पहिरो पन्छाएपछि कान्तिलोकपथ पुनः सञ्चालनमा

मकवानपुरको भरेङडाँडामा खसेको पहिरो पन्छाएसँगै अवरुद्ध कान्तिलोकपथमा आइतबार अपराह्नदेखि यातायात पुनः सुचारु भएको छ।

फाइल तस्वीर

मकवानपुर– हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथअन्तर्गत भीमफेदी गाउँपालिका–८ भरेङडाँडामा गएराति खसेको पहिरो हटाएर यातायात सञ्चालन गरिएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार अपराह्नदेखि सडकको दुवैतर्फको यातायात सेवा सञ्चालनमा ल्याइएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पुस्कर बोगटीले मकवानपुरस्थित त्रिभुवन राजपथ, पूर्व–पश्चिम महेन्द्र राजमार्ग र भीमफेदी–कुलेखानी हुँदै काठमाडौँतर्फ जाने सडकमा हाल सबै प्रकारका यातायात सेवा सञ्चालन भइरहेको बताए।

यसैगरी, हेटौँडाबाट वीरगञ्ज, चितवनको नारायणगढ र भीमफेदीबाट हेटौँडातर्फ पनि यातायात सेवा सुचारु रहेको प्रहरीले जनाएको छ।