काठमाडौँ उपत्यकाका विभिन्न सुकुम्वासी बस्ती खाली गराएपछि होल्डिङ सेन्टरमा सारिएका परिवारहरू बालबालिकाको भविष्य र आफ्नो रोजगारीलाई लिएर चिन्तित बनेका छन्।
काठमाडौँ– सरकारले काठमाडौँ उपत्यकाका थापाथली, सिनामंगल, मनोहरा, शंखमूल र बालाजु लगायतका सुकुम्वासी बस्ती खाली गराएको छ। त्यहाँ बसोबास गर्दै आएका व्यक्तिहरूलाई हाल दशरथ रंगशालामा स्क्रिनिङ गरी कीर्तिपुरस्थित राधा स्वामी व्यास सत्संग, बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्र र भक्तपुरको खरिपाटीमा व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाइएको छ।
होल्डिङ सेन्टरमा राखिएका अधिकांश परिवारको साझा चिन्ता भने बालबालिकाको पढाइ बनेको छ। कीर्तिपुरस्थित केन्द्रमा बस्दै आएका डम्बर तामाङले छोरीले बनाएको चित्र देखाउँदै भने, “सरकारले हामीलाई कता सार्छ भन्ने टुंगो छैन, तर छोरीको पढाइ बिग्रिने हो कि भन्ने चिन्ता छ। यहाँ आएको आठ दिन भयो, खानबस्न ठीक छ, तर पढाइको व्यवस्था छैन।”

त्यहीँ बस्दै आएका मनोज महतोले पनि दुई सन्तानसहित चार जनाको परिवार रहेको बताउँदै बालबालिकाको शिक्षाका लागि व्यवस्था गरिदिन सरकारसँग आग्रह गरे। उनले भने, “बच्चाको पढाइका लागि केही पहल गरिदिए धेरै सहज हुन्थ्यो।”
कीर्तिपुरको होल्डिङ सेन्टरको अवस्था सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएजस्तो नकारात्मक नभएको त्यहाँ बस्नेहरूले बताएका छन्। हाल राधा स्वामी व्यास सत्सङ्गले खानपानको जिम्मा लिएको छ। १६ गतेदेखि बिहान–साँझ खाना तथा दुई पटक खाजा–चियाको व्यवस्था हुँदै आएको छ।

यसअघि होटेलबाट ल्याइने प्याकेट खानेकुराप्रति गुनासो गर्दै आएका बासिन्दाहरू अहिले सन्तुष्ट देखिन्छन्। विजय मगरले भने, “पहिले होटेलको प्याकिङ खाना पर्याप्त र गुणस्तरीय थिएन। अहिले भने घरजस्तै खाना पाइन्छ, थपेर खान पनि पाइन्छ।”
थापाथली बस्तीबाट आएका पदमबहादुर तामाङलाई भने कामको चिन्ताले सताउन थालेको छ। पहिले घरमा रङ लगाउने काम गर्दै आएका उनले बस्ती खाली गर्ने सूचना आएसँगै काम छाडेका थिए। अहिले उनी होल्डिङ सेन्टरमा टोलाउँदै बस्ने गरेका छन्।

शुरूका दिनमा खुला आकाशमुनि बस्नुपरेका उनीहरूले अहिले टेन्टको व्यवस्था भएपछि राहत महसुस गरेका छन्। करिब १५० वटा टेन्टको व्यवस्थासँगै वर्षाका बेला पानीको बाछिटा आउने समस्या पनि समाधान भएको उनीहरूको भनाइ छ।
शिविरमा सुत्केरी आमा र शिशुका लागि पौष्टिक खाना तथा दूधको व्यवस्था गरिएको छ। पाँच महिनाकी सुत्केरी अञ्जली पासवानले भनिन्, “बस्न र खानाको व्यवस्था राम्रो छ। बच्चाका लागि पनि पौष्टिक खाना उपलब्ध भइरहेको छ।”

त्यसैगरी, होल्डिङ सेन्टरमा स्वास्थ्य डेस्क सञ्चालनमा ल्याइएको छ, जहाँ बिरामीहरूको नियमित स्वास्थ्य परीक्षण भइरहेको छ।
उपत्यकाका सबै स्थानका बस्तीमा एकसाथ डोजर चल्दा धेरै मानिस वासविहीन भएका छन्। कोही होल्डिङ सेन्टरमा छन् भने कोही होटेल र आफन्तकोमा बस्दै आएका छन्। आर्थिक अवस्था अलि राम्रो हुनेहरू आफ्नै कोठा लिएर बसिसकेका छन्।
दैनिक ज्याला मजदुरी गर्नेहरू अहिले कामविहीन भएकाले छटपटिँदै बसेका देखिन्छन्। होल्डिङ सेन्टरको बसाइ राम्रो भए पनि सरकारले छिटो स्थायी वासको व्यवस्था गरिदिनुपर्ने उनीहरूको माग छ।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
