बेलायतमा थरीथरीका थर

आधुनिक अध्ययनहरूले थरहरूमार्फत पुरानो आप्रवासन, बसोबास र पारिवारिक सम्बन्ध बुझ्न सकिने देखाएका छन्। यसले थरलाई सामाजिक पहिचान मात्र नभई ऐतिहासिक प्रमाणका रूपमा पनि स्थापित गरेको छ।

बेलायती राजपरिवार, जसलाई आज ‘विन्डसर’ थरले चिनिन्छ, यो नाम सधैँ यस्तो थिएन। पहिले यो जर्मन मूलको स्याक्स–कोबर्ग एन्ड गोथा घराना थियो। महारानी भिक्टोरियाले जर्मन राजकुमार प्रिन्स अल्बर्टसँग विवाह गरेपछि राजपरिवारको सम्बन्ध स्याक्स–कोबर्ग एन्ड गोथासँग जोडिएको थियो। त्यो समय युरोपका धेरै राजपरिवारहरू एकअर्कासँग वैवाहिक सम्बन्धमा बाँधिएका थिए र स्याक्स–कोबर्ग एन्ड गोथा वंश युरोपका धेरै सिंहासनहरूसँग सम्बन्धित शक्तिशाली शाही परिवारमध्ये एक मानिन्थ्यो। बेल्जियम, पोर्चुगल, बुल्गेरियाजस्ता देशका राजपरिवारहरूसमेत यसै वंशसँग जोडिएका थिए। उनीहरूलाई हाउस अफ ‘ब्याटन बर्ग’ पनि भनिन्थ्यो। यो त्यहाँको राजपरिवारसँग जोडिएको जर्मनीको एउटा स्थानको नाम हो।

तर, प्रथम विश्वयुद्धको समयमा बेलायत र जर्मनी एकअर्काविरुद्ध लडे र बेलायती जनतामा जर्मन नामप्रति आक्रोश बढ्यो। त्यस समय राजा जर्ज पाँचौँले जनताको भावना बुझेर सन् १९१७ मा राजपरिवारको थर परिवर्तन गरी ‘विन्डसर’ राखे। यो थर विन्डसर क्यासलबाट लिइएको हो, जुन बेलायती राजतन्त्रको पुरानो र महत्त्वपूर्ण निवासस्थान हो। यो नामले बेलायती इतिहास, निरन्तरता र राष्ट्रिय गौरवलाई प्रतिनिधित्व गर्दछ।

‘विन्डसर’ नामले युद्धको समयमा जनतालाई राजसंस्था राष्ट्रसँगै उभिएको देखाउन मद्दत गर्‍यो। यो थर ‘स्याक्स–कोबर्ग एन्ड गोथा’भन्दा धेरै सजिलो र राष्ट्रिय भावनासँग मेल खाने थियो। नाम परिवर्तनपछि शाही परिवारको सार्वजनिक छवि पनि परिवर्तन भयो। बेलायतका समाचारपत्रहरूले यसलाई देशभक्तिपूर्ण कदमका रूपमा व्याख्या गरे। जनताले पनि राजपरिवार अब विदेशी प्रभावभन्दा ब्रिटिस पहिचानतर्फ झुकेको महसुस गरे। त्यसपछि बेलायती राजपरिवारलाई ‘हाउस अफ विन्डसर’ भनेर चिनिन थालियो, जुन आजसम्म कायम छ।

वर्तमान राजा चार्ल्स तृतीयदेखि राजपरिवारका नयाँ पुस्तासम्म यही वंशीय नामसँग जोडिएका छन्। कानूनी कागजातहरूमा ‘माउन्टब्याटेन–विन्डसर’जस्तो विस्तारित नाम प्रयोग गरिन्छ, जसले रानी एलिजाबेथ दोस्रोको वंश र प्रिन्स फिलिपको पारिवारिक नामलाई जोड्छ।

‘माउन्टब्याटेन’ शब्दको प्रयोग पनि रोचक छ। आफ्नो वंशको केही न केही संकेत राख्नको लागि खोजी गर्दा ‘ब्याटेन बर्ग’लाई अंग्रेजी रूप दिन खोजिएको हो। ‘ब्याटेन बर्ग’ त्यहाँको राजतन्त्रसँग जोडिएको एउटा ठाउँको नाम हो। त्यसैले उनीहरूलाई हाउस अफ ब्याटन बर्ग पनि भनिन्थ्यो। जर्मनी भाषामा बर्ग भनेको पहाड हो। त्यसैले यो ब्याटन पहाडजस्तो सुनिने भएकोले अंग्रेजीमा ‘माउन्टब्याटेन’ लेख्ने निर्णयमा पुगेका थिए।

‘विन्डसर’ नाम एउटा राजनीतिक निर्णयबाट जन्मिएको शाही पहिचान हो, जसले राष्ट्रको भावनालाई प्रतिनिधित्व गर्दछ। यसरी ‘विन्डसर’ नाम परिवर्तन गर्नु राजनीतिक दबाब, राष्ट्रिय पहिचानको खोजी र राजसंस्थाको छवि जोगाउने प्रयास थियो।

