पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा शुरू

जल तथा मौसम विज्ञान विभागले हुरीबताससहित भारी वर्षा गराउने प्रणाली पूर्वतिर सर्दै गरेको जनाएको छ। यसको प्रभावले काठमाडौँ उपत्यकासहित बागमती र मधेश प्रदेशका अधिकांश स्थानमा वर्षा शुरू भएको छ।

काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले हुरीबताससहित भारी वर्षा गराउने प्रणाली पूर्वतिर सर्दै गरेको जनाएको छ। यसको प्रभावले काठमाडौँ उपत्यकासहित बागमती र मधेश प्रदेशका अधिकांश स्थानमा वर्षा शुरू भएको छ।

विभागका अनुसार हाल कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा हुरीबतास र चट्याङसहित मध्यम वर्षा भइरहेको छ। मौसमविद् सञ्जीव अधिकारीले पानी पार्ने प्रणाली पूर्वतिर सर्दै गइरहेको बताए।

हाल देशभर सक्रिय मौसम प्रणालीका कारण हुरीबतास, मेघगर्जन र चट्याङसहित वर्षा हुने विभागले जनाएको छ। मौसमविद् अधिकारीका अनुसार सुदूरपश्चिमबाट शुरू भएको यो प्रणाली लुम्बिनी हुँदै बागमती र मधेश प्रदेशसम्म फैलिसकेको छ। हुरीबतासको गति करिब ४० किलोमिटर प्रतिघण्टासम्म पुग्ने र केही स्थानमा करिब दुई घण्टासम्म यसको प्रभाव रहनेछ।

आज विशेष गरी भारी वर्षाको सम्भावना छ। साँझपछि भने वर्षा केही कम हुने अनुमान गरिएको छ। यद्यपि, साताभर नै वर्षा गराउने प्रणाली सक्रिय रहने विभागले उल्लेख गरेको छ।

हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भू-भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको संयुक्त प्रभाव छ। साथै, नेपालको दक्षिणी भू-भाग हुँदै पूर्वदेखि पश्चिमसम्म फैलिएको न्यून चापीय रेखाले पनि मौसममा प्रभाव पारिरहेको छ।

सुदूरपश्चिम प्रदेशमा पूर्ण बदली छ भने कोशी र कर्णालीका साथै लुम्बिनीको पश्चिमी क्षेत्र र हिमाली भू-भागमा सामान्य बदली रहेको छ। सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ।

आजको मौसम पूर्वानुमान
दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका साथै हिमाली र पहाडी भू-भागका केही स्थानमा र तराईका थोरै स्थानमा हुरी, असिना र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। यी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ। राति पनि देशभर सामान्य बदली रही धेरैजसो स्थानमा वर्षा हुने सम्भावना छ।

मंगलबार र बुधबारको अवस्था
मंगलबार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। बुधबार पनि यी क्षेत्रका साथै अन्य प्रदेशका पहाडी तथा हिमाली भू-भागमा बदली रहनेछ। ती क्षेत्रका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा र तराईमा हल्का वर्षा हुन सक्ने अनुमान छ।

विभागले हुरीबतास, चट्याङ र सम्भावित भारी वर्षाबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।