शुक्लाफाँटा नगरपालिकाअन्तर्गत पर्ने दोदा, वनहरा र स्याली नदीका बगरमा किसानले व्यावसायिक तरकारी खेती गर्दै आएका छन्।
कञ्चनपुर– नदीका बगरलाई उत्पादनका लागि अनुपयुक्त मानिन्छ। वर्षायाममा पानीले भरिने र बाँकी समय सेताम्मे बालुवा मात्र रहने बगर त्यसै खेर जाने गर्छन्। तर कञ्चनपुरका किसानले यही बगरलाई अवसरमा परिणत गर्दै तरकारी खेतीमार्फत मनग्य आम्दानी गर्दै आएका छन्।
शुक्लाफाँटा नगरपालिकाअन्तर्गत पर्ने दोदा, वनहरा र स्याली नदीका बगरमा किसानले व्यावसायिक तरकारी खेती गर्दै आएका छन्। विगत साढे दुई दशकदेखि निरन्तर रूपमा बगर खेती गर्दै आएका किसानले यसबाट आफ्नो जीवनस्तरमा उल्लेखनीय सुधार ल्याएका छन्।
शुक्लाफाँटा नगरपालिका–१२ स्थित दोदा नदीको बगरमा करिब २५ वर्षदेखि खेती गर्दै आएका ठगी राना यसका जिउँदा उदाहरण हुन्। उनका अनुसार माघ महिनामा रोपिने लौका, काँक्रा, तरबुजा, प्याज, गोलभेँडा र तीतेकरेला वैशाखको सुरुवातसँगै बजारमा पुग्न थाल्छन्। “एक सिजनमा झन्डै दुई लाख रुपैयाँसम्म आम्दानी हुन्छ,” उनले भने, “यही आम्दानीले परिवारको खर्च धान्न सहज भएको छ।”
वर्षाको समयमा दोदा नदीमा पानी बग्ने भएकाले खेती सम्भव हुँदैन। तर वर्षा सकिएपछि बालुवाले सेताम्मे हुने बगरमा तरकारी खेतीले हरियाली छाउँछ। राना जस्तै करिब २० परिवारले उक्त क्षेत्रमा सामूहिक रूपमा तरकारी खेती गर्दै आएका छन्। सीमित जमिन भए पनि पाँचदेखि दस कट्ठासम्म क्षेत्रफलमा गरिएको खेतीले राम्रो प्रतिफल दिइरहेको किसानहरू बताउँछन्।
बजार प्रणालीमा आएको परिवर्तनले पनि बगर खेतीलाई थप सहज बनाएको छ। पहिले किसानले उत्पादन गोरुगाडामा राखेर गाउँ–गाउँ पुर्याई गहुँलगायत अन्नसँग साट्ने गर्थे। स्थानीय किसान उपदेव रानाका अनुसार अहिले व्यापारीहरू नै बारीमा पुगेर तरकारी खरिद गर्न थालेका छन्। “बिक्री नभएको तरकारी मोटरसाइकल र साइकलमा राखेर बजारसम्म पुर्याउँछौँ,” उनले भने।
अझै पनि केही किसानले परम्परागत अन्नसँग तरकारी साट्ने वस्तु विनिमय प्रणालीलाई निरन्तरता दिएका छन्। सुखी रानाका अनुसार नगदमा बिक्री गर्नुभन्दा गहुँसँग तरकारी साट्दा बढी फाइदा हुने उनको अनुभव छ। “हामी अझै पनि अन्नसँग साटासाट गर्ने चलनलाई जोगाइरहेका छौँ,” उनले भने, “यसबाट नगदभन्दा बढी फाइदा हुन्छ।”
वनहरा नदीको बगरमा खेती गर्दै आएकी सरस्वती रानाले गत वर्ष तीन लाख रुपैयाँसम्म आम्दानी गरेकी थिइन्। “यस वर्ष उत्पादन केही कम भए पनि दुई लाखभन्दा बढी आम्दानी हुनेमा ढुक्क छु,” उनले भनिन्। उनका अनुसार बीउबीजन, मलखाद, विषादी, घेराबार र जङ्गली जनावरबाट जोगाउन जाली लगाउँदा करिब ५० हजार रुपैयाँ खर्च हुन्छ।
स्याली नदीको बगरमा खेती गर्ने लोकेन्द्र रानाले यस सिजनमा काँक्रा बिक्रीबाट मात्रै २० हजार रुपैयाँभन्दा बढी आम्दानी गरिसकेका छन्। उनका अनुसार सिजनभरि सबै तरकारी बिक्री गर्दा करिब दुई लाख रुपैयाँ आम्दानी हुने गरेको छ। स्याली नदीको बगरमा वडा नं ३ देखि १२ सम्मका एक सयभन्दा बढी परिवार बगर खेतीमा आबद्ध छन्।
कुनै समय यी बगर क्षेत्रमा भारतीय किसानको दबदबा रहने गरेको स्थानीय किसान सम्झन्छन्। भारतीयबाटै खेती गर्ने सीप सिकेपछि अहिले स्थानीय किसान आफैँ आत्मनिर्भर भएका छन्। यसले स्थानीय उत्पादन वृद्धि हुनुका साथै रोजगारी सिर्जनामा समेत योगदान पुर्याएको छ।
बगर खेतीको अर्को विशेषता भनेको कम रोग–किरा लाग्नु हो। तातो बालुवायुक्त जमिनमा किराहरू टिक्न नसक्ने भएकाले उत्पादनमा क्षति कम हुने किसान इतवरिया राना बताउँछन्। “यसले लागत घटाउँछ र नाफा बढाउँछ,” उनले भने।
हाल स्याली, सनवोरा र दोदा नदीका बगरमा गरी झन्डै छ सयभन्दा बढी किसान परिवार तरकारी खेतीमा संलग्न छन्। शुक्लाफाँटा नगरपालिका वडा नं १२ का वडाअध्यक्ष नवल सिंह रानाका अनुसार बगर खेतीबाट मात्रै वार्षिक दुई करोड रुपैयाँभन्दा बढीको तरकारी उत्पादन हुने गरेको छ।
“यसले स्थानीय अर्थतन्त्रमा ठूलो टेवा पुर्याएको छ,” उनले भने। उत्पादन भएका तरकारी चोरी हुनबाट र स्याललगायत जङ्गली जनावरबाट जोगाउनका लागि किसानले झोपडी बनाएर बगरमै बस्ने गरेका छन्। जङ्गली जनावरलाई बारीमा पस्नबाट रोक्नका लागि पछिल्लो समय प्लास्टिकको नेट लगाउने गरिएको छ।
“नदी किनारका बगरहरू अब खेर जाँदैनन्,” वडाअध्यक्ष रानाले भने, “मेहनत, अनुभव र स्थानीय सीपको प्रयोगले ती बगरहरू किसानका लागि आयआर्जनको बलियो आधार बनेका छन्। उचित प्रविधि, सिँचाइ र बजार व्यवस्थापनमा थप सुधार हुन सके बगर खेतीले अझ व्यापक आर्थिक सम्भावना बोकेको देखिन्छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
