चैत १२ अघि नियुक्त १५ सयभन्दा बढी पदाधिकारी पदमुक्त

सरकारको सिफारिसमा राष्ट्रपतिले नयाँ अध्यादेश जारी गरेसँगै २०८२ चैत १२ गतेअघि नियुक्त विभिन्न सार्वजनिक निकायका १ हजार ५९४ पदाधिकारीहरू स्वतः पदमुक्त भएका छन्।

काठमाडौँ— विसं २०८२ चैत १२ गतेअघि सार्वजनिक निकायमा नियुक्त पदाधिकारीहरू स्वतः पदमुक्त भएका छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार जारी गरेको ‘सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था अध्यादेश, २०८३’ को दफा २ (१) मा उक्त व्यवस्था गरिएको छ।

उक्त दफामा सार्वजनिक पदाधिकारीहरूको नियुक्तिमा जुनसुकै शर्त, सुविधा र पदावधि तोकिएको भए पनि यो अध्यादेश प्रारम्भ भएपछि त्यस्ता पदाधिकारीहरू कार्यरत रहेको पदबाट स्वतः पदमुक्त हुने उल्लेख छ। कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले आज उक्त अध्यादेश सार्वजनिक गरेको हो।

अध्यादेशको दफा २ (२) मा पदमुक्त भएका पदाधिकारीलाई सम्बन्धित मन्त्रालयको सचिव वा निजले अख्तियारी दिएको अधिकारीले पदमुक्त भएको सूचना दिने व्यवस्था छ। दफा १ (२) बमोजिम यो अध्यादेश कार्यान्वयनमा आइसकेको छ।

प्रचलित कानूनबमोजिम नियुक्त तथा मनोनयन भएका सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा तत्काल कानूनी व्यवस्था गर्न आवश्यक भएको र हाल संघीय संसद्को अधिवेशन नभएकाले यो अध्यादेश जारी गरिएको प्रस्तावनामा उल्लेख छ।

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले प्रशासनिक सुदृढीकरण र राज्यका निकायलाई नयाँ गति दिने उद्देश्यले यो कदम चालेको हो। यो अध्यादेश जारी भएसँगै विभिन्न ऐन र संरचनाअन्तर्गत राजनीतिक नियुक्ति पाएका कुल १ हजार ५९४ पदाधिकारी एकमुष्ट पदमुक्त भएका छन्।