दार्जिलिङ पहाडले लोकसभा र विधानसभामा भाजपालाई नै जिताएर पठाएको छ। अब पहाडको समस्या समाधानको निम्ति कुनै अड्चन छैन। यसपालि पनि सरकारले समाधान नदिए गोर्खालाई न्याय दिन इच्छुक छैन भन्ने स्पष्ट हुन्छ।
'के छ हो तपाईंहरूको तिर खबर-टबर'
बजार बीचमा रोकेर हात मिलाउँदै अनि मलाई आफूतिर तान्दै एक पुराना साथीले सोधे। तिनले के सोध्न खोजेको हो त्यो त बुझेँ, तर अरकच्च परेको अभिनय गर्दै मैले उल्टै तिनैलाई प्रश्न फर्काउँदै भने-‘क्यै छैन हाम्रो तिर त। तपाईंहरूको तिर नि..?!’
हानेको झटारो आफैँतिर फर्केको देखेर तिनी निराश भए अनि दिक्क मान्दै पुन सोधे-‘होइन हौ....भोटको पो सोधेको त...कसले पारा ल्याउला जस्तो छ भनेको नि...!’
अचेल बाँझो प्रश्नहरूको बाँझै उत्तर दिनमा म पनि सिपालु भएको छु। भनेँ-‘हाम्रो तिर त सप्पैले पारा ल्याउँछ जस्तो छ।’
साथीलाई मेरो उत्तर मन परेन। बिरक्त मान्दै भने-‘न जिस्किनुहोस् न...मैले सिरियसली पो सोधेको त..! सप्पैले चाहिँ कसरी पारा ल्याउँछ?’
‘अब भोटको दिन मैले भेटेका जम्मै उम्मेदवारका समर्थकहरू ‘हाम्रो राम्रो छ...’ भन्दै थिए अनि खासमा कसको सबैभन्दा राम्रो छ भन्ने कुरा जाँच्ने उपाय म सित नभएपछि भएन त सबैको राम्रो?’
मेरो उत्तर सुनेर रिस उठेछ कि कसो साथीलाई...’तपाईंको यो ठट्टा गर्ने बानी अझै गएको छैन...!’ भन्दै उ मेरो हात छोडेर उपासकको पुस्तक पसलतिर हानियो।
*
प्रथम चरणको चुनाव अघिको कुरा- एउटा बिहेको निमन्त्रणमा उपस्थित हुन गइरहेथेँ, टाउन हलको छेउमा पुगे पछि गाडी रोकियो।
‘यो जाम खोलिनु त निक्कै समय लाग्ला जस्तो छ सर....!’
पछिल्तिर फर्किएर ड्राइभर भाइले भन्यो। जाम त मैले पनि देखेँ । अनि दुवैले सँगै देखेको दृष्यलाई सूचना जस्तो बनाएर मलाई बताउनुपर्ने आवश्यक्ता त उसलाई नहुनपर्ने भनेर मनमनै सोचेँ। उसले भन्न चाहेको कुरा अर्कै थियो। मबाट कुनै उत्सुकता वा प्रतिक्रिया नपाएपछि उ शुरु भयो- ‘जुलुस छ नि सर आजु। गर्ने काम चाहिँ गर्दैन अनि भोटको छेउमा उल्टा तर्साउनु आउँछ जनतालाई। यो पार्टीहरू सबै तिनीहरूकै चम्चाबाहेक अरुको लागि काम लाग्ने होइन है। हामी ड्राइभरलाई त झन् दग्धी मात्रै त हो। बिजनेस बर्बाद गरेर....! मान्छे नै लाटा छ नि। ५ वर्षको मनपरी एक दिनको मासु-भातमा भुल्छ अनि के भन्नु....!’
जाम अझै खोलिएको थिएन। अचानक मैले कहिल्यै नदेखेको एकजना युवक हानिँदै म तिर आयो। उसका राता-राता आँखाले उ लागू पदार्थको भर्खरै सेवन गरेर आएको हो भन्ने कुरा स्पष्ट थियो। ‘जान न पहचान मै तेरा मेहमान’ भने झैँ म तिर हात बढाउँदै उसले भन्यो-‘सर योपालि चाहिँ रड्डी गर्नु भयो नि तपाईंले...!’
अचानक आफूमाथि त्यस्तो आरोप लगाएको देखेर म छक्क परेँ। सोधेँ- ‘किन र भाइ? मैले त्यस्तो के गरेँ?’
