आईसीसी विश्वकप लिग–२ : नेपाल आज ओमानसँग प्रतिस्पर्धा गर्दै

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल, यूएई र ओमानबीच जारी एक दिवसीय शृंखलामा नेपालले आज आफ्नो चौथो खेल ओमानसँग खेल्दैछ।

आईसीसी विश्वकप लिग–२ : नेपाल आज ओमानसँग प्रतिस्पर्धा गर्दै
नेपाल क्रिकेट संघ
फाइल तस्वीर

काठमाडौँ- आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल, यूएई र ओमानबीच जारी एक दिवसीय शृंखलामा नेपालले आज आफ्नो चौथो खेल खेल्दैछ। नेपालले आजको खेलमा ओमानसँग प्रतिस्पर्धा गर्न लागेको हो। खेल बिहान साढे ९ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुरू हुनेछ। 

यसअघि आफ्नो पहिलो खेलमा नेपालले यूएईलाई पराजित गर्दै शृंखलामा सुखद शुरूआत गरेको थियो। वर्षाले प्रभावित दोस्रो खेलमा भने नेपाल ओमानसँग पराजित भएको थियो। तेस्रो खेलमा यूएईलाई हराएर नेपाले यो सिरिजमा ४ अंक पाइसकेको छ। ओमानविरुद्धको खेल जिते विश्वकप लिग–२ तालिकामा नेपालको थप २ अंक जोडिने छ।

लिग–२ को अंकतालिकामा नेपाल २३ खेलबाट १६ अंक जोडेर सातौँ स्थानमा रहेको छ। ओमान भने २७ खेलमा ३१अंकसहित तेस्रो स्थानमा रहेको छ। नेपालका लागि शीर्ष टोलीहरूसँगको प्रतिस्पर्धामा स्थान सुधार गर्न अबका खेल निकै महत्वपूर्ण मानिएको छ। विश्वकप लिग–२को तालिकाको शीर्ष स्थानमा अमेरिका छ। उसले २४ खेलबाट ३६ अंक बनाएको छ।