सञ्चालकहरूले उपलब्ध गराउने सेवाको उचित र व्यावहारिक मूल्य तोक्ने वातावरण नेपाल सरकारले सृजना गरी दिनुपर्छ। केही महिनाअघि म चुम उपत्यका पुगेको थिएँ। तल्लो भेगका होटल व्यवसायीले नेपालीसँग बसेको पैसा लिँदैनथे। माथिल्लो भेगमा भने होटलमा बसेको पैसा (जुन अति न्यूनतम थियो) स्थानीय समितिले उठाउँदो रहेछ। यसरी उठाएको पैसा तपाईँहरूलाई कसरी फर्केर आउँछ भनेर सोध्दा केही होटल व्यवसायीले अहिलेसम्म त्यो पैसा नदेखेको बताए। लामाबगरका एक होटल व्यवसायीसँग जिज्ञासापूर्वक एउटा कोठा बनाउन कति खर्च लाग्छ भनेर सोध्दा सबै सामान खच्चरलाई बोकाएर ढुवानी गर्नुपर्ने र कामदार पनि बाहिरबाट ल्याउनुपर्ने भएकाले प्रतिकोठा करिब २५ लाख पर्छ भने।

null

तर होटल व्यवसायीहरूको आय आर्जनचाहिँ मात्र खानाबाट रहेछ। जब यात्रु आउँछन्, जब ट्रेकसँग पथप्रदर्शक आउँछन्, तब ‘यति महँगो?’ भनेर मोलमोलाई हुँदो रहेछ। हामीले बुझ्नुपर्ने कुरा के भने, नेपालका दुर्गम हिमाली क्षेत्रमा लज सञ्चालन गर्नु भनेको केवल व्यापार होइन, त्यो एउटा कठोर जीवन संघर्ष हो। जब कुनै ट्रेकर थकित भएर लजमा पस्छ र न्यानो खाना पाउँछ, ओढ्ने ओछ्यान पाउँछ, त्यो सुविधा स्वतःस्फूर्त आएको होइन। त्यो कसैको पसिना, कसैको जोखिम, कसैको वर्षौँको मिहिनेतले सम्भव भएको हो। जहाँ न सडक छ, न पाइपलाइन, न सहज बजार। त्यहाँ चामलदेखि एलपी ग्याससम्म सब कुरा मान्छेको ढाड वा खच्चरको भारीमा कैयौँ दिन बाटो हिँडाएर ल्याइन्छ।

यो अकल्पनीय परिश्रम र लागतको बाबजुद, काठमाडौँ र पोखरामा बसेर मोटो नाफा कमाउने ट्रेकिङ कम्पनीहरूले यी व्यवसायीहरूसँग मोलमोलाइ गरेर सेवाको मूल्य न्यूनतम राख्दा रहेछन्। परिणामस्वरूप ती लज सञ्चालकहरू परिवार पाल्न हम्मेहम्मे परेर केवल बाँच्ने अवस्थामा हुँदा रहेछन्। त्यसकारण यी साहसी व्यवसायीहरूलाई सम्मान र न्यायोचित पारिश्रमिक दिन नेपाल सरकार, नेपाल पर्यटन बोर्ड र सम्बन्धित सबै निकायहरूले तत्काल हस्तक्षेप गरी भूगोलको कठिनाइलाई आधार मानेर हिमाली सेवाको न्यूनतम उचित मूल्य निर्धारण गर्नुपर्छ।

छैटौँ, नेपाल सरकारले हिमाली पर्यटन व्यवसाय सम्भव गराउने मात्र होइन, विशाल राजस्वको मुहान बोकेका भरियामाथि भइरहेको चरम शोषणको अन्त्य गर्न ठोस कदम पनि चाल्नुपर्छ। नेपालको ट्रेकिङ उद्योगमा अर्बौं रुपैयाँको कारोबार हुन्छ। विदेशी पर्यटक सगरमाथा आधार शिविरका लागि मात्र तीन हजारदेखि पाँच हजार अमेरिकी डलर र पूर्ण आरोहणका लागि एक लाख २० हजार डलरसम्म खर्च गर्छन्। सरकारले अनुमतिपत्र शुल्कबाट मात्र वार्षिक करिब दुई करोड डलर उठाउँछ। तर आफ्नो शरीरमै भारी बोकेर र ज्यान नै जोखिममा राखेर यो सबै सम्भव गराउने भरियाको अवस्था भने अत्यन्त दयनीय छ।

