दशरथ रंगशाला पुगी ३ हजारभन्दा बढी सुकुमवासी परिवारले टिपाए नाम

काठमाडौँका विभिन्न सुकुमवासी बस्तीका प्रभावितको लगत संकलन गर्ने क्रममा हालसम्म ३ हजार १११ परिवारले दशरथ रंगशालामा आफ्नो विवरण दर्ता गराएका छन्।

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा रहेका सुकुमवासी बस्ती हटाइएपछि प्रभावित परिवारहरूको विवरण संकलन कार्यलाई जारी छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नाम दर्ता गराउने परिवारको संख्या हालसम्म ३ हजार १११ पुगेको छ।

बागमती सभ्यता एकीकृत विकास समिति र उपत्यका विकास प्राधिकरणले वैशाख १२ गतेदेखि संयुक्त रूपमा रंगशालामा प्रभावित परिवारहरूको तथ्यांक संकलन गरिरहेका छन्। उक्त परिसरको पश्चिमतर्फ छुट्टाछुट्टै डेस्क स्थापना गरी परिवारहरूको फारम भर्ने तथा आवश्यक विवरण संकलन गर्ने प्रक्रिया अघि बढाइएको छ।

null

प्रभावित नागरिकको आधारभूत आवश्यकता सम्बोधन गर्न विभिन्न सहायक सेवाहरू पनि सञ्चालनमा ल्याइएको छ। रंगशाला परिसरभित्रै स्वास्थ्य परीक्षण, खानपानको व्यवस्था तथा राष्ट्रिय परिचयपत्र निर्माणको सेवा उपलब्ध गराइएको छ। यी सबै व्यवस्थापन तथा समन्वयको जिम्मेवारी काठमाडौँ महानगरपालिकाले सम्हालेको छ।

होल्डिङ सेन्टरका ५२ बालबालिका आजदेखि विद्यालय जान थाले
राधास्वामी सत्संग व्यास आश्रममा रहेका ५२ जना बालबालिका आजदेखि विद्यालय जान थालेका छन्। काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले सोमबार विद्यार्थी र अभिभावकसँग परामर्श गरेर उनीहरूको रुचि र आवश्यकता पहिचान गरेपछि आजदेखि वडा नं १४ मा रहेको जनविकास माध्यमिक विद्यालयमा पठाउन थालिएको कामपाका शिक्षा अधिकारी नमराज ढकालले बताए।

नदीकिनारमा अव्यवस्थित बसोबास गरिरहेका घरटहरा खाली गराउने क्रममा थापाथली, गैरीगाउँ र सिनामंगलसहित विभिन्न स्थानबाट ल्याइएका ६६ परिवारका २०३ जना अहिले आश्रममा छन्। उनीहरूमध्ये अपाङ्गता भएका एक जनासहित ६२ पुरुष, तीन सुत्केरी, दुई गर्भवतीसहित ८० महिला, ३१ बालिका र ३० बालक छन्।

null

यी परिवारमा रहेका बालबालिकामध्ये ५२ जना विद्यालय उमेरका छन्। चार जनाले यस वर्ष एसईई दिएका छन्। उनीहरू कम्प्युटर, सिलाइबुनाइजस्ता सीप सिक्न चाहन्छन्। कामपाले उनीहरूले चाहेको सीपमूलक तालिमको प्रबन्ध गर्ने योजना बनाएको ढकालले जानकारी दिए।

विद्यालय उमेरका विद्यार्थीमध्ये ३० जनाका अभिभावकले आफ्ना नानीबाबुलाई छात्रवासमा राखेर पढाउने चाहना राखेको पनि उनले बताए। कामपा शिक्षा विभागका वरिष्ठ शाखा अधिकृत सुशील सुवेदीका अनुसार छात्रवास बस्न इच्छुकहरूमा ११ छात्रा र १९ छात्र छन्। सुवेदीका अनुसार विद्यार्थीलाई आवश्यक पर्ने पोसाक तथा शैक्षिक सामग्रीसम्बन्धी आवश्यकतासमेत माग गरिएको छ।

null

छात्रवासमा राखेर आवास सुविधासहितको अध्ययनका लागि प्याब्सन, एनप्याब्सन र हिसानमार्फत कामपाले अनुरोध समेत गरिसकेको छ। कामपाका निर्देशक वसन्त आचार्यका अनुसार १० वर्ष उमेर भएका बालबालिकालाई मात्र छात्रवासमा राख्न उपयुक्त हुने सुझाव प्राप्त भएपछि महानगरले त्यही अनुरूप व्यवस्थापनको प्रयास गरिरहेको छ। निजी तथा संस्थागत विद्यालयबाट खबर प्राप्त भएपछि इच्छुक र योग्य बालबालिकालाई छात्रवास पठाइनेछ।

कामपाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले आइतबार प्याब्सन र एनप्याब्सनका पदाधिकारीसँग बसेर होल्डिङ सेन्टरमा रहेका बालबालिकाका लागि संस्थागत विद्यालयमा आवास सुविधासहित निःशुल्क अध्ययनको व्यवस्था मिलाउन आग्रह गरेकी थिइन्।