घरिघरि बन्द हुन खोजिरहेको उसको आँखा बलैले उघार्दै भन्यो- ‘उठ्नुपर्ने थियो नि तपाईं। त्यसरी मैदान खालि छोडेर हुन्छ? माइन्ड नगर्नुहोस् कि....हामी त पैला तपाईंका लागि पूरा खटेको नि....स्योर थियो नि यो पालि चैँ। रड्डी भयो नि...!’
मैले मनमनै सम्झेँ- ‘मेरो लागि खट्नेहरू यस्ता थिएछन् अनि के भनेर जित्थेँ.....’ तर उसलाई केही भनिन बरु कुराको बिट मार्ने उदेश्यले सोधेँ- ‘अन्त कसको राम्रो छ हो यसपालि भाइ?’
उसले कुनै गोप्य रहस्योद्घाटन् गरे झैँ कान कै छेउमा मुख ल्याएर भन्यो-‘टर्च लाईट् बाल्ने हो अनि कमलको फूलमा हान्ने हो।’
ठीक त्यही बेला जाम खोलियो अनि म ’हुन्छ भाइ....भेट्दै गरौँ...’ भनि राखेर हात हल्लाउँदै बिहे तिर लागेँ। एउटा सम्पन्न परिवारको बिहे थियो। कालेबुङका प्रतिष्ठित व्यक्तिहरू प्रायै उपस्थित थिए। म त्यस दिन केही बिसञ्चो थिएँ तर जानै पर्ने हुनाले मात्र गएँ। अन्तरजातीय बिहे भएको कारण दुवै सम्प्रादायका अभिभावकहरू आआफ्नो संस्कृतिको जोडदार प्रदर्शनको तैयारीमा थिए। २ घण्टा बितिसक्दा पनि दुलहा-दुलहीसित भेट नभएपछि मैले श्रीमतीलाई भनेँ- ‘तिमी खाना खान जाउ, म सराउ लेखाउँछु अनि फर्किनुपर्छ। नयाँ जोडीलाई भेट्नलाई पर्ख्यौं भने त रात पर्छ।’
श्रीमती राजी भइन् अनि तुरुन्तै खाना खानेतिर लागिन। सराउ लेखाएर निस्कँदै गर्दा एउटा वरिष्ठ नागरिकहरूको समूह भेट भयो। मलाई केही खुल्ला ठाउँतिर लगेपछि ती मध्ये एकले भने-
‘लु है भाइ...यसपालि चाहिँ हामीले गल्ती गर्नु हुँदैन। यो गाउँ त डल्लै कमलको फूलमा छ। हामी छेत्री बाहुनहरूले त अझ यो पालि पटक्कै भूल गर्नु हुँदैन।’
अरु बेला सभाहरूमा तिनी गोर्खाहरूको एकताको कुरा गर्थे। जात-जातमा गोर्खाहरू बाँडिएको कारण हामीलाई भएको राजनीतिक खतिको लामो सूची जनता समक्ष राख्थे। बंगाली सम्प्रदायमा कसरी उनीहरू गोर्खाहरूविरुद्ध पार्टी पनि बिर्सेर जातिको आधारमा एकमुष्ट भएर विरोध गरेको कुरा जोड दिँदै सुनाउँथे। २०२१ मा अर्को दलले जित्दा अनुसूचित जातिका विधायकलाई आफ्नो संगठनमा बोलाएर सम्बर्धना जनाउनेहरूमा तिनी पहिलो व्यक्ति थिए। यसपालि पनि उम्मेदवार त तिनी नै थिए जसलाई ५ वर्षअघि यी महाशयले सम्बर्धना जनाएका थिए अनि आज अचानक जातिबाट पदोन्नति भएर तिनी जातको कुरा गरिरहेथे। तिनीसित बहस गरेर बिहेको माहोल बिगार्न मैले चाहिनँ। चुपचाप सहमतिको संकेत दिएर म श्रीमती भएतिर लागेँ।
*
२०२६ को चुनावको परिणाम भर्खरै आयो। आसामदेखि बंगाल हुँदै तमिलनाडुसम्म यसपालिको चुनावले देशलाई पनि छक्कै पार्यो। चुनाव हुन अघि स्वराज भारतका अध्यक्ष साथै बुद्धिजीवी योगेन्द्र यादवले भनेका थिए कि ‘भारतीय जनता पार्टीको निम्ति बंगालको चुनाव अश्वमेध यज्ञ जस्तो हो किनकि मोदी चक्रवर्ती हुन चाहान्छन् अनि तिनको यस्तो परिकल्पनामा बंगाल बाधा स्वरुप खडा छ। ‘त्यही बाधालाई सरलीकरण गर्न केन्द्र सरकारले स्पेसल इन्टेन्सिभ रिभिजन(एसआईआर) चुनावको ठीक अघि लागू गर्यो जसको कारण प्राय ९० लाख मतदाताको नाम तालिकाबाट हटाउने काम भयो। तर २७ लाख यस्ता मतदाताहरू थिए जसले २०२१ को चुनावमा भोट हालेका थिए।