म आफैँ सगरमाथा आधार शिविर पुगेको छैन, तर अन्य हिमाली क्षेत्रमा भारी बोक्ने नेपालीको अवस्था देख्दा, सगरमाथा क्षेत्रमा भारी बोक्ने नेपालीको अवस्थामा केन्द्रित ‘हेर्ने कथा’ कार्यक्रमको भिडियो हेर्दा र अन्य सन्दर्भ सामग्री पढ्दा के भइराखेको छ भन्ने बुझ्न सकिन्छ। दैनिक न्यूनतम ज्याला तोकिए पनि व्यवहारमा धेरैले यो पनि नपाउँदा रहेछन्। भरियाका लागि सिफारिस गरिएको अधिकतम भार तीस किलोग्राम भए पनि (हिमाली भेगमा २० किलोग्राम)  व्यवहारमा विशेष गरी चिया घरमा सामान पुर्‍याउने भरियाले ५० किलोग्रामभन्दा बढी र कहिलेकाहीँ त त्यसभन्दा पनि धेरै सामान बोक्दा रहेछन्। ट्रेकिङ एजेन्सीहरूले खाना र बसाइको खर्च ज्यालाबाटै काट्दा रहेछन् र अन्त्यमा भरियाको हातमा नगण्य रकम मात्र बाँकी हुने रहेछ। कहिलेकाहीँ त शुद्ध ज्याला पनि बाँकी नरहेर भोकभोकै घर फर्कनुपर्ने रहेछ।

null

भरियालाई आफ्नो बीमा, भत्ता र उजुरी गर्ने अधिकारबारे जानकारी नै नहुँदो रहेछ। अझ यो शोषण आर्थिक मात्र नभई यो संरचना त जानाजान लादिएको रहेछ। ट्रेकिङ एजेन्सीहरूले भरियालाई पर्यटकसँग सिधा कुरा गर्नबाट रोक्दा रहेछन् र साहस गर्नेलाई अर्को सिजनमा काम नपाउने धम्की दिइँदो रहेछ। संसारकै सबैभन्दा खतरनाक पेसामध्ये एक भए पनि र ५० किलोभन्दा बढी भारी बोक्दा पनि उचित सुरक्षा उपकरण र प्रभावकारी बीमा नदिइँदो रहेछ। पर्यटन विभाग, श्रम मन्त्रालय, टान र एनएमए सबैले यो अवस्थाप्रति आँखा चिम्लेका रहेछन्। शोषणकारी एजेन्सीहरू कोहीप्रति जबाफदेही नहुँदा रहेछन्। सरकारको आँखामा भरिया केवल पर्यटन उद्योगका साधन मात्रै रहेछन्। राजस्वभन्दा महत्त्वपूर्ण श्रमिकको जीवन होइन रहेछ। त्यसैले, नेपाल सरकारले तत्काल ट्रेकिङ एजेन्सीहरूको कडा अनुगमन र नियमन गर्नु जरुरी छ।

