व्यवसायी गोल्छालाई हिरासतमा राख्न अदालतले दिएन अनुमति

काठमाडौँ जिल्ला अदालतले व्यवसायी शेखर गोल्छालाई हिरासतमा राखी अनुसन्धान गर्न म्याद थपको अनुमति दिन अस्वीकार गरेको छ।

काठमाडौँ—काठमाडौँ जिल्ला अदालतले व्यवसायी शेखर गोल्छालाई अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति नदिने आदेश दिएको छ।

न्यायाधीश मोना सिंहको इजलासले मंगलबार गोल्छालाई हिरासतमा राखी अनुसन्धान गर्न म्याद थपको अनुमति दिन नमिल्ने आदेश गरेको हो। अदालतको यस आदेशसँगै व्यवसायी गोल्छा थुनामुक्त हुने भएका छन्।

अदालतको आदेशमा भनिएको छ, “प्रतिवादी शेखर गोल्छालाई हिरासतमै राखी मुद्दाको अनुसन्धान गर्नु पर्नेसम्मको अवस्था विद्यमान रहेको नदेखिएकाले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४(३) बमोजिम प्रतिवादीलाई हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप गर्न मिलेन।”

व्यवसायी गोल्छालाई धितोपत्र कसुरमा अनुसन्धानका लागि प्रहरीले यही वैशाख १४ गते पक्राउ गरेको थियो। त्यसपछि सिमा गोल्छाले आफ्ना पति शेखर गोल्छालाई गैरकानूनी र अन्यायपूर्ण ढंगले थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दायर गरेकी थिइन्।

उक्त निवेदनमाथि सुनुवाइ गर्दै सोमबार सर्वोच्च अदालतले धितोपत्रसम्बन्धी कसुरमा हिरासतमा रहेका गोल्छालाई थुनामा राख्ने शुरूको आदेश बदर गर्दै धरौटी वा जमानत माग गर्न परमादेश जारी गरेको थियो। त्यसलगत्तै धरौटी बुझाएर थुनामुक्त भएका गोल्छालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बीमा ऐन, २०७९ अन्तर्गतको छुट्टै कसुरमा पुनः पक्राउ गरेको थियो।