यी मतदाताहरू सर्वोच्च न्यायालयमा उजुर गर्न पुगे। तर सर्वोच्चले उनीहरूको मुद्दा खारेज गर्यो। चुनाव आयोग र सर्वोच्च न्यायालय दुवै बीजेपी सरकारको अङ्ग जस्तो भएर काम गरिरहेछन्। ‘यस प्रकारले हेर्दा विशेषज्ञहरू बंगालको चुनावबारे पहिले त चुनाव आयोगले एसआईआर मार्फत ९० लाख मतदाताको नाम काट्ने काम गरे अनि सर्वोच्च न्यायालयले २७ लाख मतदाताको मुद्दा लिन नमानेर खारेज गरेकै कारण बंगालमा भाजपाको जित सम्भव भयो। देशभरिका विपक्षी दलहरूले केन्द्रको यस कदमको विरोध गरे। हुन पनि १५ हजार भोटको व्यवधानले हार्ने पूर्व मुख्यमन्त्री ममता ब्यानर्जीको मतदान इलाकामा मात्र ५१ हजार भोट एसआईआर मार्फत काटिएको कुरा पछिबाट जान्नमा आयो। देशभरिका विपक्षी राजनीतिक दलहरूले पनि बंगालको चुनावलाई देशमा विपक्षी राजनीतिको भविष्यको रूपमा हेरेका थिए।
भाजपाले बंगाल हत्यायो भने भविष्यमा अरु राज्यहरूमा हुने चुनावमा कसैले पनि भाजपाको सामना गर्ने सामर्थ्य राख्ने छैन भन्ने उनीहरूको धारणा थियो। किनकि ममता ब्यानर्जी झैँ निडर अनि झरिलो विपक्षी देशको अन्य कुनै राज्यमा थिएन। त्यसैले तिनको हारलाई यतिबेला देशको सम्पूर्ण विपक्षी दलहरू आफ्नै हारको रूपमा हेरिरहेका छन्। एसआईआर उद्देश्यले प्रेरित थियो भन्ने कुरा प्रमाण गर्न थुप्रै दृष्टान्तहरू छन् जसलाई सोझै नकार्न सम्भव छैन। कलकत्ता उच्च न्यायालयका अवकासप्राप्त न्यायधीशको समेत एसआईआरमा नाम काटिएको सामाजिक सञ्जालमादेखियो।
दक्षिण भारतको राजनीति बाँकी देशको भन्दा अलि भिन्न हुन्छ। एक प्रकार उनीहरू आफैँलाई भारतको मुल निवासी मान्छन् अनि बाँकी देशका नागरिकहरू विभिन्न ऐतिहासिक समयमा बसाईं सरेकाहरू हुन भन्ने उनीहरूमा गहिरो विश्वास छ। त्यसैकारण पनि हिन्दी भाषालाई उनीहरू साह्रै महत्व दिँदैनन्। एक प्रकारले औपनिवेशिक भाषाको रूपमा हेर्छन्। त्यसैकारण जब पनि राष्ट्र भाषाको रूपमा हिन्दीलाई सम्पूर्ण देशमा लागू गर्ने कुरा हुन्छ- दक्षिणमा त्यसको विरोध हुन्छ। बंगालमा पनि केही हदसम्म त्यही धारणा स्थापित छ। उत्तर भारतका राजनीतिक दलहरू दक्षिणमा स्थापित हुन सक्दैनन्। राष्ट्रिय कांग्रेस दक्षिण भारतको निम्ति एकमात्र ग्रहण योग्य दल भएको कारण पनि देशको स्वाधीनता संग्राममा मिलेर आन्दोलन गरिएको कारणले साथै तिनताकाका नेहरू, गान्धी, पटेल र आजाद झैँ विशिष्ट व्यक्तित्वहरूको कारणले गर्दा हो- जो अब रहेन।