अन्त्यमा,
कसैले गुगलमा ‘भ्रमणका लागि सबैभन्दा सस्तो देशहरू’ भनेर खोज्ने हो भने नेपालको नाम सूचीको माथितिरै देखिन्छ। ‘सस्तो’ भन्ने यही शब्दले हाम्रो पर्यटनको पहिचान बनेको छ। तर यो ‘सस्तो’ भन्ने ख्याति निःशुल्क आएको होइन। यसको मूल्य हाम्रा युगौँ पुराना सांस्कृतिक सम्पदाले चुकाइरहेका छन्— जो संरक्षणको अभावमा बिस्तारै खिइँदै छन्। यसको मूल्य बजेटको अभावमा थलिएका हाम्रा संग्रहालयहरूले चुकाइरहेका छन्। यसको मूल्य ट्रेकिङ एजेन्टहरूको थिचोमिचो सहेर पनि प्रतिकोठा २५ लाख खर्च गरी लज बनाउने ती साहसी हिमाली व्यवसायीहरूले चुकाइरहेका छन्। र सबैभन्दा महँगो मूल्य त ती हिमाली भरियाले चुकाइरहेका छन्, जसले आफ्नो ढाडमा पचासौँ किलोको भारी बोकेर अरूका सपना पूरा गर्छन्, तर आफूचाहिँ सिजनको अन्त्यमा खाली हात, कहिलेकाहीँ ऋणको बोझसमेत बोकेर घर फर्कन्छन्।

यो केवल एउटा उद्योगको विफलता होइन। यो राज्यको नैतिक दिवालियापन हो। जुन देशले आफ्नै नागरिकको पसिना र बलिदानमा उभिएको पर्यटन उद्योगबाट न्यायोचित राजस्व उठाउन सक्दैन, जुन सरकारले आफ्नो श्रमिकलाई संरक्षण दिन सक्दैन र जुन राज्यले आफ्नो अतुलनीय सम्पदाको प्रवेश शुल्क कौडीमा निर्धारण गर्छ— त्यो राज्यले आफ्नै भविष्य र आर्थिक समुन्नति सुधार्न अस्वीकार गरेको हो।

अंकोर वाट निर्माण गर्ने कम्बोडियालीले आँखा चिम्लेर काम गरे, रगत बगाए, ज्यान दिए। र, उनीहरूले छाडेको विरासतले आज उनीहरूकै वंशजको आर्थिक समुन्नतिमा ठूलो भूमिका खेलिरहेको छ। इतिहासको पीडालाई आजको अवसरमा रूपान्तरण गर्ने क्षमता नै कम्बोडियाको सबैभन्दा ठूलो उपलब्धि हो। हामीसँग पनि संसारलाई मोहित पार्ने सम्पदा छन्। तर ती सम्पदालाई राजस्वमा बदल्ने इच्छाशक्ति र व्यवस्थापकीय दक्षता हामीले अहिलेसम्म देखाएका छैनौँ। यो केवल पर्यटनको कुरा होइन। यो हाम्रो राष्ट्रिय आत्मसम्मानको प्रश्न हो।

कम्बोडियाले हामीलाई पाँच अटल सत्य सिकाएको छ:

एक, सम्पदा प्रवेश शुल्कको मूल्य निर्धारण डरबाट होइन, विवेकबाट हुनुपर्छ।
दुई, विमानस्थलदेखि सडकसम्म पूर्वाधार नै पर्यटनको मेरुदण्ड हो।
तीन, डिजिटल व्यवस्थापन र पारदर्शिता पर्यटकको विश्वास जित्ने सबैभन्दा सस्तो तरिका हो।
चार, स्थानीय होटल व्यवसायीदेखि भरियासम्म सबैले सम्मानजनक जीवन बाँच्न पाउनु पर्छ, किनकि उनीहरू नै यो उद्योगका असली स्तम्भ हुन्।
पाँच, राजनीतिक स्थिरता र दीर्घकालीन नीतिबिना कुनै पनि विकास भ्रम मात्र हो।

जब एक विदेशी पर्यटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको जीर्ण संरचनामा पाइला टेक्छ, लाइनमा घण्टौँ उभिन्छ र काठमाडौँबाट पोखरा पुग्न दिनभर सडकमा बिताउँछ, उसले नेपाललाई एउटा असफल राज्यको रूपमा चिन्छ। ५० वर्षमा काठमाडौँ–पोखरा सडक नफेरिनु केवल बजेटको समस्या होइन। त्यो हाम्रो सामूहिक मानसिकताको दर्पण हो। तर दर्पण बदल्न सकिन्छ।

