बीपी राजमार्गको खुर्कोट–भकुण्डेबेँसी सडकखण्डमा राति सवारी सञ्चालनमा रोक

बीपी राजमार्गअन्तर्गत खुर्कोट–भकुण्डेबेँसी सडकखण्डमा बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा रोक लगाइएको छ।

तस्वीर : विजेन अमात्य/नेपाल फोटो लाइब्रेरी

काभ्रेपलान्चोक— जिल्ला सुरक्षा समिति काभ्रेपलान्चोकले बीपी राजमार्ग अन्तर्गत खुर्कोट–भकुण्डेबेँसी सडकखण्डमा मंगलबारदेखि लागू हुने गरी राति १२ घण्टा सवारी आवागमन पूर्ण रूपमा रोक लगाउने निर्णय गरेको छ।

अविरल वर्षा र बाढीका कारण सडक जोखिमपूर्ण बनेपछि जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकले खुर्कोट–भकुण्डेबेँसी सडकखण्डमा बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाएको हो। यो प्रतिबन्ध अर्को सूचना जारी नभएसम्मका लागि कायम रहनेछ।

गत वर्षको बाढीले क्षतिग्रस्त भई हाल निर्माण तथा स्तरोन्नति भइरहेको कटुन्जेबेँसी–नेपालथोक खण्डमा सामान्य वर्षामा समेत सडक अवरुद्ध हुने र रोशी खोलाको बाढीले यात्रु तथा सवारीसाधन उच्च जोखिममा पर्ने देखिएकाले यस्तो निर्णय लिइएको प्रशासनले जनाएको छ।

प्रशासनका अनुसार २०८३ वैशाख २२ गते रोशी गाउँपालिका–७ को घुमाउने क्षेत्रमा आएको लेदोसहितको बाढीमा सवारीसाधन फस्दा ८९ जनाको ज्यान जोखिममा परेको घटनाले सुरक्षा चुनौती बढाएको हो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशन र सिन्धुली तथा काभ्रेपलान्चोकका प्रमुख जिल्ला अधिकारीहरूबीचको समन्वयमा रात्रिकालीन यात्रामा रोक लगाइएको हो।

साथै, मौसम र बाढीको अवस्था हेरी अन्य समयमा पनि आवश्यक परे अस्थायी रूपमा सवारी रोक्न सकिने प्रशासनले जनाएको छ। यात्रुहरूलाई यात्रा तय गर्नुअघि नजिकका प्रहरी कार्यालय वा जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रमार्फत सडकको अवस्था बुझ्न आग्रह गरिएको छ।