दक्षिण भारत सिनेमाले जनजीवनमा सोझै प्रभाव पार्ने प्रकारका मानिसहरू बहुसंख्यक भएको जमात हो। १९५३ सालमा, जब एम.जी. रामाचन्द्रन एक स्थापित सिने कलाकार भइसकेका थिए, द्राविड मुनेत्र खजगम(डीएमके) मा प्रवेश लिए अनि १९७२ मा डीएमकेबाट छुट्टिएर आफ्नै दलको स्थापना गरे। जसको नाम थियो सर्वभारतीय द्राविड मुनेत्र खजगम(एआईडीएमके)तिनको मृत्यु पछि अभिनेत्री जयललिता (१९९१) तमिलनाडुकी मुख्यमन्त्री भइन। २०१६ मा उनकोको निधन हुँदा मुख्यमन्त्री नै थिइन्। त्यसैगरी आन्द्रप्रदेशमा १९८२ सालमा एन.टी. रामाराव सिनेमादेखि सोझै राजनीतिमा आए अनि आन्ध्र प्रदेशको मुख्यमन्त्री भए।
यो पृष्ठभूमीको चर्चा यहाँ गर्नुको कारण के भने २०२६को चुनाव तमिलनाडुमा पनि थियो जहाँ दक्षिण भारतको चलचित्र जगतका महानायक विजय थलपतिको दलले पनि भाग लिएको थियो। सिनेमाको यथार्थलाई जीवनको यथार्थभन्दा वास्तविक ठान्ने प्रकारको जमात त देशमा बहुमतमा छ। त्यही कारण सबै राजनीतिक दलहरू यथासम्भव यस्ता पात्रहरूको खोजीमा हुन्छन्, जो चलचित्रको करिश्मा लिएर मैदानमा उत्रिन सक्छन्।
यस्ता व्यक्तित्वहरू हारेको दृष्टान्त भारतीय राजनीतिमा दुर्लभदेखिन्छ। एउटा समानता राजनीति र चलचित्रमा अचेल के पनिदेखिन्छ भने दुवै अभिनय मै निर्भर गर्छन्। हेमा मालिनी, जया भादुडी,जयाप्रदा, बैजन्तीमाला, सन्नी देउल,शत्रुघन् सिन्हा, राज बब्बर र अरु धेरै यस्ता उदाहरणहरू देशको राजनीतिमादेखिन्छ। त्यही लामो सूचीमा नयाँ नाम दक्षिणका सुपरस्टार विजय थलपति पनि जोडिए। तिनको पक्षको लहर पहिलैबाट थाहा पाएको भाजपा नेतृत्वले थलपतिसँग गठबन्धन गर्न चाहेको थियो, तर थलपति मानेनन्। आफैँलाई दलित उम्मेदवार मान्ने थलपति कसरी हिन्दुत्ववादी दलसित जोडिन्थे जुन धर्मले वर्णभेदको कुरा गर्छ? जातपातको आधारमा भेदभाव गर्छ?
पैसाको तिनीसँग दु:ख थिए। त्यसै पनि यसपालिको चुनावमा तिनी नै ६ सय करोडको सम्पत्तिसहित सबैभन्दा धनी उम्मेदवारको रूपमा चिनिएका थिए। उसो त डीएमकेका स्तालिनको शासनको सबै प्रशंसा गर्थे। तिनको हारलाई योग्य र कुशल प्रशासनको हारको रूपमा पनि कतिले विश्लेषण लेखे। जे होस, दक्षिणले उत्तर भारतलाई आफ्नो राजनीतिक मैदानमा पस्नदेखि रोक्यो भन्नुपर्छ।
यता उत्तर बंगालमा अघिदेखि नै भाजपाले जित्दै आएको हो। तर भद्रलोकहरूको गढ दक्षिण बंगालमा छिर्न पाएको थिएन। तर यसपालि छिर्यो मात्र होइन, आँधीबेह्री सरह छिर्यो। देशभरीका विपक्षहरू यसलाई षड्यन्त्रको परिणाम स्वरुप हेर्दैछन्। अघि गोर्खालीग पार्टी चरममा हुँदा दार्जिलिङबाट ४ जना विधायकहरू बंगालको विधानसभामा पुग्थे यसपालि ५ जना भए। काल्चिनी र मदारीहाटमा नेपाली जनसंखाया प्रचुर भए पनि बंगालको कांग्रेस, वामफ्रन्ट अनि त्रिणमूलमध्ये कुनै दलले पनि डुवर्सबाट गोर्खा उम्मेदवार उठाएको थिएन। भाजपाले उनीहरूलाई टिकट दियो अनि उनीहरूले जिते।
चुनावअघि क्षेत्रीय राजनीतिक दलको चर्चा निक्कै चुलिएको थियो। आफैँलाई क्षेत्रीय भन्नेहरूमा अजय एडवर्डको भारतीय गोर्खा जनशक्ति मोर्चाबाहेक कुनै दल पनि साँचो अर्थमा क्षेत्रीय थिएनन्। किनकि उनीहरूको साँठगाँठ राज्यसँग वा केन्द्रको राजनीतिक दलहरूसँग थियो। पहाडका तीनैवटा आसनमा यो दलले तेस्रो स्थान मात्र पाउन सफल भयो अनि जम्मा १ लाखभन्दा केही बढ्ता मत बटुल्न सक्षम भयो।
