नारायणगढ–बुटवल सडक : दाउन्नेमा एकतर्फी ढलान सम्पन्न

आयोजनाका पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार करिब चार किलोमिटर क्षेत्रफलमा एकतर्फी रूपमा ढलान गरिएको हो।

फाइल तस्वीर

काठमाडौँ- नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत पूर्वी खण्डको दाउन्ने क्षेत्रमा सडकको एकतर्फी ढलान कार्य सम्पन्न भएको छ। आयोजनाका पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार करिब चार किलोमिटर क्षेत्रफलमा एकतर्फी रूपमा ढलान गरिएको हो।

उनका अनुसार ढलानको काम सकिएसँगै अब केही दिनभित्रै उक्त क्षेत्रमा पक्की सडकबाटै सवारी सञ्चालन गर्ने तयारी गरिएको छ। यसअघि ढलान नसकिँदा सामान्य वर्षामै सवारी जामको समस्या हुने गरेको थियो।

“दाउन्नेमा एकतर्फी ढलान सम्पन्न भएको छ, अब चाँडै नै यात्रा सहज हुनेछ,” सूचना अधिकारी खनालले भने। उनले थपे, “करिब चौध दिनपछि पूर्वी खण्डमा ढलान गरिएको सडकबाटै नियमित आवागमन गर्न सकिनेछ।”

दाउन्नेमा ढलान सम्पन्न भएसँगै आयोजनाको पूर्वी खण्डको  ६५ किलोमिटर सडक कालोपत्र तथा पक्की संरचनाले जोडिएको उनले जानकारी दिए। यद्यपि, पश्चिम खण्डमा भने अझै केही स्थानमा ढलान कार्य बाँकी रहेको छ।

नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको काम २०७५ माघ २४ गते सम्झौता भई २०७९ साउन २२ गते सम्पन्न गर्ने लक्ष्यसहित चिनियाँ निर्माण कम्पनीमार्फत शुरू गरिएको थियो। कुल ११३ किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरी निर्माण अघि बढाइएको छ। निर्धारित समयमा काम सम्पन्न हुन नसकेपछि पटक–पटक म्याद थप गरिएको छ र हाल चौथो पटक थपिएको म्यादमा काम भइरहेको छ।

एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा सञ्चालित यस आयोजनाको दुवै खण्डको कुल लागत करिब १७ अर्ब रुपैयाँ रहेको छ।-रासस