हेटौँडामा ट्रकको ठक्करबाट प्रहरी सहायक हवल्दारको मृत्यु

पूर्व-पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको थानाभर्‍याङमा बिहीबार ट्रकले स्कुटरलाई ठक्कर दिँदा नेपाल प्रहरीका एक सहायक हवल्दारको ज्यान गएको छ।

बागमती– हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित सडकमा बिहीबार दिउँसो ट्रकले स्कुटरलाई ठक्कर दिँदा नेपाल प्रहरीका एक सहायक हवल्दारको मृत्यु भएको छ।

नवलपुरबाट हेटौँडा बजारतर्फ आउँदै गरेको बा प्र ०३–००५ प १४१५ नम्बरको स्कुटरलाई सोही दिशाबाट आउँदै गरेको ना ५ ख ५२५२ नम्बरको फलाम बोकेको ट्रकले पछाडिबाट ठक्कर दिएको थियो। दुर्घटनामा स्कुटर चालक ३६ वर्षीय किरण श्रेष्ठको मृत्यु भएको हो। नुवाकोटको ताँदी गाउँपालिका–६ घर भएका श्रेष्ठ नेपाल प्रहरी विशेष सुरक्षा गण, रातोमाटे मकवानपुरमा प्रहरी सहायक हवल्दारका रूपमा कार्यरत थिए।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (प्रनाउ) पुष्कर बोगटीका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका लागि तत्काल हेटौँडा अस्पताल पठाइएको थियो। अस्पताल पुर्‍याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

ठक्कर दिने ट्रक र चालक बाराको जितपुर सिमरा उपमहानगरपालिका–२ निवासी २४ वर्षीय रञ्जित कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।