कैलालीको हुलाकी राजमार्गअन्तर्गत ११ किलोमिटर सडक खण्ड पाँच वर्षसम्म पनि सम्पन्न नहुँदा नागरिकले सास्ती खेप्नुपरेको छ भने निर्माण कम्पनीले विभिन्न बहना बनाउँदै म्याद थप मात्र गरिरहेका छन्।
कैलाली– हुलाकी राजमार्गअन्तर्गत कैलालीको लम्की–टीकापुर–खक्रौला सडकको काम सम्पन्न नहुँदा नागरिकले निकै सास्ती खेप्नुपरेको छ। यहाँ विसं २०७७ मा तीन ‘प्याकेज’ मा निर्माण सुरु भएको थियो। २९ किलोमिटर सडकमध्ये हालसम्म दुई प्याकेजका काम सम्पन्न भएका छन्, तर टीकापुरको अस्नेहरी हुँदै खक्रौलासम्मको ११ किलोमिटर सडक पाँच वर्षसम्म सम्पन्न हुन नसक्दा समस्या भएको हो।
स्थानीय निरा काफ्लेले निर्माण कम्पनीको ढिलासुस्तीका कारण काम सम्पन्न नहुँदा धुलो र सडकमा रहेका गिट्टीले निकै समस्या भइरहेको गुनासो गरिन्। “धुलोका कारण कार्यालय पुग्दासम्म लुगा र अनुहार कुरूप बन्ने गरेको छ। सडकमा गिट्टी हालेर छोडेको पनि महिनौँ भयो, जसले गर्दा गाडी चलाउन निकै गाह्रो हुन्छ। यसतर्फ सरोकार भएका निकायको ध्यान जानुपर्छ”, उनले भनिन्।
समयमा काम सम्पन्न नहुँदा सडक आसपासमा बसोबास गरिरहेका नागरिकलाई झनै सास्ती छ। गर्मीयाममा धुलो तथा वर्षायाममा हिलोले स्वास्थ्यमा असर र दुर्घटनाको जोखिम रहेको स्थानीय सुन्दरलाल चौधरीले बताए। “गाडी गुड्दा उड्ने धुलो घरभित्रसम्म पुग्छ। त्यही धुलो खानेकुरामा मिसिन्छ”, उनले भने, “पटकपटक ताकेता गर्दा सरोकार भएका पक्षले ध्यान दिँदैनन्। वर्षौंदेखि मारमा परेका छौँ।”
विसं २०७७ असार १४ गते सम्झौता भएर २०७९ पुस १३ गते सम्पन्न गर्नुपर्ने आयोजनाको म्याद तीन पटक थप भइसकेको छ। अन्तिमपटक थपिएको म्याद पनि गत फागुन २५ गते सकिएको हुलाकी राजमार्ग निर्देशनालय आयोजना कार्यान्वयन कार्यालय धनगढीका इन्जिनियर प्रमोद चौधरीले जानकारी दिएका छन्।
३३ करोड २० लाख ६६ हजार ६३० रुपैयाँको लागतमा निर्माण सुरु भएको योजनाको काम रायमाझी लाग्वा जगदम्बा जेभीले गर्दै आएको छ। केही वर्ष अर्को ठेकेदारमार्फत आयोजनाको काम गरे पनि समयमा सम्पन्न नभएपछि जेभी आफैँले काम गर्ने कम्पनीका निर्देशक भरत रायमाझीले जानकारी दिएका छन्। “अरूको भर पर्दा काममा ढिलाइ भएको हो। अब आफैँ खटिन्छौँ”, उनले भने।
यस्तै, टीकापुर नगरपालिका–७ सत्ती हुँदै भजनी नगरपालिका—३ ठेकिपुरसम्मको साढे १० किलोमिटर सडकको अवस्था झनै खराब छ। हुलाकी राजमार्गमा पर्ने यो सडकको निर्माण ठेक्का सम्झौता पनि २०७७ सालमै भएको हो। चार ‘प्याकेज’मा ठेक्का भएको आयोजनाको तेस्रो ‘प्याकेज’ सम्मको काम सम्पन्न भइसकेको छ। समग्रमा सडकको प्रगति ५० प्रतिशत रहेको जनाइएको छ।
यस खण्डमा कालिका जोशी जेभीले ३२ करोड ६२ लाख ३९ हजार ६३८ रुपैयाँमा ठेक्का लिएको थियो। भजनी नगरपालिका—८ का कालुराम पाण्डेले यहाँ पनि ठेकेदारको लापरबाहीले काम समयमै सम्पन्न हुन नसकेको बताए।
कालिका जोशी जेभीका निर्देशक गणेश जोशीले विगतमा भुक्तानीमा समस्या हुँदा समयमा काम सम्पन्न गर्न नसकिएको जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