सगरमाथा राष्ट्रिय निकुञ्जको प्रवेश शुल्क २० डलरबाट २०० डलर गर्नु, त्रिभुवन विमानस्थलका शौचालय सफा राख्नु, भरियाको न्यूनतम ज्याला र बीमा कडाइसाथ लागू गर्नु— यी साना कदम हुन्। तर यी साना कदम मिलेर ठूलो यात्रा बन्छ। कम्बोडियाको यात्रा पनि यस्तै साना कदमबाट शुरू भएको थियो। सम्पदा भएर मात्रै पुग्दैन— सम्पदालाई संरक्षण गर्ने र त्यसबाट आफ्नो अर्थतन्त्र उकास्ने बुद्धि र इच्छाशक्ति पनि चाहिन्छ। नेपालसँग सम्पदा छ, अब प्रश्न एउटै छ– बुद्धि र इच्छाशक्ति छ कि छैन?

(अमेरिकाको न्यू जर्सी इन्स्टिच्युट अफ टेक्नोलोजीमा कार्यरत लेखक मानवशास्त्री हुन्।)

पर्यटनको महत्व र नेपालले अवलम्बन गर्नुपर्ने बाटोको बारेमा यति स्पष्ट रूपमा राखिदिएको मा हार्दिक धन्यवाद राजु । हो, नेपालको प्रमुख आयश्रोतको रुपमा पर्यटनलाई प्राथमिकतामा राखेर हाम्रो संकृति र सम्पदाको जगेर्ना गर्दै उचित व्यवस्थापन गर्न सकेमा पर्यटनबाट बहुआयामिक लाभ लिन सकिन्छ ।

हेमनाथ घिमिरे

2 months, 1 week ago

Very well written and informative.

Shristi

2 months, 1 week ago

Great article — I truly enjoyed reading it. I also visited Angkor Wat in 2023 and had a very similar experience. In many ways, I believe the comparison is more relevant to Nepal than to Italy, since both Cambodia and Nepal are developing nations where tourism plays a vital role in the economy. Tourism is ultimately an industry, and Nepal could benefit from engaging experienced management consultants and tourism planners who can develop strategies to both increase visitor traffic and maximize tourism revenue, while preserving the country’s cultural and natural heritage.

GGiri

2 months, 1 week ago

(क) समालोचनात्मक समीक्षा (critical review) लेखका बलिया पक्षहरू: १. प्रत्यक्ष अनुभवमा आधारित गहिरो तुलना २. तथ्य र आँकडामा आधारित आर्थिक विश्लेषण ३. नेपालको संरचनात्मक कमजोरीको स्पष्ट पहिचान ४. श्रम न्याय र नैतिकताको पक्षमा बलियो आवाज लेखका कमजोरी वा सीमाहरू: १. कम्बोडियाको मोडेललाई अत्यधिक आदर्शीकृत रूपमा प्रस्तुत गरिएको छ २. नेपालको भौगोलिक र संरचनात्मक चुनौतीहरूको सीमित चर्चा ३. समाधानहरू राम्रो छन् तर अझ संरचित हुन सक्थे (ख) नेपालले सिक्नुपर्ने मुख्य पाठहरू पर्यटन विकासका पाठहरू: १. विश्वस्तरीय प्रवेश पूर्वाधार निर्माण २. पर्यटन सम्पदाको वैज्ञानिक मूल्य निर्धारण ३. सम्पूर्ण प्रणाली डिजिटल बनाउने ४. गन्तव्य ब्रान्डिङमा लगानी ५. स्थानीय सरकारलाई अधिकार र स्रोत दिने निष्पक्षता र श्रम न्यायका पाठहरू: १. भरियाको शोषण अन्त्य २. हिमाली क्षेत्रका होटल–लजलाई उचित मूल्य ३. स्थानीय शुल्क संकलनमा पारदर्शिता दिगोपनाका पाठहरू: १. पर्यटन आम्दानी संरक्षणमा लगानी २. वातावरणीय प्रभाव व्यवस्थापन ३. पर्यटन विविधीकरण (ग) अन्तिम सार: नेपालले अब के गर्नुपर्छ नेपालका लागि मार्गचित्र: १. राजनीतिक इच्छाशक्ति २. श्रम न्याय ३. दिगोपन ४. आधुनिकीकरण ५. राष्ट्रिय आत्मसम्मान विस्तारमा.... https://www.facebook.com/share/p/1DTjetA82J/?mibextid=wwXIfr