हामीले प्रयोग गर्ने नाम केवल बोलाउनका लागि मात्र होइन, यसले हाम्रो परिवार, समाज र इतिहासलाई पनि प्रतिबिम्बित गर्दछ। बेलायतका थरहरूको अध्ययन गर्नु भनेको नामहरूको सूची हेर्नु मात्र होइन, एउटा देशको लामो सामाजिक इतिहास बुझ्नु पनि हो।

बेलायतमा थरको प्रयोग मध्ययुगतिर शुरू भएको मानिन्छ। त्यसअघि धेरै मानिसहरूलाई एउटै नामले चिनिन्थ्यो। गाउँ सानो हुन्थ्यो र मानिसहरू एकअर्कालाई राम्रोसँग चिन्थे, त्यसैले धेरै पहिचानको आवश्यकता पर्दैनथ्यो। तर जनसंख्या बढ्दै गएपछि एउटै गाउँमा धेरै ‘जोन’, ‘विलियम’ वा ‘थोमस’ हुन थाले र उनीहरूलाई छुट्याउन गाह्रो भयो। यही समस्याले मानिसको नामसँग अर्को पहिचान जोड्ने प्रथा शुरू भयो। सन् १०६६ मा नर्मन विजयपछि प्रशासनिक कामहरू व्यवस्थित भए र मानिसहरूको नाम अभिलेखमा लेख्न थालियो। त्यसपछि थर स्थायी रूपमा स्थापित भयो र पुस्तौँदेखि पुस्तौँसम्म हस्तान्तरण हुन थाल्यो।

धेरै थरहरू पेसाबाट बनेका छन्। मानिसहरूले गर्ने काम नै उनीहरूको पहिचान बन्यो। फलामको काम गर्ने व्यक्ति ‘स्मिथ’, रोटी पकाउने ‘बेकर’, कपडा सिलाउने ‘टेलर’, पिठो पिस्ने ‘मिलर’, गाडी चलाउने ‘कार्टर’, बैरल बनाउने ‘कुपर’ र तीर बनाउने ‘फ्लेचर’ भनेर चिनिन थाले। यदि गाउँमा जोन नामका तीन जना थिए भने लोहारलाई ‘जोन स्मिथ’ र रोटी पकाउनेलाई ‘जोन बेकर’ भनेर चिनिन्थ्यो। पछि यही थर उनीहरूका सन्तानले पनि राख्न थाले। त्यसैले ‘स्मिथ’ आज पनि बेलायतमा सबैभन्दा धेरै प्रयोग हुने थरमध्ये एक हो। पेसाले मानिसको सामाजिक स्थान निर्धारण गर्ने युग भएकाले थरले पनि त्यही पहिचान बोकेर ल्यायो।

बाबुको नामबाट बनेका थरहरू पनि बेलायतमा प्रशस्त छन्। बाबुको नामलाई आधार बनाएर थर बनाउने चलन बेलायतका विभिन्न भागमा फरक–फरक तरिकाले विकसित भयो। इङ्ल्यान्डमा ‘जोन्सन’ अर्थात् जोनको छोरा, ‘रिचर्डसन' अर्थात् ‘रिचर्डको छोरा', ‘रोबर्ट्स' अर्थात् ‘रोबर्टको सन्तान' जस्ता थरहरू बने। स्कटल्यान्डमा ‘म्याक' को अर्थ ‘छोरा' हुने भएकाले ‘म्याकडोनाल्ड' भनेको ‘डोनाल्डको छोरा' भयो। वेल्समा ‘एप' भन्ने शब्द प्रयोग हुन्थ्यो जसको अर्थ ‘छोरा' हो। ‘एप रिस' पछि ‘प्राइस' बन्यो, ‘एप ह्यु' पछि ‘प्यु' बन्यो। आयरल्यान्डमा ‘ओ' को अर्थ ‘वंशज' हुने भएकाले ‘ओ' ब्रायन', ‘ओ' नील' जस्ता थरहरू बने। यसरी थरले परिवारको इतिहास बोकेर आउन थाल्यो।

केही थरहरू मानिस बस्ने ठाउँबाट बनेका छन्। कोही पहाड नजिक बस्छ भने ‘हिल', जङ्गलको छेउमा बस्छ भने ‘उड', खोलाको किनारमा बस्छ भने ‘ब्रुक', खेतको वरिपरि बस्छ भने ‘फिल्ड' बन्न सक्थ्यो। कुनै व्यक्ति एउटा गाउँ वा शहरबाट अर्को ठाउँमा सरेर जाँदा उसको पुरानो ठाउँको नाम नै उसलाई दिइन्थ्यो। यसरी थरले भूगोललाई पनि समेट्यो। आज पनि केही थरहरू सुन्दा पुरानो ठाउँ वा वातावरणको झल्को आउँछ। यस्ता नामले परिवारको पुरानो इतिहास पत्ता लगाउन मद्दत गर्छन्।