विधानसभा होस कि लोकसभा, त्यहाँ बोल्ने मौका व्यक्ति होइन तर दलको हिसाबले दिइन्छ। ठूलो दलले धेरै समय पाउँछ अनि सानोले कम। दलमा एकै जना मात्र सदस्य भए उसले बोल्ने अवसर पाउँछै पाउँछ। यस दृष्टिकोणबाट हेर्दा यसपालि बंगाल विधानसभामा ५ जना गोर्खा विधायकहरू छन्। तर त्यो दलमा जुन दलसँग २०७ जना सदस्सयहरू छन्। साधारण रूपमा हेर्दा थुप्रै विधायक भएको दलमा विधानसभामा बोल्ने काम सबैभन्दा योग्य अनि सिनियर सदस्यलाई मौका दिन्छ दलले।
हाम्रा विधायकहरू कान्छोमा पर्छन्। पाउलान के त बोल्ने मौका? मौका पाएकै खण्डमा पनि दलको नेताले जुन विषयमा अनि जति बोल्ने अनुमति दिन्छ त्योभन्दा बाहिर गएर बोल्न पाईंदैन। यस्तो परिस्थितिमा गोर्खाको जनआकांक्षा र सपनाको कुरा गर्न देला उनीहरूलाई? जबकि दल स्वयंले गोर्खाल्याण्ड शब्द उच्चारण समेत गर्न मान्दैन। त्यसैकारण विशुद्ध क्षेत्रीय दल विधानसभा नपुगेसम्म पहाडका जनताको आवाज विधानसभाभित्र पस्न सक्ने सम्भावना धमिलोदेखिन्छ।
पहाडमा चुनावको समय एउटै मुद्दाको कुरा गर्छन् सबै दल। अलग राज्य गोर्खाल्याण्ड। राज्यको पार्टीले सधैँ यसको विरोध गर्छ अनि बंगाल विभाजन हुन दिँदैनौँ भन्छ। केन्द्रको दल पनि पहाड आएर गोर्खाल्याण्डको कुरा त गर्दैन तर गोर्खाहरूको समस्याको हामी समाधान गर्छौं चाहिँ भन्छ। २००९ मा भाजपाले आफूले सरकार बनाए अलग राज्यको माग फत्ते गर्छौं भन्थ्यो। २०१४ मा सत्तामा आएर पनि सो काम गरेन। २०१९ अनि २०२४ मा पनि लगातार भाजपा नै सत्तामा आयो तर गोर्खाहरूको समस्याबारे कुनै कदम चाल्ने काम भएन।
‘बंगाल सरकारले यसको विरोध गर्छ। यो सरकार गोर्खा विरोधी छ। हामी सत्तामा आए तुरुन्तै समस्याको समाधान गर्छौं...!’ भन्ने भाषण हामीले २०१४ दैखि लगातार सुन्दै आएको हो। यसपालि भने भाजपा राज्यमा आयो। केन्द्रमा उनीहरू छँदैछन्। दार्जिलिङ पहाडले पनि लोकसभा र विधानसभामा भाजपालाई नै जिताएर पठाएको छ। अब पहाडको समस्या समाधानको निम्ति कुनै अड्चन छैन।
यसपालि पनि सरकारले कुनै समाधान नदिए एउटा कुरा चाहिँ के स्पष्ट हुन्छ भने- यो सरकार(भाजपा) गोर्खाहरूलाई न्याय दिने पक्षमा छैन तर केवल चुनावको समयमा गोर्खा भोट हत्याउनको निम्ति मात्र प्रयोग गरिरहेछ। अनि मानिलिउँ- यो सरकारले आफ्नो वचन पूरा गर्यो अनि गोर्खाहरूलाई सम्पूर्ण नागरिक अधिकार अनि सुरक्षाको बन्दोबस्त मिलाउन सक्ने व्यवस्था दियो भने फेरि यो पहाडमा अन्य कुनै पनि दलले चुनाउ लड्ने परिस्थिति रहने छैन। त्यसको निम्ति राजनीतिक इमान्दारी र साहसको आवश्यकता आवश्यक हुन्छ। के भाजपाले त्यस्तो कदम उठाउने साहस गर्ला?
(उकालोको विचार खण्डमा छापिने सामग्री लेखकका निजी हुन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