DD Kandel

2 months, 1 week ago

Click on the link for review comment - https://www.facebook.com/share/p/1B2gVYzynK/

Durga Dutta Kandel

2 months, 1 week ago

Very true information and a sad affair for Nepalese till now. However with the new government, we are all very hopeful. People like you should keep on writing, reminding authorities and high light such issues and their probable solutions.

Krishna Sharma

2 months, 1 week ago

Expertly written and deeply insightful article. The highly informative research findings translate into actionable recommendations. Its strategic depth makes it an essential resource for shaping the future of policy in developing nations.

Anil Subedi

2 months, 1 week ago

Well written article. Very informative and insightful findings and conclusions. The ideas presented here are highly significant guiding policy development and strategic initiatives in developing nations.

Anil Subedi

2 months, 1 week ago

It's a well written article; if the policy makers in Nepal do a serious reading; it could well possibly serve to open Nepal's door to economic prosperity in the short and long run.

Ambar Mainali

2 months, 1 week ago

प्रस्तुत लेखमा नेपालको धरातलीय र साशकीय यथार्थतालाई राम्रो चित्रण गर्नु भएकोमा बधाई छ । कम्बोडिया, हामीले सानै देखि सुन्दै आएको गृह युग्द, बाह्य हस्तक्षप र कुसाशनले ध्वस्त भएको देश । तर हाम्रो भन्दा राम्रोले देश हाँके, मुटुमा देश राख्नेले बिबेक प्रयोग गरे, खण्डहरहरु हीरा फल्ने फुल्ने आँगन बन्न सक्छ भन्ने नमूना हो । पर्यटन एउटै मात्र सम्भाव्य उद्योग रहेको र प्रचुर सम्पदाहरुको घर नेपालमा पर्यटन सधैं आर्यघाटको आरति मै सीमित भैराखेको छ । आशा छ, यो आलेखले कुर्सीमा बस्ने र सुत्नेहरुले केही सिकोस् ।

डा. सुशील ताम्राकार

2 months, 1 week ago

Cambodia’s tourism surge is no coincidence, it reflects planning, promotion, and persistence. Nepal now has an opportunity to learn, adapt, and rise. Thank you, Raju Dai, for your clearly articulated insights. Heaven is myth Nepal is real.

Mahesh

2 months, 2 weeks ago

Well written piece. Thank you Raju ji for the insight. Cambodia offers an instructive example of how a country can transform a single historic treasure into a national economic engine. Through sustained promotion of Angkor Wat and the broader Angkor Archaeological Park, Cambodia turned cultural heritage into a global tourism brand. What was once primarily an ancient monument became the centerpiece of national identity, international recognition, hospitality growth, and foreign exchange earnings. Nepal can draw a parallel and important lessons from this model. Nepal possesses world-class assets of its own: Mount Everest, Lumbini, the birthplace of Buddha, and the rich cultural heritage of Kathmandu Valley. Yet these attractions are often marketed separately rather than woven into one powerful, unified national story. Cambodia’s success shows that tourism thrives when a nation selects iconic symbols and builds infrastructure, branding, and visitor experiences around them. Nepal could elevate Lumbini as the spiritual center of global Buddhist pilgrimage, while also linking it with Himalayan adventure, wellness retreats, and heritage tourism. Better airports, roads, cleanliness, preservation, digital booking systems, and coordinated international campaigns would amplify the impact. Most importantly, Cambodia demonstrates that heritage is not merely about preserving the past-it can finance the future. For Nepal, the lesson is clear: natural beauty and sacred history are valuable assets, but only strategic vision can turn them into lasting prosperity.

SMSainju

2 months, 2 weeks ago