बेलायतमा जनावर, चरा र माछाबाट पनि थरहरू बनेका छन्। ‘फक्स’, ‘बुल’, ‘ल्याम्ब’, ‘क्रो’, ‘रेभेन’, ‘स्प्यारो’, ‘इगल’, ‘साल्मन’, ‘ट्राउट’ जस्ता थरहरू यसका उदाहरण हुन्। यस्ता नामहरू प्रायः जनावरसँग प्रत्यक्ष सम्बन्धित नभई प्रतीकात्मक अर्थमा प्रयोग गरिन्थे। ‘फक्स’ चलाखीको प्रतीक थियो, ‘बुल’ बलको, ‘ल्याम्ब’ नम्रताको, ‘क्रो’ वा ‘रेभेन’ कालो कपाल वा गम्भीर स्वभावको संकेत हुन सक्थ्यो। माछासँग सम्बन्धित थरहरू प्रायः माछा मार्ने वा बेच्ने परिवारसँग जोडिएका थिए। कतिपयको भने अग्लो मान्छे ‘लङ’, होचो ‘सर्ट’, बलियो ‘आर्मस्ट्रङ’, खैरो कपाल भएको ‘ब्राउन’ जस्तो स्वभाव, शारीरिक बनोट वा व्यक्तिगत विशेषताबाट बनेका थरहरू पनि धेरै छन्।

धर्म पनि बेलायती थर निर्माणको अर्को महत्त्वपूर्ण आधार थियो। चर्चसँग सम्बन्धित परिवार वा धार्मिक जिम्मेवारी वहन गर्ने व्यक्तिबाट ‘बिशप’, ‘प्रिस्ट’, ‘एबट’, ‘मङ्क’ जस्ता थरहरू बने। यस्ता नामले कुनै परिवार धार्मिक संस्थासँग निकट थियो भन्ने देखाउँछ। मध्ययुगीन बेलायतमा चर्चको प्रभाव बलियो भएकाले धार्मिक भूमिकाबाट बनेका थरहरूलाई सम्मानित मानिन्थ्यो।

रङ र प्रकृतिबाट बनेका थरहरू पनि धेरै छन्। ‘ब्ल्याक’, ‘व्हाइट’, ‘ग्रिन’, ‘ब्राउन’, ‘स्टोन’, ‘उड’, ‘बुस’, ‘लेक’, ‘विन्टर’, ‘स्नो’जस्ता थरहरूले मानिसको शारीरिक रङ, लुगाफाटा, वातावरण वा बसोबासको प्राकृतिक अवस्थालाई जनाउँथे। उदाहरणका लागि ‘ग्रिन’ हरियाली भएको क्षेत्रमा बस्ने परिवारसँग सम्बन्धित हुन सक्थ्यो भने ‘ब्ल्याक’ कालो कपाल वा गहिरो रङ भएको व्यक्तिसँग सम्बन्धित हुन सक्थ्यो।

आजको बेलायतमा आप्रवासनले थरहरूको स्वरूपलाई अझ विविध बनाएको छ। भारतीय, पाकिस्तानी, यहुदी, अफ्रिकी, क्यारिबियन र पूर्वी युरोपेली समुदायका थरहरू अहिले बेलायती समाजको अभिन्न अंग बनेका छन्। ‘पटेल’, ‘सिंह’, ‘कोहेन’, ‘लेभी’, ‘खान’, ‘अली’जस्ता नामहरू बेलायतको बहुसांस्कृतिक पहिचानका राम्रा उदाहरण हुन्। यसले थर विगतको इतिहास मात्र नभएर वर्तमान समाजको परिवर्तनलाई पनि देखाउँछ।

बेलायतका थरहरूबारे धेरै अध्ययनहरू भएका छन्। अक्सफोर्ड डिक्सनरी अफ फ्यामिली नेम्स इन ब्रिटेन एन्ड आयरल्यान्डले बेलायत र आयरल्यान्डका थरहरूको उत्पत्ति, अर्थ र विकासबारे जानकारी दिएको छ। जसअनुसार सामान्य रूपमा १०० भन्दा बढी व्यक्तिले प्रयोग गर्ने करिब ४५ हजार ६०० थरहरू दैनिक जीवनमा प्रयोग हुने गरेको पाइएको छ। तर पाँच जनाभन्दा कम मानिसले प्रयोग गर्नेसमेत समावेश गर्दा कुल संख्या दुई लाख ७० हजारसम्म पुग्न सक्ने अनुमान गरिएको छ। इतिहासकार रिचर्ड म्याकिन्लीको ‘ए हिस्ट्री अफ ब्रिटिस सरनेम्स’ले थर कसरी पेसा, ठाउँ, स्वभाव र परिवारबाट विकसित भए भन्ने विश्लेषण गरेको छ। आधुनिक अध्ययनहरूले थरहरूमार्फत पुरानो आप्रवासन, बसोबास र पारिवारिक सम्बन्ध बुझ्न सकिने देखाएका छन्। यसले थरलाई सामाजिक पहिचान मात्र नभई ऐतिहासिक प्रमाणका रूपमा पनि स्थापित गरेको छ।